भारतले विदेशी भूमिमा टेस्ट शृंखला वाइटवास गर्ने इतिहास रचेको छ। श्रीलंकाविरुद्ध तेस्रो तथा अन्तिम टेस्ट शृंखला इनिङ र १ सय ७१ रनले जितेपछि भारतले इतिहास रचेको हो।
विराट कोहलीको कप्तानीमा भारतले तीन टेस्टको शृंखला ३–० ले जित्यो। रवी शास्त्रीलाई प्रशिक्षक नियुक्त गरेपछि भारतको यो पहिलो शृंखला थियो। जसमा भारतले उत्कृष्ट सुरुवात गरेको छ। यस शृंखलामा शिखर धवन, चेतेश्वर पुजारा, अजिङ्क रहाणे, हार्दिक पाण्ड्या, रवीचन्द्रन अश्विन, रवीन्द्र जडेजा र मोहम्मद सामीले उत्कृष्ट प्रदर्शन गरे।
धवनले शृंखलामा २ सतकको सहयोगले ४ इनिङमा ८९ दशमलव ५० को औसतले ३ सय ५८ रन बनाए। पुजाराले पनि ४ इनिङमा ५४ दशमलव ६९ को औसतले दुई सतकको सहयोगले ३ सय ९ रन बनाए। रहाणेले एक सतकको सहयोगले ४ इनिङमा ७६ दशमलव ३३ को औसतले २ सय २९ रन बनाए।
अश्विनले ३ टेस्टमा १७ विकेट लिए। जडेजाले २ टेस्टमा १३ विकेट लिए भने समीले १० विकेट लिए।
तेस्रो टेस्टमा भारतले पहिलो इनिङमा ४ सय ८७ रन बनाएको थियो। प्रत्युत्तरमा श्रीलंकाले पहिलो इनिङमा १ सय ३५ रन मात्र बनायो। दोस्रो इनिङमा घरेलु टोली १ सय ८१ रनमा खुम्चियो।
तेस्रो टेस्टको म्यान अफ दि म्याच हार्दिक पाण्ड्या घोषित भए। म्यान अफ दि सिरिजबाट शिखर धवनलाई सम्मानित गरियो।