इङ्ल्यान्डले १९ वर्षपछि आफ्नो मैदानमा दक्षिण अफ्रिकालाई टेस्ट शृंखलामा पराजित गरेको छ।
ओल्ड ट्राफोडको चौथो टेस्ट १ सय ७७ रनले जितेपछि घरेलु टोलीले शृंखला ३–१ ले जितेको हो। ‘दि प्रोटियस’ विरुद्ध चौथो टेस्टमा जित निकाल्न माइन अलीले पाँच विकेट लिए।
इङ्ल्यान्डले दोस्रो इनिङमा जितका लागि ३ सय ८० रनको लक्ष्य अफ्रिकाविरुद्ध राखेको थियो। तर, उनीहरु २ सय २ रनमा खुम्चिए। जेम्स एन्डर्सनले १६ रन खर्चेर ३ विकेट लिए। अफ्रिकाका लागि हासिम अमलाले सर्वाधिक ८३ रन बनाए। अफ्रिकाले अन्तिम ७ विकेट ३९ रनमा गुमाएको थियो।
इङ्ल्यान्डले १९९८ पछि अफ्रिकालाई आफ्नो घरेलु मैदानमा टेस्ट शृंखलामा हराएको हो। जोए रुटको कप्तानीमा इङ्ल्यान्डको यो पहिलो टेस्ट शृंखलामाथि कब्जा हो। उनको कप्तानीमा यसपालि इङ्लिस टोलीले एकदिवसीय र टि–२० शृंखला पनि जितेको छ।
मोइनले शृंखलामा २५ विकेट लिनुको साथै २ सय ५० रनको कीर्तिमान बनाए। उनी यस शृंखलामा सर्वाधिक विकेट लिने बलर बने।
चौथो टेस्टमा इङ्ल्यान्डले पहिलो इनिङमा ३ सय ६२ र दोस्रो इनिङमा २ सय ४३ रन बनाएको थियो। दक्षिण अफ्रिकाले पहिलो इनिङमा २ सय २६ र दोस्रो इनिङमा २ सय २ रन बनायो।
इङ्ल्यान्डले अब वेष्ट इन्डिजविरुद्ध घरेलु टेस्ट शृंखला खेल्ने कार्यक्रम छ। शृंखला १७ अगस्टदेखि सुरु हुँदैछ।