स्पष्ट फिक्सिङको आरोपमा आजीवन प्रतिबन्ध खेपिरहेका पूर्व भारतीय बलर श्रीशान्तले ठूलो राहत पाएका छन्। भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले उनीमाथि आजीवन प्रतिबन्ध लगाउने निर्णयलाई केरलको उच्च अदालतले सोमबार खारेज गरेको छ।
श्रीशान्तमाथि सन् २०१३ को इन्डियन प्रिमियम लिग (आइपिएल) मा स्पष्ट फिक्सिङ गरेको आरोप लागेको थियो। उनलाई यसै कारण आजीवन प्रतिबन्ध लगाउने निर्णय भएको थियो। उनले प्रतिबन्ध फुकुवा गर्न बिसिसिआईसमक्ष अपील पनि गरेका थिए। तर, उनको अपीललाई ‘भ्रष्टाचारप्रति शुन्य सहनसिलता’ भन्दै बिसिसिआईले खारेज गरेको थियो।
श्रीशान्तले भारतबाट २७ टेस्टमा ८७, ५३ एकदिवसीय ७५ र १० टि–२० मा ७ विकेट लिएका थिए। केरलबाट प्रतिनिधित्व गर्ने श्रीशान्तले अन्तिम टेस्ट २०११ को अगस्टमा इङ्ल्यान्डविरुद्ध ओवलमा खेलेका थिए। उनी २००७ मा टि–२० र २०११ मा एकदिवसीय विश्व कप जितेको भारतीय टोलीका सदस्य थिए।