आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत एसिया एन्ड इएपी छनोटको सुपर-६ को अन्तिम खेलमा नेपालले समाओलाई २१२ रनको लक्ष्य दिएको छ।
ओमान क्रिकेट एकेडेमीमा समोआले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा २११ रन बनायो।
नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। आसिफले ४१ बलमा ७ चौका र १ छक्काको मद्दतमा ६९ रन जोडे। अर्का ओपनर कुशल भुर्तेल १५ बलमा १७ रन बनाए।
दीपेन्द्रले ३३ बलमा २ चौका र ४ छक्काको मद्दतमा ५३ रन बनाए। आरिफ शेख ९ रनमा आउट हुँदा रोहित पौडेलले नटआउट २१ रन बनाए। रोहितले १२ बलमा १ चौका र १ छक्का प्रहार गरे।
आक्रामक ब्याटिङ गरेका लोकेश बमले १२ बलमा नटआउट ३९ रन बनाए। उनले २ चौका र ४ छक्का प्रहार गरे।
खेलका लागि अघिल्ला खेलहरूमा मौका नपाएका खेलाडीलाई स्थान दिइएको छ। यसअघि एक खेल पनि खेलेका आरिफ शेखसँग आज करण केसी खेल्दैछन्। यस्तै ललित राजवंशी टोलीमा फर्किदा लोकेश बमले दोस्रो खेलमा मौका पाएका छन्।
सोमपाल कामी, कुशल मल्ल, सन्दीप जोरा र आदिल अन्सारी आजको टोली छैनन्।
नेपाली टोली : आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, लोकेश बम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी।
अन्तिम खेलअघि शीर्ष स्थानको नेपालको ८ अंक न छ। दोस्रो स्थानको घरेलु टोली ओमानको नप ८ अंक नै छ। रनरेटमा नेपाल अघि छ। नेपालको रनरेट ०.७४५ छ भने ओमानको रनरेट ०.४५६ छ।
आज ओमान विजयी भएसँगै ६ अंक जोडेको युएई भने तेस्रो स्थानमा झरेको छ। नेपाल, ओमान र युएई शीर्ष तीन टोली अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा पुगिसकेका छन्।
अब छनोटमा नेपाल र सामोआबीच अन्तिम खेल बाँकी छ। यो खेलबाट च्याम्पियन टोलीको टुंगो लागेको छ। जित निकालेको अवस्थामा नेपाल च्याम्पियन हुनेछ।
नेपाल झिनो अन्तरले पराजित भएको अवस्थामा पनि च्याम्पियन हुने अवस्था छ। किनभने रनरेटमा नेपालअघि अहिलेको रनरेटमा धेरै फरक नपरेमा पराजित भए पनि नेपाल च्याम्पियन बन्नेछ।