जय नेपाल कप टी-२० क्रिकेट प्रतियोगितमा मध्यपश्चिम विश्वविद्यालले जित निकालेको छ। मंगलबार भएको समूह ‘बी’ को खेलमा मध्यपश्चिमले दिल्ली विश्वविद्यालयलाई ६ विकेटले पराजित गर्यो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दिनको पहिलो खेलमा दिल्लीले दिएको ६० रनको लक्ष्य मध्यपश्चिमले १०.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
मध्यपश्चिमका लागि दीपक डुम्रेले २१ रन र रवीन्द्रजंग शाहीले १३ रन जोडे।
त्यसअघि पहिले ब्याटिङ गरेको दिल्ली एक बल खेल्न बाँकी छदा ५९ रनमै अलआउट भयो। उसका लागि प्रियांस चामोले १८ रन बनाए।
बलिङमा मध्यपश्चिमका विपिन खत्रीले ३ विकेट लिँदा दिनेश अधिकारी र सुरज बोहराले २-२ विकेट हात पारे।
यता दिनको दोस्रो खेलमा ढाकाले त्रिभुवन विश्वविद्यालय (त्रिवि)लाई ८ विकेटले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको त्रिवि १९.१ ओभरमा १०३ रनमा अलआउट भयो। त्रिविका लागि ओपनर लोकेश बमले १२ बलमा १७ रन जोडे भने भीम सार्कीले १८ रन र साइमन रायाले २० रनको योगदान गरे।
बलिङमा ढाकाका मुजिबुर रहमान, इफ्ताखर र महाफैजुल इस्लामले २-२ विकेट लिए।
१०४ रनको लक्ष्य ढाकाले २ विकेटको क्षतिमा १२ ओभरमै पूरा गर्यो। उसका लागि इफ्ताखरले नटआउट ४५ रन बनाए।
यसअघि पहिलो खेलमा त्रिविले बिहार विश्वविद्यालयलाई पराजित गरेको थियो।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको आयोजनामा भइरहेको प्रतियोगितामा तीन देशका ८ विश्वविद्यालयका टोलीबीच प्रतिस्पर्धा भइरहेको छ।