प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको सुपर-४ मा पुग्ने टोलीको टुंगो लागेको छ।
मंगलबार धनगढीको फाप्ला मैदानमा समूह चरणको अन्तिम खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ७ विकेटले पराजित गरेसँगै सुपर-४ मा स्थान पक्का गर्यो।
मधेशलाई ४० रनमै अलआउट गरेको बागमतीले ६.४ ओभरमै लक्ष्य पूरा गरेपछि रनरेट बढेको थियो।
समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब बागमती र कोशी प्रदेश तीनै टोलीको समान ४-४ अंक रहदा आर्मी शीर्ष स्थानमा रह्यो भने दोस्रो स्थानमा बागमती रहँदै सुपर-४ मा पुगे।
कोशी भने तेस्रो स्थानमा पुग्दा सुपर-४ मा पुग्न सकेन। कोशी मंगलबार दिनको पहिलो खेलमा आर्मीसँग ९ विकेटले पराजित हुँदा सुपर-४ मा पुग्नका लागि रनरेटमा पछि पर्यो।
यसअघि समूह ‘ए’ बाट सशस्त्र प्रहरी बलको एपिएफ क्लब र सुदूरपश्चिम प्रदेश सुपर-४ मा पुगेका थिए। अब सुपर-४ मा एपिएफ, सुदूरपश्चिम, आर्मी र बागमतीबीच प्रतिस्पर्धा हुनेछ।
अब सुपर-४ मा दुवै समूहबाट आएका टोलीले अर्को समूहका दुई टोलीसँग खेल्नेछन्। सुपर-४ का खेलपछि अंक तालिकाको शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ।