जय नेपाल कपमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) विजयी सुरूवात गरेको छ। सोमबार भएको उदघाटन खेलमा त्रिविले भारतको बाबासाहेब भीम राव अम्बेडकर बिहार विश्वविद्यायलाई ८ विकेटले पराजित गर्यो।
बिहारले दिएको १३५ रनको लक्ष्य त्रिविले १५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। त्रिविको जितमा लोकेश बमले ३५ बलमा ८९ रन र खडकबहादुर बोहराले १७ बलमा १८ रन जोडे।
त्यसअघि पहिले ब्याटिङ गरेको बिहार १७.३ ओभरमा १३४ रनमा अलआउट भयो। उसका लागि विशाल राजले ४२ रन र इमरान हास्मीले ४१ रन बनाए।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको आयोजनामा सञ्चालनि प्रतियोगिताको उदघाटन नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गरेका थिए।
प्रतियोगितामा तीन देशका ८ विश्वविद्यालयका टोलीबीच प्रतिस्पर्धा हुँदैछ।
नौं दिनसम्म चल्ने प्रतियोगिता जलवायु परिवर्तनको मुद्दालाई प्रवर्धन र ग्रासरुट क्रिकेटको विकासका लागि आयोजना गर्न लागिएको संघले जनाएको छ।