प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लबलाई बागमती प्रदेशले १४ रनले पराजित गरेको छ।
धनगढीमा फाप्ला मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित १५ ओभरमा २ विकेटको क्षतिमा ८१ रन जोड्यो। उसका लागि यशु पाण्डेले २५ रन जोड्दा कन्चन श्रेष्ठले नटआउट २४ रन र यशोदा विष्टले नटआउट २० रन बनाए।
८२ रनको लक्ष्य पछ्याएको आर्मी १३.२ ओभरमा ६७ रनमै अलआउट भयो।
आर्मीका लागि अन्जली विकले सबैभन्दा बढी १४ रन बनाउँदा बलिङमा बागमतीका सोनु खड्का, मनिषा उपाध्यक्ष र कन्चन श्रेष्ठले २-२ विकेट लिए।
यो समूहकै अर्को खेलमा कोशीले मधेश प्रदेशलाई ४७ रनले पराजित गर्यो। कोशीले दिएको १०७ रनको लक्ष्य पछ्याएको मधेशले ९ विकेटको क्षतिमा ५९ रन जोड्यो।
मधेशका लागि प्रतिमा साहले १७ रन जोड्नुबाहेक अरु ब्याटर सस्तैमा आउट भए। बलिङमा कोशीकी कप्तान रुबिना क्षेत्रीले ३ विकेट लिइन्।
त्यसअघि पहिले ब्याटिङ गरेको कोशी ५ विकेटको क्षतिमा १०६ रन जोड्यो। उसका लागि कप्तान रुबिनाले ५७ रन जोडिन्।