आइसिसी यू-१९ महिला विश्वकपमा नेपाल ऐतिहासिक जितबाट चुकेको छ। मलेसियामा सोमबार भएको समूह ‘डी’ को खेलमा स्कटल्यान्डसँग १ विकेटले पराजित भएसँगै नेपाल ऐतिहासिक जितबाट बञ्चित भएको हो।
नेपालले दिएको ७४ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले ९ विकेट गुमाएर १८.५ ओभरमा लक्ष्य पूरा गर्यो।
राम्रो सुरुवात गरे पनि नेपालले स्कटल्यान्डको अन्तिम विकेट लिन सकेन। अन्तिम विकेटका लागि स्कटल्यान्डले १६ रनको साझेदारी गर्दा नेपाल विश्वकपमा पहिलो जित निकाल्ने अवसरबाट चुक्यो।
त्यसअघि आठौं विकेटको रुपमा नेपालले स्कटल्यान्डका लागि सर्वाधिक रन बनाएकी पिपा स्परोललाई ३५ रनमा आउट गरेको थियो। उनलाई १७औं ओभरको चौथो बलमा रचना चौधरीले कृष्मा गुरुङबाट क्याच गराएकी थिइन्। दुई बलपछि मोइसी म्याकेइरा पनि नवौं विकेटको रुपमा आउट हुँदा नेपालको आशा बढेको थियो। तर अन्तिम विकेट लिन नसक्दा नेपाल पराजित भयो।
कप्तान पूजा महतोले ओपनर पिपा केलीलाई शून्यमा आउट गरेपछि नेपालले स्कटल्यान्डका तीन ब्याटरलाई रनआउट गरेको थियो।
त्यसअघि मलेसियाको क्वालालम्पुरमा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको नेपाल १८.५ ओभरमा ७३ रनमा अलआउट भयो।
नेपालका लागि कप्तान पूजा महतोले २७ रन जोडिन्। उनले ४३ बलमा ३ चौका प्रहार गरिन्। सावित्री धामीले १० रन बनाइन्।
नेपालका अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा स्कटल्यान्डकी मोइसी म्याकेइराले ५ विकेट लिइन्। उनले ३.५ ओभरमा १५ रन खर्चिइन्।
यसअघि पहिलो खेलमा नेपालले बंगलादेशसँग हार ब्यहोरेको थियो। अब नेपालले समूहको अन्तिम खेलमा पर्सी बुधबार अस्ट्रेलियासँग खेल्नेछ।