नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको आयोजनामा हुने जय नेपाल कप टी-२० क्रिकेट प्रतियोगिताका लागि त्रिभुवन विश्वविद्यालयको टोली घोषणा गरिएको छ।
टोलीमा राष्ट्रिय टोलीका भीम सार्की र लोकेश बम समावेश छन्। यसैगरी सुदूरपश्चिमबाट राष्ट्रिय प्रतियोगिता खेल्ने खडकबहादुर बोहरा पनि टोलीमा समावेश छन्।
त्रिभुवन विश्वविद्यालय टोली
नवीन पाठक, मुकेश ओझा, सौगात भण्डारी, सुरेन्द्रप्रसाद पन्त, रवि शाह, यशराज बस्नेत, आइस भट्टराई, खगेन्द्र सिंह महरा, अमितकुमार मण्डल, अखलेशकुमार ठाकुर, साइमन राय, खडकबहादुर बोहरा, भीम सार्की, लोकेश बम र सन्तोष बहादुर चन्द।
यस्तै काठमाडौं विश्वविद्यालयको टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका इशान पाण्डे छन्। उनी काठमाडौं विश्वविद्यालयबाट एमबिबिएस अध्ययन सकेर अहिले इन्टर्नसिप गरिरहेका छन्। यस्तै पूर्वाञ्चलको टोलीबाट राष्ट्रिय टोलीका अलराउन्डर विवेककुमार यादवले खेल्दैछन्।
मध्यपश्चिम विश्वविद्यालयबाट कर्णाली प्रदेशका कप्तान रवीन्द्रजंग शाही खेल्दैछ्न्। टोलीमा राष्ट्रिय खेलाडी विपिन खत्री, दिवान पुन, दिनेश अधिकारी, दिपक डुम्रे र सुवास भण्डारी छन्।
सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने प्रतियोगितामा तीन देशका ८ विश्वविद्यालयका टोलीबीच प्रतिस्पर्धा हुँदैछ।
समूह ‘ए’ त्रिभुवन विश्वविद्यालय, ढाका विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र बाबासाहेब भीम राव अम्बेडकर विश्वविद्यालय बिहार छन्।
समूह ‘बी’ मा काठमाडौं विश्वविद्यालय, लखनऊ विश्वविद्यालय, दिल्ली विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय छन्।
सोमबार दिउँस सवा १२ मा हुने उद्घाटन खेलमा त्रिभुवन विश्वविद्यालय र बिहारबीच खेल हुँदैछ।
नौं दिनसम्म चल्ने प्रतियोगिता जलवायु परिवर्तनको मुद्दालाई प्रवर्धन र ग्रासरुट क्रिकेटको विकासका लागि आयोजना गर्न लागिएको संघले जनाएको छ।
प्रतियोगिताको विजेताले १५ लाख पाउनेछ भने उपविजेतालाई १० लाख रूपैयाँ प्रदान गरिनेछ। यस्तै उत्कृष्ट खेलाडीसहित अरु पुरस्कारको राशीमा ५ लाख खर्च हुँदा कुल पुरस्कार राशी ३० लाख रूपैयाँ रहेको छ।