न्युजिल्यान्डविरूद्धको पहिलो टेस्टमा घरेलु टोली भारत पराजित भएको छ।
बेंगलुरूमा भारतले दिएको १०७ रनको लक्ष्य २ विकेटको क्षतिमा पूरा गर्दै न्युजिल्यान्डले ८ विकेटको जित निकालेको हो।
त्यसअघि पहिलो इनिङ्ग्समा न्युजिल्यान्डले ४०२ रन जोडेको थियो भने भारतले दोस्रो इनिङ्ग्समा ४६२ रन जोडेर १०७ रनको मात्र लक्ष्य दिएको थियो।
भारत पहिलो इनिङग्समा ४६ रनमै अलआउट हुँदा दोस्रो इनिङग्समा ४६२ रन जोडेर पनि बलियो लक्ष्य प्रस्तुत गर्न सकेन।
न्युजिल्यान्डका लागि पहिलो इनिङ्ग्समा रचिन रविन्द्र १३४ रन र डेवन कनवेले ९१ रन बनाएका थिए। बलिङमा भारतका कुलदिप यादव र रविन्द्र जडेजाले ३-३ विकेट लिए।
भारतका लगि दोस्रो इनिङग्समा सर्फराज खानले १५० रन बनाएका थिए। ऋषव पन्त ९९ रनमा आउट हुँदा रोहित शर्माले ५२ रन जोडेका थिए।
पहिलो इनिङग्समा भारतले खराब ब्याटिङ गर्यो।
बेंगलुरूमा बुधबार पहिलो दिन वर्षाका कारण खेल हुन सकेन भने बिहीबार दोस्रो दिन पनि वर्षाले असर गरेको थियो। जसमा पहिले ब्याटिङ गरेको भारतको ब्याटिङ खराब रह्यो।
भारत ४६ रनमै अलआउट भयो। ३१.२ ओभर मात्र खेलेको भारतका लागि ऋषव पन्तले सबैभन्दा बढी २० रन र ओपनर यशस्वी जैसवालले १३ रन जोडे। अरु नौं ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
भारतले घरेलु मैदानमा टेस्ट क्रिकेटमा बनाएको यो सबैभन्दा कम स्कोर हो। यस्तै घरेलु मैदानमा एकै सेसनमा अलआउट भएको पनि यो पहिलो पटक हो।
घरेलु मैदानमा यसअघिको कम स्कोर ७५ रन थियो। भारत १९८७ मा दिल्लीमा भएको टेस्टमा वेस्ट इन्डिजविरुद्ध ७५ रनमा अलआउट भएको थियो।
टेस्टमा भारतको सबैभन्दा कम स्कोर अस्ट्रेलियाविरूद्ध एडिलेडमा २०२० मा ३६ रनमा अलआउट हुनु हो। बिहीबार बेंगलुरुमा बनेको ४६ रन भारतको तेस्रो कम स्कोर हो।
भारतलाई सस्तोमा अलआउट गर्न बलिङमा न्युजिल्यान्डका म्याट हेनरीले ५ विकेट र विलियम ओ'रौउरेकले ४ विकेट लिए। हेनरीले १३.२ ओभरमा ३ मेडन राख्दा १५ रन खर्चिए। हेनरीले यससँगै टेस्टमा सय विकेट समेत पूरा गरे। विलियमले १२ ओभरमा ६ ओभर मेडन फ्याँक्दा २२ रन दिए।