नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामी रोट्र्याक्ट वर्ष खेलाडीको रूपमा सम्मानित भएका छन्।
बुटवलमा स्थापित रोट्र्याक्ट क्लब अफ तिनाउ सिटीले शनिबार साँझ सम्पन्न आफ्नो दसौँ पदस्थापन कार्यक्रममा सोमपाललाई नगद एक लाख रुपैयाँ र सम्मान पत्रसहित सम्मान गरेको हो।
आफ्नो स्थापना कालदेखि नै हरेक वर्ष विभिन्न खेलकुद क्षेत्रमा योगदान पुर्याउने खेलाडी तथा खेलप्रेमीहरूलाई सम्मान गर्दै आएको क्लबले यस वर्ष सोमपाललाई सम्मान गरेको हो।
क्लबका पूर्व अध्यक्ष एवं कार्यक्रम संयोजक अनुप पाण्डेका अनुसार क्लबले यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शक्ति गौचन, राष्ट्रिय खेलाडी कुशल मल्ल, सुशान्त भारी, कुशल भुर्तेल र करन केसीलाई सम्मान गरिसकेको छ।
रोट्र्याक्ट क्लब अफ तिनाउ सिटी युवाहरूद्वारा स्थापित क्लब भएकोले खेलकुद क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई प्रेरणा तथा हौसला प्रदान गर्ने उद्देश्यले हरेक वर्ष एक जना खेलाडीलाई सम्मान गर्दै आएको पाण्डेले जानकारी दिए।
क्लबले प्रदान गरेको सम्मान ग्रहणपछि क्रिकेट खेलाडी सोमपालले यस्ता सम्मानहरूले खेलाडीलाई अझ मेहनत गर्न प्रेरित गर्ने मात्र नभई खेल क्षेत्रमा लाग्न अन्य युवाहरूलाई पनि आकर्षित गर्ने बताए। उनले क्लबले गरेको यस प्रकारको कामले युवाहरू खेल क्षेत्रको दिगो विकासका लागि कत्तिको जिम्मेवार छन् भन्ने सन्देश पनि दिएको बताए।
क्लबका अध्यक्ष विमल ज्ञवालीले विगतदेखि सञ्चालन गर्दै आएको खेलाडी सम्मान कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिँदै क्लब र खेल क्षेत्रको गरिमा बढाउने गरी लाग्ने प्रतिबद्धता व्यक्त गरे।