आइसिसी टी-२० विश्वकपमा नेपालको समूहमा रहेको नेदरल्याण्ड्स दक्षिण अफ्रिकासँग पराजित भएको छ।
समूह ‘डी’ अन्तर्गत गएराति भएको खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित गरेको हो।
नेदरल्याण्ड्सले दिएको १०४ रनको लक्ष्य दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर ७ बल बाँकी छँदै भेट्टाएको हो।
त्यसक्रममा डेविड मिलरले अर्धशतक हाने। उनी ५१ बलमा ३ चौका र ४ छक्का प्रहार गरी ५९ रन बनाएर नट आउट रहे।
ट्रिस्टन स्टुब्सले ३७ बलमा १ चौका र १ छक्का प्रहार गरी ३३ रन जोडे।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ नेदरल्याण्ड्सका भिवियन किंग्मा र लोगन भ्यान बीकले २/२ तथा बास दे लिडले १ विकेट लिए।
पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ९ विकेट गुमाएर १०३ रन बनाएको थियो।
त्यसक्रममा सिब्रान्ड एंगलब्रेक्टले ४५ बलमा २ चौका र १ छक्का प्रहार गरी ४० रन बनाए।
लोगन भ्यान बीकले २२ बलमा २३ रन जोडे।
विक्रमजित सिंहले १२ र कप्तान स्कट एडवार्ड्सले १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ दक्षिण अफ्रिकाका ओर्टनेल बार्टमनले ४ तथा मार्को जनसेन र एनरिच नोर्त्जेले १/१ विकेट लिए।
दुई खेल जितेको दक्षिण अफ्रिका समूहको शीर्ष स्थानमा छ। नेदरल्याण्ड्स तेस्रो र नेपाल चौथो स्थानमा छ।
नेपाल यसअघि नेदरल्याण्ड्ससँग पराजित भएको थियो।
दुवै खेल हारेको श्रीलंका पुछारमा छ।