मार्कस स्टोइनिसको अलराउन्ड प्रदर्शनीमा अष्ट्रेलियाले आइसिसी टी-२० विश्वकपमा विजयी सुरूवात गरेको छ।
बिहीबार बिहान ओमानविरूद्ध स्टोइनिसले ६७ रन र तीन विकेट लिएको खेलमा अष्ट्रेलिया ३९ रनले विजयी भएको हो।
अष्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले ९ विकेट गुमाएर १२५ रनमात्रै बनाउन सक्यो।
ओमानका लागि आयान खानले बनाएको ३६ रन सर्वाधिक रह्यो। उनले ३० बलमा २ चौका र २ छक्का प्रहार गरे।
मेहरान खानले १६ बलमा १ चौका र २ छक्का प्रहार गरी २७ रन बनाए।
कप्तान अकिब इलियासले १८ बलमा २ चौका र १ छक्का प्रहार गरी १८ रन जोडे।
शकिल अहमदले ११ रनको योगदान गर्दा अरू ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ स्टोइनिसले ३ तथा मिचेल स्टार्क, नाथन इलिस र एडम जाम्पाले २/२ विकेट लिए।
पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५ विकेट गुमाएर १६४ रनको योगफल तयार पारेको थियो।
स्टोइनिस ३६ बलमा २ चौका र ६ छक्का प्रहार गरी नटआउट रहे। टिम डेभिड ९ रन बनाएर अविजित रहे।
त्यसअघि ओपनर डेविड वार्नरले अर्धशतक बनाएका थिए। उनले ५१ बलमा ६ चौका र १ छक्का प्रहार गरी ५६ रन बनाए।
ट्राविस हेड १० बल खेल्दै २ चौका हानेर १२ रनमा आउट हुन पुगे। कप्तान मिचेल मार्स २१ बल खेलेर २ चौका प्रहार गरी १४ रन बनाएर आउट भए।
ग्लेन म्याक्सवेल शून्यमै आउट भएका थिए।
बलिङतर्फ ओमानका मेहरान खानले २ तथा बिलाल खान र कलिमउल्लाहले १/१ विकेट लिए।
ओमानको यो लगातार दोस्रो पराजय हो। पहिलो खेलमा ओमान नामिबियासँग पराजित भएको थियो।
समूह बी मा अष्ट्रेलिया, नामिबिया, इंग्ल्याण्ड, स्कटल्याण्ड र ओमान छन्।
अष्ट्रेलियाले दोस्रो खेल इंग्ल्याण्ड र नामिबियाले स्कटल्याण्डसँग खेल्नेछ।