मधेश प्रदेश र बागमती प्रदेशले कैलालीको धनगढीमा जारी एनआईएमबी सुदूरपश्चिम मुख्यमन्त्री १६ बर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन्।
फाप्ला मैदानमा भएको पहिलो खेलमा मधेशले लुम्बिनीलाई ११ रनले हरायो भने दोस्रो खेलमा बागमतीले गण्डकीलाई २८ रनले पराजित भयो।
मधेशले पहिले ब्याटिङ गर्दै खराब मौसमका कारण २८ ओभरमा झारिएको खेलमा ७ विकेट क्षतिमा १४१ रन बनायो। मधेशका लागि अभिषेक तिवारीले अर्धशतक सहित ५७ र निरज यादवले पनि अर्धशतक सहित ५० रन बनाए ।
लुम्बिनीका सागर गैरे र आशिष ओलीले दुई दुई विकेट लिए।
लुम्बिनी प्रदेशले निर्धारित ओभरमा ७ विकेट क्षतिमा १३० रन मात्रै बनाउन सक्यो। प्रतिक भट्टराईले ३८ रन र सन्दीप यादवले २५ रन बनाए। मधेशका लागि सलमान मंन्सुरी र रोशन शाहले दुई दुई विकेट लिए।
दोस्रो खेलमा बागमतीले पहिले पहिले ब्याटिङ गर्दै खटाईएको २३ ओभरमा १४० रन बनायो। बागमतीका लागि रोशन विकले ५६ रनको अर्धतशकीय पारी खेल्द जोय थापा २७ र निश्चल श्रेष्ठले २३ रन जोडे। गण्डकीका लागि रोहित चन्दले ह्याट्रिक लिए। उनले २१.२, २१.३ र २१.४ ओभरमा लगातर विकेट लिँदै ह्याट्रिक गरे।
गण्डकीले निर्धारित ओभरमा ६ विकेट क्षतिमा ११२ रन मात्रै बनाउन सक्यो। उसका लागि विज्ञान पाण्डेयले ४० रन, सुप्रीम सुनार र अनिश ताम्राकारले १४-१४ रन बनाए । बागमतीका लागि सार्थक धितालले दुई र रोशन विकले एक विकेट लिए।
प्रतियोगिता अन्तर्गत भोलि दुई खेल हुनेछन् । पहिलो खेलमा मधेश प्रदेश र कर्णाली प्रदेश तथा दोस्रो खेलमा कोसी प्रदेश र गण्डी प्रदेश प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन्। त्यस्तै म्यान अफ द सिरिजले नगद १५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद १० हजार तथा प्लेयर अफ द म्याचले नगद दुई हजार प्राप्त गर्नेछन्।
नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको ईस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गरेको हो। एसियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार सो प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ।