काठमाडौंको नरदेवी, जहाँ तुलाधर समुदायको इष्ट देवता (दिगु द्यः) छ, त्यहाँ एउटा पुरानो शिलालेख पाइन्छ।
उक्त शिलालेखले त्यो ठाउँमा करिब साढे तीन सय वर्ष पुरानो फल्चा रहेको वर्णन गर्छ। तिब्बतको ल्हासा व्यापारका लागि आउजाउ गर्ने मान्छेको निम्ति उक्त फल्चा बनाइएको शिलालेखमा उल्लेख छ।
विडम्बना के भने, अहिले त्यहाँ फल्चाको नामनिसान छैन। तुलाधरहरू शिलालेखमा फल्चाको वर्णन पढेरै चित्त बुझाइरहेका छन्।
तर अब त्यस्तो हुने छैन।
संस्कृति तथा सम्पदा संरक्षणकर्ता आलोकसिद्धि तुलाधर यति बेला त्यही फल्चा पुनर्निर्माणमा लागिपरेका छन्। यसका लागि तुलाधर समुदायकै पैसा र श्रमदान प्रयोग भइरहेको छ। खर्च धेरै नहोस् भनी पुराना माअप्पा (इँटा) र थामहरू खोजेर पुनः प्रयोग गर्न लागिएको छ।
'सयौं वर्ष पुरानो दाफा भजन पुनर्जीवित गर्दै फल्चालाई जीवन्त बनाउने र यसको निर्माण प्रक्रिया पनि अभिलेख गरेर राख्ने हाम्रो सोच छ,' उनले भने।
त्यसै क्रममा केही साताअघि फल्चाको जग पूजा गरिएको थियो। पूजामा इँटा र माटोसँगै अन्न र रत्नहरू पनि राखिए। ती अन्न र रत्नहरू कीरा, फट्यांग्रा र जमिनमुनि बस्ने जीवहरूका लागि राखिएको उनले जानकारी दिए।
'नाग देवता खुसी पार्न रत्न चढाइएको मानिन्छ। त्यसैगरी जमिनमुनिका प्राणीलाई खान पुगोस् भनेर अन्नहरू प्रतीकात्मक रूपमा चढाइन्छ। यो उनीहरूसँग क्षमा माग्ने र सम्मान गर्ने तरिका पनि हो,' आलोकले भने।

यही अभियानले आलोकलाई फल्चाको अर्थ बुझाएको छ। फल्चा भनेको भौतिक वस्तु मात्र होइन, सांस्कृतिक र सामुदायिक महत्त्वको संरचना हो भन्ने उनले थाहा पाएका छन्।
संयोग कस्तो भने, आलोकले नरदेवीमा फल्चा पुनर्निर्माण गरिरहेकै बेला काठमाडौं महानगरपालिकाले सहरभरि 'फल्चा बस बिसौनी' बनाइरहेको छ।
काठमाडौं महानगरले आफ्नो गौरव परियोजनाका रूपमा आर्थिक वर्ष २०७९/८० देखि नै यस्तो बस बिसौनी बनाउन सुरू गरेको हो।
'कंक्रिटाइजेसनले छोपेको समय काठमाडौंको सभ्यता झल्कने झिंगटीको छानो, थाम तथा बुट्टेदार अग्राखको काठबाट बनेको कलात्मक भागहरू सहितको फल्चा दृश्यका लागि मनोरम बन्ने छ,' बालेनले आफ्नो फेसबुकमा लेखेका छन्, 'हरेक फल्चामा दुईतर्फी यात्रु विश्रामको सुविधा र बीच बाटोबाट पैदल आवतजावत सहज हुने गरी डिजाइन गरिएको छ। यो अपांगतामैत्री पनि छ।'
महानगरले बस बिसौनीको निर्माण सुरू गरेसँगै यसबारे विभिन्न टिकाटिप्पणी भइरहेका छन्।
कतिले काठमाडौंको परम्परागत फल्चाको झल्को दिने गरी बस बिसौनी बनाइएकामा महानगरको तारिफ गरेका छन्। यसले सहरबाट हराउँदै गएको पुरानो संरचना ब्युँताउने उनीहरूको भनाइ छ।
कतिपयले भने यो बिसौनी पैदल यात्रु र खासगरी अपांगतामैत्री नभएको भनेर विरोध जनाइरहेका छन्। यस्तो विरोधपछि नयाँ बन्ने फल्चाको डिजाइनमा संशोधन गरिएको महानगरको भनाइ छ।
कतिले भने नेपाल भाषाबाट आएको शब्द 'फल्चा' को मूल्य–मान्यता बस बिसौनीले पूरा नगरेको बताइरहेका छन्। आलोक यिनैमध्ये एक हुन्।
'जब कुनै सम्पदाको नाम नयाँ संरचनासँग जोडिन्छ, त्यसले सम्पदाको मर्म समेटेको छ कि छैन भनेर बुझ्नुपर्छ,' उनले भने, 'बस बिसौनीलाई फल्चा शब्द जोडेर परम्परागत रूप दिन खोजे पनि त्यो सही अर्थमा फल्चा होइन। यसले गलत अर्थ र गलत बुझाइ मात्र सिर्जना गर्छ।'
यही सन्दर्भमा हामी यो स्टोरीमा फल्चा र यसको परम्परागत विशेषताबारे चर्चा गर्दैछौं।
सुरूमा कुरा गरौं, फल्चा भनेको के हो?
फल्चा 'फः' र 'चा' भन्ने शब्दबाट बनेको हो। फःको अर्थ फल्चाको पेटी हो। यो जमिनभन्दा केही अग्लो भागमा बनेको हुन्छ; जहाँ मानिसहरू बस्छन्, आराम गर्छन्। भजन–किर्तन लगायतका सामाजिक गतिविधि पनि हुन्छन्।
जहाँसम्म 'चा' को कुरा छ, नेवाः समुदायमा यो शब्द आफूलाई मनपर्ने व्यक्ति वा वस्तुप्रति स्नेहपूर्ण अभिव्यक्तिका रूपमा प्रयोग गरिन्छ। कुनै पनि मान्छेलाई स्नेहपूर्वक बोलाउनुपर्दा नामको पछाडि 'चा' जोडिएको हामी सुन्छौं। यहाँसम्म कि, सबैको प्रिय खानेकुरा म:मलाई पनि म:मचा भनिन्छ।
नेपाल भाषाका विज्ञ कमलप्रकाश मल्लले विभिन्न ग्रन्थबाट संकलन गरेका शब्द राखेर 'अ डिक्सनरी अफ क्लासिकल नेवारी' प्रकाशन गरेका छन्। त्यसमा फल्चालाई 'फले' वा 'फरे' भनेर लेखिएको पाइन्छ।
'झ्याःलाई झ्याले, पसःलाई पसले भनेर विसर्ग प्रयोग गर्ने चलन नेवाः समुदायमा व्यापक छ। फः पनि फले हुँदै फल्चा भएको हुनसक्छ,' आलोकले भने, 'तर फल्चा भन्ने शब्द चाहिँ फः वा बस्ने पेटीकै कारण बनेको हो।'
उनले अगाडि भने, 'मान्छेहरू बस्ने पेटी नै नभएको बिसौनीलाई फल्चा भन्नु गलत प्रयोग हो। यसैलाई फल्चा मान्ने हो भने पछि मूल तत्व हराएर जान्छ।'
हामीले काठमाडौं महानगरले बनाएका बस बिसौनीहरू हेर्ने हो भने नयाँबानेश्वरको प्रिमियर कलेजअगाडि मात्र फः अर्थात् बस्ने पेटी भएको फल्चा देख्न सक्छौं। अन्यमा काठका कुर्सी छन्।


परम्परागत फल्चाको मुख्य विशेषता भनेको यो बटुवालाई आश्रय दिन बनाइएको हुन्छ। त्यही भएर बाटोछेउ बनाउने चलन छ। कुनै धनी, परोपकारी वा धर्मात्मा व्यक्तिले बटुवाको सुविधाका लागि फल्चा निर्माणमा लगानी गर्छन्। कतिपयले बिहान वा साँझको भजन–किर्तन पनि फल्चामै बसेर गर्छन्। जात्रापर्वका गतिविधि तथा देवीदेवता पनि यिनै फल्चामा राखिन्छ। कतिपयले फल्चालाई पाटी वा सत्तल पनि भन्छन्।
यस्ता फल्चा कुनै मण्डप आकारमा हुन्छन्। सोह्रखुट्टेस्थित सोह्रखुट्टे पाटी त्यसैको उदाहरण हो।
कुनै चेप्टो आयाताकार पनि हुन्छन्। तिनलाई ताहा: फल्चा भनिन्छ। कुनै अंग्रेजी अक्षर 'एल' आकार वा ९० डिग्री कोणका हुन्छन्, जसलाई कुं फल्चा भनिन्छ।
त्यस्तै, घरसँग जोडिएका फल्चालाई लिधं फल्चा र दुईवटा फल्चा एकसाथ जोडेर बनाइएकालाई जो फल्चा भनिन्छ।
'पुरातत्त्वविद शुक्रसागर श्रेष्ठका अनुसार कीर्तिपुरमा रहेको एउटा विशेष फल्चाको शिलालेखमा गृहालंकार फल्चा निर्माण गरिएको उल्लेख छ। यस्तो फल्चा घरको शोभा बढाउन बनाइन्छ,' संग्रहालयविद स्वस्ति राजभण्डारी कायस्थले फल्चाबारे सन् २०१६ मा लेखेको एक लेखमा लेखेकी छन्।
फल्चा बनाउदा वास्तुगत नियम पनि पालना गर्नुपर्छ। लम्बाइ र चौडाइको अनुपात मिलाएर बनाउनुपर्छ। यसका थाम र टुँडालमा भएका कलात्मक बुट्टा पनि नियमअनुसार बनाउनुपर्ने आलोक बताउँछन्।
फल्चा बनाउँदा मुख्यत: तीनवटा सामग्री महत्त्वपूर्ण हुन्छ – काठ, इँटा र ईः लोहँ (ढुंगा)।
काठका थाम भुइँमा यत्तिकै राखिन्न। त्यसलाई ईः लोहँः माथि राखिन्छ, जसले भुइँको ओस सजिलै काठमा पस्दैन। यो परम्परागत नियम पनि महानगरले पालना नगरेको आलोकको गुनासो छ।
'महानगरले भुइँमाथि फलामको प्लेटमा काठका थाम अडाएर ढलान गरेको छ। यसले भुइँको ओस सिधै थाममा जान्छ। फलाममा पनि खिया लाग्छ वा खिया नलागे पनि थामको आयु त दिगो हुँदैन,' उनले भने, 'परम्परागत शैली हेर्ने हो भने ढुंगा र काठ जोड्ने एउटा महत्त्वपूर्ण विधि छ, जसमा ढुंगाको बीचमा खाल्डो खनेर काठको थाम अड्काइन्छ। त्यसो गर्दा काठ र ढुंगा ठ्याक्कै अडिन्छ र हल्लिन्न।'
महानगरले फल्चाको नाम जोडेर जसरी बस बिसौनी बनाएको छ, त्यसले वास्तु विज्ञान त मानेको छैन नै, मौलिक फल्चालाई पनि छायामा पार्ने आलोक बताउँछन्।
'परम्परागत नेवाः शैली अगाडि ल्याउन खोज्नु राम्रो हो। झट्ट हेर्दा राम्रो पनि देखिएकै छ। तर त्यसमा सांस्कृतिक महत्त्वको शब्द जोड्नु भनेको महानगरले संस्कृतिलाई हल्का रूपमा लिनु हो,' आलोकले भने, 'संस्कृतिसँग जोडिएको कुनै पनि विषयलाई हल्का रूपमा लिन पाइन्न। भित्रसम्म बुझेर, त्यसको नियम र मूल्य–मान्यता केलाएर मात्र कार्यान्वयन गर्नुपर्छ। नभए त्यसले हाम्रो सम्पदा र संस्कृतिको विषयलाई जटिल बनाउँछ।'
संस्कृतिविद तथा सहरी योजनाकार पद्मसुन्दर जोशी पनि यो बस बिसौनीलाई 'फल्चा' भन्नु गलत भएको बताउँछन्।
'नयाँ निर्माणमा परम्परागत वास्तुकला अपनाउनु राम्रो अभ्यास हो। तर फल्चा चाहिँ भन्नुहुन्न। यो परम्परागत शैली झल्कने बस बिसौनी मात्र हो,' उनले भने, 'फल्चाले बोक्ने मर्म र विशेषता यसले समेट्दैन।'
पद्मसुन्दरलाई यो बस बिसौनीको मर्मतसम्भार कसरी हुन्छ भन्नेमा पनि चिन्ता छ।
परम्परागत शैलीका फल्चा जीर्णोद्धार गर्न गुठीको व्यवस्था हुन्छ। गुठीको खेत हुन्छ र त्यसबाट आएको आयस्थाले फल्चा जीर्णोद्धार गरिन्छ। गुठियारहरूले नै फल्चाको झिँगटीमा पलाउने घाँस उखल्ने र सरसफाइ गर्ने गर्छन्। काठको मर्मतसम्भार पनि गर्छन्।
महानगरले बनाएको परम्परागत शैलीको बस बिसौनी गुठीअन्तर्गत नबनेकाले यसको मर्मतसम्भार चुनौतीपूर्ण हुने पद्मसुन्दरको भनाइ छ।
'परम्परागत शैलीका कुनै पनि संरचना बनाउनुपूर्व त्यसको व्यवस्थापन योजना हुनुपर्छ। एकछिनलाई राम्रो देखिएर मात्र भएन। बिस्तारै रङ उड्दै जान्छ। झार पलाउँछन्। अग्राखको काठ बेलाबेला मर्मत गर्नुपर्छ। धमाधम परम्परागत शैलीको बिसौनी बनाउने मात्र होइन, त्यसको संरक्षणबारे पनि महानगरले सोच्नुपर्छ,' उनले भने।

हामीले यस विषयमा काठमाडौं महानगरका सम्पदा तथा पर्यटन विभागका सहायक निर्देशक धर्म मुनिकारसँग कुराकानी गरेका छौं।
यी फल्चा शैलीका बस बिसौनी महानगरको सम्पदा विभागले नै संरक्षण गर्ने उनले बताए।
'आधुनिक शैलीको बस बिसौनीलाई भन्दा यस्ता परम्परागत शैलीका संरचनालाई धेरै रेखदेखको खाँचो हुन्छ। झिंगटीमा छिट्टै झार पलाउँछन् र रेखदेखको खाँचो धेरै पर्छ। त्यो कुरा हामीले बुझेका छौं,' उनले भने, 'भर्खर त हामी निर्माणको चरणमा छौं। त्यसैले मर्मतबारे सोच्नुपर्ने बेला भइसकेको छैन।'
उनी आफूहरूले बनाएको बस बिसौनीको नाममा पनि विरोध जनाउनुको तुक देख्दैनन्।
'हामीले फल्चा पुनर्निर्माण गरेका होइनौं, नयाँ बनाएका हौं,' उनले भने, 'यसलाई हामीले फल्चा भनेका छैनौं, फल्चा शैलीको बस बिसौनी भनेका छौं। महानगरमा परम्परागत शैली झल्कियोस् भनेर यस्तो बस बिसौनी निर्माण गरेका हौं।'
मुनिकारका अनुसार अहिले महानगर परिसरमा तीन–चार किसिमको फल्चा शैलीको बस बिसौनी निर्माण भइरहेको छ।
'सबभन्दा ठूलो बस बिसौनी बानेश्वरमा बनाइरहेका छौं। ठूलो फल्चा ५०–६० लाख रूपैयाँमा बनेको छ भने सानोको लागत १८ देखि २० लाख छ। लागत पनि भूगोलअनुसार फरक पर्छ,' उनले भने, 'परम्परागत शैलीको वास्तुगत नियम पालना नभए पनि परम्परागत शैली झल्काउने प्रयास हामीले गरेका छौं।'
मुनिकारका अनुसार महानगरले केन्द्रको बजेटबाट २४ वटा बस बिसौनी बनाउन ९ करोड रूपैयाँ विनियोजन गरेको थियो। यिनको निर्माण अन्तिम चरणमा छ। यस आर्थिक वर्ष थप ३० वटा बस बिसौनी बनाउन टेन्डर आह्वान भइसकेको उनले बताए। यसका लागि १० करोड रूपैयाँ विनियोजन गरिएको छ।
'फल्चा शैलीको बस बिसौनी धेरैले मन पराएका छन्। त्यसैले कतिपय वडाले आफ्नै बजेटबाट स्वतःस्फूर्त रूपमा बनाइरहेका छन्,' उनले भने, 'अहिलेसम्म ७–८ वटा बस बिसौनी निर्माण भइसकेको छ। थप ७–८ वटाको निर्माण अन्तिम चरणमा पुगिसकेको छ।'
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
***






