एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाले प्रभावित भएको छ।
मुलपानी मैदान विहान ९ बजे सुरु हुने पर्ने वर्षाले प्रभावित भएको हो। खेलअघि गरिने टस वर्षाका कारण ढिलाइ भएको छ। हिजो साँझदेखि परेको वर्षाका कारण मैदान भिजेको छ।
अहिले पिचमा कभर लगाइएको छ। सो कभर हटाइएपछि मात्र टसबारे निर्णय हुनेछ। विहान साढे ११ बजेसम्म दुईपटक कभर हटाइए पनि फेरि वर्षा भएका कारण कभरले पिच छोपिएको छ।
दिउँस २ बजेसम्म पनि टस हुन नसके खेल रद्द हुनेछ। खेल रद्द भएमा नेपाल सेमिफाइनल पुग्नेछ।
नेपालले अन्तिम खेलमा बिहीबार कतारसँग खेल्नेछ। सो खेलमा जित हात पारे नेपाल समूह विजेता बन्नेछ।
नेपालले मुलपानी मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो।
समूह ‘ए’ मा रहेको नेपालले यसअघि दुवै खेलमा जित हात पारेको थियो। कीर्तिपुरमा नेपालले मलेसिया र ओमानमाथि जित हात पारेको थियो।
समूहको शीर्ष स्थानमा रहेको नेपालले आजको खेलमा जित हात पारे सेमिफाइनल पुग्नेछ।
नेपाल र साउदीबीच २०१२ पछि प्रतिस्पर्धा हुन लागेको हो। २०१२ मा अबुधावीमा एसिसी ट्रफीको खेलमा नेपालले ९ विकेटको जित हात पारेको थियो।
सो खेलमा ज्ञानेन्द्र मल्लले २३ बलमा नटआउट ६१ रन जोडेका थिए। पहिले ब्याटिङ गरेको साउदी १३१ रनमै अलआउट भएको थियो। जुन लक्ष्य नेपालले १३.१ ओभरमै पार गरेको थियो।
एक दशकपछिको साउदी टिममा निकै सुधार आइसकेको छ। साउदीले जारी प्रतियोगिताको पहिलो खेलमा कतारमाथि ७ विकेटको जित हात पारेको थियो।