एसिसी प्रिमियर कपअन्तर्गत समूह ‘बी’ को खेलमा युएईका कप्तान मोहमद वासीमले उत्कृष्ट ब्याटिङ गरेका छन्।
आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सिंगापुरविरुद्धको खेलमा उनले १६० रन बनाएका छन्। ८२ बल खेलेर आउट हुनुअघि उनले ९ चौका र १६ छक्का प्रहार गरे। उनले ६२ बलमा शतक पूरा गरेका थिए।
वासिमले गत महिना पनि कीर्तिपुर मैदानमा शतक हिर्काएका थिए। उनले विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनीविरुद्ध ११९ रन बनाएका थिए।
खेलमा युएईका अर्का ब्याट्सम्यान वृत्य अरविन्दले पनि शतक प्रहार गरेका छ्न्। उनले ९६ बलमा शतक पूरा गरेका छन्।
युएईले टस जितेर पहिले ब्याटिङ गरिरहेको हो। उसले ३३ ओभरमा ३ सय रन कटाइसकेको छ।
समूहमा युएईले अघिल्ला दुई मध्ये एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालले सुरुवाती दुवै खेलमा जित निकालेको छ। नेपालले तेस्रो खेल सोमबार साउदी अरेबियासँग मुलपानी मैदानमा खेल्दैछ।