नेपाल टी-२० क्रिकेट लिगमा भएको भनिएको ‘स्पट फिक्सिङ’को भिडिओ सेतोपाटीले प्राप्त गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले स्पट फिक्सिङमा संलग्न रहेको आशंकामा राष्ट्रिय क्रिकेट टोलीका खेलाडी मोहम्मद आदिल आलम अन्सारी र अर्का एक पूर्व खेलाडी महबुब आलमलाई पक्राउ गरिसकेको छ।
आदिलले नेपाल टी-२० लिगमा जनकपुर रोयल्सको तर्फबाट खेलेका थिए। पुस १२ गते भएको काठमाडौं नाइट्सविरूद्ध ८ औं खेलमा आदिलले स्पट फिक्सिङ गरेको पाइएको सिआइबीले जनाएको छ।
उनले उक्त खेलको १२ औं ओभरको पहिलो बलमा नो-बल फालेका थिए। त्यस्तै, फेरि अर्को बलमा उनले वाइड बल फालेको देखिन्छ।
त्यस्तै, पुस १४ गते फार वेस्ट युनाइटेडविरूद्ध भएको १२ औं खेलमा पनि स्पट फिक्सिङ भएको सिआइबीले जनाएको छ। उक्त खेलको छैठौं ओभरको पहिलो बलमा उनले नो-बल फालेका छन्। त्यस्तै अघिल्लो खेलमा जस्तै अर्को बलमा उनले वाइड-बल फालेका छन्।
हेर्नुहोस् सेतोपाटीले एक्सन स्पोर्टस् च्यानलबाट प्राप्त गरेको भिडिओ :
पुस ९ गतेदेखि २७ गतेसम्म भएको नेपाल टी-२० क्रिकेट लिगमा स्पट फिक्सिङको आशंकामा सबैभन्दा पहिला कमेन्टेन्टर सचिन तिमिल्सिनाले सार्वजनिक टिप्पणी गर्दै कमेन्ट्री बक्स छाडेका थिए।
उनले फेसबुकमा राखेको उक्त भिडिओमा आफूलाई फिक्सिङको आशंका लागेको खेलबारे समेत बोलेका थिए। तर उनले खेलाडीको नाम लिएका थिएनन्।
'नेपाली राष्ट्रिय टोलीमा खेलिसकेका एक जना अलराउण्डरले बलिङ सुरू गर्नुभन्दा अघि लामो नोबल फाले। त्यति लामो नो बल जानी जानी नफाली हुँदैन', सचिनले भनेका छन्, 'त्यत्रो लामो नो बल प्रोफेसनल खेल खेल्ने क्रिकेटरले गर्ने सम्भावना हुँदैन। त्यसले मलाई असह्य पीडा भयो। मैले त्यसपछि यो सबैकुरा एन्टी करप्सन अफिसर वीर सिंहलाई रिपोर्ट गरेँ।'
त्यसो त राष्ट्रिय क्रिकेट टिमका खेलाडी ज्ञानेन्द्र मल्लले पनि नेपाल टी-२० क्रिकेट लिगमा आफ्नो टिमका खेलाडीलाई समेत फिक्सिङका लागि प्रस्ताव आएको बताएका थिए।
'हाम्रो टिमको एउटा प्लेयरलाई एप्रोच गरेको थियो र नियम अनुसार हामीले त्यो जानकारी हामीले एन्टी करप्सन युनिटलाई गरेका थियौँ', ज्ञानेन्द्रले भनेका थिए, 'एप्रोच र फिक्सिङ फरक हो। हामीले रिपोर्ट गरेका छौँ।'
केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले टी-२० लिगमा स्पट फिक्सिङमा १० जना संलग्न रहेको जनाएको छ। जसमध्ये ४ जना नेपाली रहेको सिआइबीका प्रवक्ता एवम् एसपी संजय सिंह थापाले जानकारी दिएका छन्।
नेपाली क्रिकेटमा भएको भनिएको यत्रो ठूलो स्पट फिक्सिङको घटनाबारे नेपाल क्रिकेट संघले भने कुनै जिम्मेवारी बोध गरेको देखिँदैन।
अनलाइन बेटिङ कम्पनी 'वान एक्स बेट' सँग मिल्दोजुल्दो नाम भएको वान एक्स बेटले यो प्रतियोगिताको मुख्य प्रायोजनको जिम्मा पाएको थियो। उक्त कम्पनीको संलग्नताबारे सुरूआतदेखि नै उठेका प्रश्नमा क्यानले बचाऊ गर्दै आएको थियो। क्यानले प्रतियोगिता आफैँ आयोजना गर्न सक्ने अवस्था हुँदाहुँदै विवादित कम्पनीलाई छनौट गर्दा नेपाली भूमिमा स्पट फिक्सिङको घटना भएको छ। जसले नेपाली क्रिकेटको शिर निहुँराएको छ।