कीर्तिपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुस ९ गतेदेखि नेपाल टी-२० लिग सुरू भयो।
नेपाल क्रिकेट संघले यो लिग सञ्चालन गर्ने जिम्मा भारतीय कम्पनी सेभेन थ्रीलाई दिएको थियो। कीर्तिपुर मैदानमा हुने खेलहरूमा बेटिङ (बाजी) हुने गरेका थिए। बेटिङ गर्नेहरू त्यही मैदानमै उपस्थित भएर बाजी लगाउँथे।
यस्ता गतिविधिबारे नेपाल प्रहरी सचेत थियो। बेटिङ गर्दै गरेको अवस्थामा थुप्रैलाई प्रहरीले पक्राउ समेत गरेको थियो।
लिग सुरू भएपछि पनि बेटिङ गर्नेहरू सक्रिय हुने भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट प्रहरीहरू परिचालित थिए। यसो त यसका मुख्य प्रायोजक नै वान एक्स ब्याट थियो। जुन बेटिङ कम्पनी वान एक्स बेटसँग नाम पनि मिल्दोजुल्दो छ।
‘वान एक्स ब्याटले खेलकुदसँग सम्बन्धित समाचार र पूर्वानुमानको लागि भरपर्दो स्रोत भन्ने दाबी गर्ने गरेको छ। निकट भविष्यमा क्रिकेट खेलसँग सम्बन्धित पोशाक तथा सामग्री बजारमा उपलब्ध हुने दाबी गरेको छ। तर हालसम्म बजारमा बिक्री वितरणको लागि कुनै सामग्री उपलब्ध छैन,’ सिआइबीका प्रवक्ता एसपी संजयसिंह थापाले भने।
परिचालन गरिएको टोलीले खेलमा भइरहेका गतिविधिहरूलाई नियालिरहेको थियो। त्यसैबीच कमेन्टेटर सचिन तिमल्सेनाले खेलमा स्पट फिक्सिङको आशंका रहेको भन्दै लिग छाडे। त्यस्तै पूर्व कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लले पनि आफ्नो टिमका खेलाडीलाई स्पट फिक्सिङको प्रस्ताव आएको सार्वजनिक गरे।
यसरी सार्वजनिक भएपछि गृह मन्त्रालयले यसबारे अनुसन्धान गर्न लिखित रूपमा प्रहरी प्रधान कार्यालयलाई निर्देशन दियो।
उक्त निर्देशनपछि सिआइबीका डिएसपी सुन्दर तिवारीको नेतृत्वमा पाँच सदस्य अनुसन्धान टोली गठन गरेको थियो।
अनुसन्धानको क्रममा पर्याप्त प्रमाण जुटाएर प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा एक जना पूर्व खेलाडी महबुब आलम र मोहम्मद आदिल आलम छन्।
प्रहरीले महबुबलाई विराटनगरबाट र आदिललाई राजविराजबाट पक्राउ गरेको हो।
सिआइबीले उनीहरूको संलग्नता रहेकोबारे मंगलबार एक पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको हो।
एसपी संजयसिंह थापाका अनुसार यस लिगमा १० जनाले स्पट फिक्सिङ गराउनमा भूमिका खेलेका छन्। जसमा ४ जना नेपाली र ६ जना विदेशी छन्।
जसमध्ये आदिलले दुई खेलमा स्पट फिक्सिङ गरेको आरोप छ।
आदिल जनकपुर रोयल्सबाट खेलेका थिए। पुस १२ गते भएको काठमाडौं नाइट्सविरूद्ध ८ औं खेलमा आदिलले स्पट फिक्सिङ गरेको पाइएको एसपी थापाले बताए।
उनले उक्त खेलको १२ औं ओभरको पहिलो बलमा नो-बल फालेका थिए। त्यस्तै फेरि अर्को बलमा उनले वाइड बल फालेको देखिन्छ।
त्यस्तै पुस १४ गते फार वेस्ट युनाइटेडविरूद्ध भएको १२ औं खेलमा पनि स्पट फिक्सिङ भएको सिआइबीले जनाएको छ।
उक्त खेलको छैठौं ओभरको पहिलो खेलमा उनले नो-बल फालेका छन्।
त्यस्तै अघिल्लो खेलमा जस्तै अर्को बलमा उनले वाइड-बल फाले।
खेलमा वाइड वा नोबल हुने सम्भावना हुन्छ। तर सिआइबीको अनुसन्धानले ती बलमा स्पट फिक्सिङ भएको भन्ने प्रमाणित गर्ने आधार भएको एसपी थापा बताउँछन्।
यसमा पूर्व खेलाडी रहेका महबुब आलमले बिचौलियाको भूमिका खेलेको देखिएको छ। उनले खेलाडीहरूलाई विभिन्न माध्यमबाट सम्पर्क गरी स्पट फिक्सिङका लागि प्रस्ताव गरेको पाइएको हो।
‘उनले विभिन्न आर्थिक प्रलोभन देखाएर आदिलसहित अरू खेलाडीलाई स्पट फिक्सिङको लागि प्रस्ताव गरेको देखिन्छ,’ एसपी थापाले भने।
उनका अनुसार आदिललाई पनि महबुबले प्रस्ताव गरेका थिए। यसरी एक पटक स्पट फिक्सिङ गर्दा ६ देखि १० लाखसम्म दिइने प्रस्ताव गरिएको देखिन्छ।
‘खेलाडीलाई प्रस्ताव गर्दा हाम्रो नेटवर्कले अन्तर्राष्ट्रिय जगतमा खेल खेल्न मद्दत गर्छ। अन्य अवसरका ढोकाहरू पनि खुल्दै जान्छन्। आइपिएल जस्ता विश्वभरी हुने लिगहरूमा हामी तिमीलाई सहयोग गर्छौं भन्ने जस्ता प्रलोभनहरू दिएको पायौं,’ एसपी थापाले भने।
त्यस्तै टिम म्यानेजरकै प्रस्तावमा एक जना विदेशी खेलाडीले पनि एक सेसनमा निर्धारित एक रनमात्रै बनाएको देखिएको उनले बताए। तर प्रहरीले ती व्यक्तिहरू पक्राउ नपरेको हुँदा कुन टिमका खेलाडी वा म्यानेजर हुन् भन्ने खुलाएको छैन।
प्रहरीका अनुसार यस्ता स्पट फिक्सिङको प्रस्ताव आएदेखि नै खेलाडीको परीक्षा सुरू हुन्छ। यदि कुनै पनि खेलाडीलाई स्पट फिक्सिङको प्रस्ताव आएर पनि रिपोर्ट नगरेमा अपराध मानेको छ।
प्रस्ताव आएमा खेलाडीले त्यसलाई पहिचान गर्ने, अस्वीकार गर्ने र एन्टी करप्सन युनिटमा रिपोर्ट गर्नुपर्ने हुन्छ।
‘तीन जना खेलाडीहरूले रिपोर्ट गरेको पायौं। त्यसैले तीनै जना निर्दोष हुन् भन्ने देखिन्छ,’ उनले भने, ‘तर आदिलले रिपोर्ट पनि गरेनन्। प्राप्त प्रमाणअनुसार उनले फिक्सिङ गरेको पनि देखियो।’
उनले फिक्सिङ गरेबापतको रकम लिइसकेको बारे नखुलेको पनि प्रहरीले जनाएको छ। यता महबुबले पनि बिचौलियाको काम गरेबापत कति रकम पाउँथे भन्नेबारे सोधपुछ गर्न बाँकी नै रहेको एसपी थापाले बताए।
एसएसपी दिनेश आचार्यका अनुसार खेलाडीलाई बिचौलियाले स्पट फिक्सिङ गराउनको लागि ह्वाट्सएप, फोन मेसेज, फोन कलबाट प्रस्ताव गरेको देखिएको छ।
कतिपयलाई भने भेटेर पनि प्रस्ताव गरेको उनले बताए। यता आदिललाई पनि मेसेजमार्फत् नै प्रस्ताव आएको देखिन्छ। उनले उक्त प्रस्तावमा भनेअनुसार नै स्पट फिक्सिङ गरेको एसएसपी आचार्यले बताए।
यस्तै प्रहरीले सेभेन थ्री कम्पनीको आर्थिक स्रोत के हो भन्नेबारे पनि अनुसन्धान गरिरहेको छ।
यो लिगमा ठूलो मात्रामा खर्च भएको देखिन्छ। लाइभ प्रसारण गर्न नयाँ क्यामरा लगायत सामग्री पनि ल्याएको देखिन्छ। तर कति रकम खर्च भएको छ भन्ने यकिनसँग खुलेको छैन।
‘यो लिगमा कति खर्च भएको छ भन्ने आयोजकलाई मात्रै थाहा हुने भयो। तर आयोजक सम्पर्कमा आएका छैनन्,’ एसएसपी आचार्यले भने।
सेभेन थ्रीका मालिक जतिन अलुवालिया विवादित बनेको लिगबारे सिआइबीले अनुसन्धान गरिरहेको थाहा पाएसँगै भारत भागेका थिए। अहिले उनी सम्पर्कमा छैनन्।
यसरी ठूलो मात्रामा खर्च गर्न सक्ने स्रोतबारे सिआइबीले अनुसन्धान गरिरहेको छ। तर ती स्रोत अहिलेसम्म खुल्न सकेको छैन।
यति मात्रै होइन, कतिपय फ्रेन्चाइज टिमहरूबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। तर ती टिमले पनि खेलाडीहरूलाई दिने पारिश्रमिक, आर्थिक स्रोत खुलेको छैन।
यसरी नेपालमा भएको लिगमा स्पट फिक्सिङमा नेपाल क्रिकेट संघ (क्यान) को प्रत्यक्ष रूपमा संलग्नता भने देखिएको छैन। तर सिआइबीले यसका कमजोरीहरूबारे औंल्याएको छ।
‘क्यान नै आयोजक भई सञ्चालन गर्ने नेपाल टी-२० क्रिकेट लिगले नेपालको प्रतिनिधित्व गर्ने, राष्ट्रिय क्रिकेट तथा राष्ट्रको छविमा समेत प्रभाव पार्न सक्ने महत्व बोकेको खेलको रणनीतिक तथा व्यावसायिक साझेदार र फ्रेन्चाइज टिमहरूको आर्थिक स्रोत, विगतमा क्रिकेट खेलसँगको आबद्धता, पारदर्शिता, जवाफदेहीता र उत्तरदायित्व बहन गर्ने क्षमता लगायतका विषयमा 'भेटिङ' गर्ने समेतको कार्यमा उचित ध्यान दिन नसकेको,’ सिआइबीले भनेको छ।
पक्राउ परेका दुई जना खेलाडीहरूमाथि प्रहरीले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार अनुसन्धान अघि बढाएको हो। महबुब र आदिललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ।
ऐनको दफा ३१ मा खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने उल्लेख छ।
‘नेपालभित्र वा नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडीसँग प्रतिस्पर्धा गर्दा कुनै खेलसम्बद्ध खेलाडी वा पदाधिकारीले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने गरी कुनै खेलाडी वा खेलाडीको समूहसँग मिलोमतो गर्न वा कसैको प्रलोभनमा पर्न वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउने कार्य गर्न हुँदैन,’ उक्त दफामा उल्लेख छ।
त्यस्तै खेलमा मिलोमतो तथा अनियमितता गरेमा ३ वर्ष कैद र ५० हजार जरिवाना पनि तोकिएको छ। यसमा कुनै रकम लेनदेन भएको भएमा जफत समेत गर्ने कानुनी व्यवस्था छ।
यस्तै ऐनमा कसुर गर्न आदेश वा निर्देशन दिने, त्यस्तो कसुर गर्न दुरूत्साहन दिने, उक्साउने वा मद्दत गर्ने व्यक्तिलाई पनि मुख्य कसुरदार सरह सजाय हुने व्यवस्था छ।