कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी नेपाल टी-२० लिगमाथि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ।
सुरूदेखि नै विवादित बनेको यो लिगमा सिआइबीले आन्तरिक रूपमा अनुसन्धान गरिरहेको हो। यस लिगमा बेटिङ र स्पट फिक्सिङ समेत भइरहेको आरोप लागेको छ।
यसबारेमा सिआइबीमा समेत उजुरी परेको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) उत्तमराज सुवेदीले जानकारी दिए। उजुरी परेसँगै सिआइबीले अनुसन्धान गरिरहेको हो।
उनका अनुसार यो लिगमाथि अनुसन्धान गर्न सिआइबीका प्रहरी नायब उपरीक्षक (डिएसपी) कै कमान्डमा टोली खटिएको छ। तर अहिलेसम्म यसबारे केही प्रमाण फेला परिनसकेको एआइजी सुवेदीले बताए।
‘उजुरी र सूचना अलिअलि आएको छ। ती सूचनालाई हामीले भेरिफाइ पनि गरिरहेका छौं। तर अहिलेसम्म हामीले केही फेला पारिसकेका छैनौं,’ उनले भने, ‘आफ्नै हिसाबले पनि सर्भिलेन्स गरिरहेका छौं।’
उनले आफूहरू बेटिङको विषयमा भने नेपालमा नहोस् भन्ने हिसाबले अगाडि बढेको बताए।
नेपाल टी-२० लिग आयोजना गर्न नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको छ।
वान एक्स ब्याट लिगको प्रायोजक छ। जुन बेटिङ कम्पनी वान एक्स बेटको सहायक कम्पनी हो।
यसले गर्दा यो लिगको फिक्सिङ र बेटिङ भइरहेकोमा थप आशंका छ।
यस्ता कम्पनी प्रायोजक भएकोबारे भने क्यान नै जवाफदेही हुनुपर्ने एआइजी सुवेदीले बताए।
‘क्यान आफैं पनि आधिकारिक निकाय हो। क्यानले पनि बदमासी गरेको भएमा कारबाही हुन्छ। तर हामीले उसलाई विश्वास गरी अगाडि बढ्ने हो,’ उनले भने, ‘भोलि क्यानमाथि नै छानविन गर्नुपर्ने अवस्था आयो भने त्यो अलग कुरा भइहाल्यो। हामीलाई अनुसन्धान गर्नुपर्ने गरी कहीँ कतैबाट आयो भने अनुसन्धान गर्छौं नै।’
उनले थपे, ‘टेक्नोलोजी पनि धेरै अगाडि गइसकेको हुँदा पनि हो। हाम्रो माटोमा यस्तो काम नहोस्, हाम्रा मान्छे प्रयोग नगरोस् भन्ने हिसाबले अगाडि बढेका छौं। भारत, पाकिस्तानमा आफू खुसी गर्छन् भने उनीहरूको कुरा भयो।’
तर अहिले नै अनुसन्धान गर्न पनि प्रमाणहरू फेला नपरेको उनको भनाइ छ। बदमासी देखियो भने क्यानका संलग्न व्यक्तिहरू पनि कारबाहीमा पर्ने उनले बताए।
प्रहरीले सम्झौताबारे, यसका सिस्टमका विवरण, केहीसँग सोधपुछ समेत गरी प्रारम्भीक चरणको अनुसन्धान थालेको उनले बताए।
यसो त फिक्सिङकै आशंकामा कमेन्टेटर सचिन तिमल्सेनाले पनि यो लिग छाडेका छन्। १० दिन कमेन्ट्री गरिसकेका उनले सामाजिक सञ्जालमा एक भिडिओ पोष्ट गर्दै लिग छाडेको जानकारी दिएका हुन्।
तिमल्सेनाले पनि दोस्रो चरणको खेल चलिरहँदा लिग फिक्सरको हातमा गएको दाबी गरेका छन्।
जारी टी-२० लिगमा ६ टिमको सहभागिता छ। लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स, काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपरकिंग्स र फार वेस्ट युनाइटेडले भाग लिएको लिगमा अहिले दोस्रो चरणका खेल भइरहेका छन्।
‘कतिपय घटना गर्दा यो लिग विवादित मात्र होइन, क्रिकेटलाई गलत तरिकाले प्रयोग गरेर फिक्सिङ गराउने क्रियाकलाप मैले देखेँ,’ उनले भनेका छन्, ‘आजकाल म्याच फिक्सिङ हुँदैन स्पट फिक्सिङ हुन्छ। नतिजामा असर गर्दैन। तर खेलको दौरानमा केही त्यस्तो काम हुनेछ, जुन तपाईंलाई पहिले नै गर्न भनिएको हुन्छ।’
ठूला खेलहरूमा स्पट फिक्सिङ पनि गर्ने गरेको एआइजी सुवेदीले बताए।
‘कतिसम्म हुने रहेछ भने लाइभ टेलिकास्ट ५ सेकेन्ड भित्र हुनुपर्छ। रियल टाइममा भइरहेको गेम र टेलिकास्टको टाइम ५ सेकेन्ड बढी हुनुहुँदैन भन्ने रहेछन्,’ उनले भने, ‘यस्तो भयो भने धेरै चलखेल हुन्छ भन्ने सम्म सुनेको हो। हाम्रैमा यस्तो गरिएको त नहोला तर ठूला गेमहरूमा यस्तो गरिन्छ भन्ने थाहा पाएँ।’
फिक्सिङका लागि कतिपय खेलाडी प्रयोग गरिएको कमेन्टेटर तिमेल्सेनाको दाबी छ।
‘केही टिममा खासै नाम नचलेका विदेशी खेलाडीलाई कप्तानी गराएको देखेँ। त्यो नै सुरूमा अचम्म लाग्दो कुरा थियो,’ उनको भनाइ छ, ‘सिकन्दर राजाजस्ता खेलाडीलाई खेल्दाखेल्दै पनि ड्रप गर्नु तथा बलिङ धार नभएका खेलाडीलाई बलिङ गर्न लगाउने, सोमपाललाई बलिङ नदिएर खासै प्रभाव नभएको बलरलाई रन खानका लागि बलिङ गर्न दिइएको थियो।’
उनले नेपाली खेलाडीलाई समेत फिक्सिङमा प्रयोग गरिएको दाबी गरेका छन्।
‘सबैभन्दा पीडादायी क्षण के रह्यो भने एक जना नेपाली राष्ट्रिय टिमबाट खेलिसकेको अलराउन्डर छन्, उनले नो बल फाले। त्यति लामो नो बल व्यवासायिक क्रिकेटरले गर्नै सक्दैन,’ उनले भनेका छन्।
फिक्सिङको आशंका गर्दै लिगका लागि खटिएका एन्टी करप्सन युनिटका व्यक्तिलाई उजुरी गरेको पनि उनको भनाइ छ।
‘लिगमा हदैसम्मको बदनियत देखिन्छ। मैले भएभरको सबैसँग कुरा गरे। नेपाल टी-२० फिक्सरको हातमा गएको छ। यसले नेपाली क्रिकेटलाई बिगार्छ। कमन्ट्री गर्दा मैले हरेक बल नियालेर हेरेकाले यस्तो भनिरहेको छु,’ उनको भनाइ छ।
फिक्सिङसहित अरु खराब क्रियाकलापको निगराीनका लागि नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) प्रतिनिधिको रूपमा वीर सिंहलाई एन्टी करप्सन युनिटको प्रमुख बनाएको छ।
तर उनी आइसिसीको एन्टी करप्सन युनिटबाट रिटायर्ड भइसकेको पाइए पनि क्यानले आइसिसीसँगकै समन्वयमा उनलाई लिखित रुपमा नियुक्त गरेको बताएको छ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लिगमा खेलमा फिक्सिङसहितका अन्य गतिविधि भएमा एन्टी करप्सन युनिटमा खबर गर्न सकिने बताउँदै आएका छन्। फिक्सिङको बारेमा पटकपटक कुरा उठ्दा अध्यक्ष चन्दले एन्टी करप्सन युनिटमा जानकारी गर्न सकिने र दोषी पाए कारबाही गरिने बताएका छन्।
सम्बन्धित समाचारहरू :
फिक्सिङको आशंका गर्दै कमेन्टेटरले छाडे नेपाल टी-२० लिग (भिडिओ)
खेलाडीले पारिश्रमिक नपाएपछि नेपाल टी-२० लिगका खेलमै असर
नेपाल टी-२० लिग : पारिश्रमिक नपाउँदै फर्किए सिकन्दर राजा