अष्ट्रेलियामा जारी बिग ब्यास लिगको तेस्रो सिजन होबार्टबाट पहिलो खेलमै नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन्।
लामो समयपछि मैदानमा उत्रिएका लामिछाने केही महँगो साबित भए पनि आफ्नो पुरानो टिम मेलबर्न स्टार्सविरूद्ध शनिबार महत्वपूर्ण दुई विकेट हात पारे। उनले ३८ रन खर्चिएर पुरानो टिमविरूद्ध दुई विकेट लिएका थिए।
कोरोनाको कारण अस्ट्रेलियन घरेलु क्रिकेट लिग बिग बासको प्रारम्भमा अस्ट्रेलिया आउन नपाएका स्पिनर लामिछाने क्वारेन्टाइनमुक्त भएपछि शनिबार घरेलु मैदानमा पहिलो खेल खेलेका हुन्।
लामिछानेको टिम होबार्ट हरिकेन्स मेलवर्न स्टार्सलाई २१ रनले हराउँदै दोस्रो स्थानमा उक्लियो।
होबार्टले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा मेलबर्नले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो।
मेलबर्नको लागि कप्तान ग्लेन म्याक्सवेलले ३७ बलमा ७० रन बनाए पनि टिमलाई जिताउन सकेनन्। होबार्टको बलिङमा स्कट बोल्यान्डले ३ तथा नाथन इलियस र सन्दिप लामिछानेले समान २-२ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको होबार्टले २० ओभरमा ५ विकेट गुमाए १६४ रन बनाएको थियो। उसको लागि दवीड मलानले सर्वाधिक ७५ रन बनाएका थिए।
यस्तो रह्यो सन्दिपको प्रदर्शन
पहिलो ओभर : ११ रन खर्चेर १ विकेट (१, ४, १, विकेट, १, ४)
इनिङको छैठौं ओभरमा बलिङ गर्न आएका सन्दिपलाई ओभरको दोस्रो बलमा ग्लेन म्याक्सवेलले चौका प्रहार गरे। त्यसपछि उत्कृष्ट कम्ब्याक गरेका सन्दीपले चौथो बलमा हिल्टन कार्टराइटलाई गुगली गर्दै बोल्ड गरे। छैठौं बलमा म्याक्सवेलले पुनः सन्दिपलाई चौका हिर्काए।
दोस्रो ओभर : ८ रन ( ० , ० , ० , १ ,१ , ६ )
लगत्तै आठौं ओभरमा स्पेलको दोस्रो ओभर गरेका सन्दिपले उत्कृष्ट सुरुवात गर्दै म्याक्सवेललाई बाँधेर राखे। म्याक्सवेलले पहिलो ३ बलमा रन बनाउन सकेनन् र चौथो बलमा १ रन लिए। पाँचौ बलमा निकोलस पुरनले पुनः म्याक्सवेललाई स्ट्राइक दिए। ओभरको अन्तिम बलमा म्याक्सवेलले सन्दिपलाई डिप एक्स्ट्रा कभरको माथि छक्का हिर्काए।
तेस्रो ओभर : ९ रन (१ , ०, ६, १ लेगबाई, १, ०)
१२ औं ओभरमा तेस्रो ओभर बलिङ गर्ने क्रममा सन्दिपलाई तेस्रो बलमा निकोलस पुरनले एक्स्ट्रा कभरमा छक्का हिर्काए। त्यसबाहेक पुरन र म्याक्सवेलले सन्दिपको बल जमेर खेल्न सकेनन्।
चौथो ओभर – ११ रन खर्चेर १ विकेट (० , वाइड, वाइड, १, विकेट, १, ३, ४)
१५ औं ओभरमा स्पेल पुरा गर्न आएका सन्दिपले सुरुवात राम्रो भएन र २ वटा वाइड बल फाले। ओभरको तेस्रो बलमा उनले बेन डंकलाई क्याच आउट गराए। गुगली बलमा कट खेल्ने क्रममा उनी विकेट पछाडि समातिन पुगेका थिए। सन्दिपको यो महत्वपूर्ण समयमा विकेट रह्यो। ओभरको अन्तिम बलमा मिस फिल्ड हुँदा सन्दिपले चौका खान पुगे।
सन्दिप बिग ब्यास खेल्न मंसिर ३० गते अष्ट्रेलिया प्रस्थान गरेका थिए। तर बिग ब्यास भने डिसेम्बर १० (मंसिर २५) बाट सुरु भएको थियो। त्यसपछि १४ दिने क्वारेन्टाइनमा बसेका कारण उनले सुरुवाती ६ खेल गुमाएका थिए।
जनवरी १ मा आफ्नो क्वारेन्टाइन सकाएर सन्दिप होबार्ट टिमसँग जोडिएका थिए। लगत्तै उनि पहिलो खेलको लागि टिमको स्क्वाडमा परेका हुन्।
यसअघि सन्दिपले पछिल्लो २ सिजनमा मेलबर्न स्टार्सको प्रतिनिधित्व गरेका थिए। बिग ब्यास अन्तर्गत उनले यस अघि २० खेलमा १६.३ को स्ट्राइक रेटमा २६ विकेट लिएका छन्। पछिल्लो २ संस्करणमा उनले किफायती बलिंग गर्दै आफूलाई विकेट टेकर स्पिनरको रुपमा उभ्याएका छन्।