सनराइजर्स हैदरावादसँग ५ रनले पराजित हुँदै रोयल च्यालेन्जर्स बैंलोर इन्डियन प्रिमियर लिग (आइपिएल) मा प्ले अफ पुग्ने सम्भावना लगभग समाप्त पारेको छ।
१ सय ४७ रनको विजय लक्ष्य पछ्याएको बैंगलोरले ६ विकेटको क्षतिमा १ सय ४१ रन मात्र बनाउन सक्यो।
अन्तिम बलमा जितका लागि ६ रनको आवश्यकता रहेको अवस्थामा भुवनेश्वर कुमारले कोलिन डी ग्रान्डहोमेको विकेट लिएपछि हैदरावाद विजयी भएको थियो ।
बैंलोरका लागि कप्तान विराट कोहलीले ३९, ग्रान्डहोमले ३३, मन्दीप सिंहले अविजित २१, पार्थिव पटेलले २० र माइन अलिले १० रन जोडे पनि टिमलाई जिताउन सकेनन्।
हैदराबादका सकिब अल हसनले २, सन्दीप शर्मा, भुवनेश्वरकुमार, सिद्धार्थ काउल र रासिद खानले समान १-१ विकेट लिएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो।
उसका लागि काने विलियम्सनको अर्धशतक प्रहार गरेका थिए। ३९ बल खेलेका विलियम्सनले ५ चौका र २ छक्कासहित ५६ रन बनाए । सकिबले ३२ बलमा ५ चौकासहित ३५ रन जोडे। ओपनर शिखर धवनले १३ र युसुफ पठानले १२ रन बटुले। बाँकी कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्।
बैंगलोरका लागि टिम साउथी, मोहम्मद सिराजले समान ३-३ तथा उमेश यादव र युजभेन्द्र चाहलले समान १-१ विकेट लिएका थिए।
यो जितसँगै १० खेलबाट ८ खेल जितेको हैदरावाद १६ अंकसहित शीर्ष स्थानमा कायमै छ। यस्तै समान खेलबाट तीन खेल जितेको बैंलोर समूहको ६ अंकसहित छैठौं स्थानमा छ।
आइपिएलमा मंगलबार राजस्थान रोयल र किङ्स ११ पञ्जाब भिड्नेछन्। तालिकामा पञ्जाब १२ अंकसहित तेस्रो स्थानमा छ भने राजस्थान रोयल ६ अंकसहित तालिकाको पुछारमा छ।