पहिलोपटक एसीसी अन्डर नाइन्टिन एशिया कपको सेमिफाइनलमा पुगेको नेपालले फाइनल प्रवेशका लागि चिरप्रतिद्धन्द्धी अफगानिस्तानको सामना गर्ने भएको छ।
मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर नेपालले पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ।
https://www.facebook.com/setopati/videos/1657634594307107/
खेलमा नेपालले अफगानिस्तानलाई ६ वर्षपछि पराजित गर्ने लक्ष्यसहित खेल्नेछ।
समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक युथ एशिया कपको सेमिफाइनलमा पुगेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिने भएको छ।
समूह चरणको खेलमा नेपालले डिफेन्डिङ च्याम्पियन भारतलाई १९ रन र मलेसियालाई आठ विकेटले हराएको थियो।
उच्च फर्ममा रहेको नेपाली टिम अफगानिस्तानलाई हराउने रणनीतिका साथ मैदानमा उत्रिनेछ।
एसिया कप अन्तर्गत शुक्रबार हुने अफगानिस्तान विरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको प्रशिक्षक विनोद दासले बताएका छन्।
पछिल्लो पटक गत जुलाईमा सिंगापुरमा भएको विश्वकप छनोटमा नेपालले अफगानिस्तान विरुद्ध भोगेको दुबै हारको बदला लिनसमेत नेपाललाई भोलिको खेल जित्नैपर्ने हुन्छ।
पछिल्लोपटक अफगानिस्तानको टोली राम्रो लयमा देखिएको भन्दै प्रशिक्षक दासले हाम्रो टोली पनि ब्याटिङ, बलिङ र फिल्डिङ तिनैमा बलियो भएकोले अफगानिस्तनलाई रोक्न तयार रहेको बताए।
अफगानिस्तानसँगको खेल प्रतिस्पर्धात्मक हुने भन्दै दासले हाम्रो रणनीति अनुसार खेल भयो भने अफगानिस्तानलाई हराउन सक्ने बताए।
‘सबै खेलाडीलाई व्यक्तिगत रूपमा आफ्नो जिम्मेवारी थाहा छ,’ उनले भने, ‘उनीहरुले त्यसैअनुरुप खेल्ने भएकाले हामीले कुनै दबाव महसुस गरेका छैनौ, सबैले खुलेर आफ्नो खेल खेल्नेछन्।’
समूह बीको विजेताका रुपमा अन्तिम चारमा पुगेको अफगानिस्तानले समूह चरणमा श्रीलंकासँग पराजित भए पनि पाकिस्तान र युएईलाई हराउँदै सेमिफाइनलमा आएको हो।
पहिलो खेलमा पाकिस्तानलाई ५७ रनमा अलआउट गर्दै अफगानिस्तानले उत्कृष्ट बलिङको नमुना प्रस्तुत गरेको थियो। युएईविरुद्ध अफगानिस्तानले २० ओभरमा घटाइएको खेलमा २ सय २४ रन जोड्दै ब्याटिङमा आफ्नो क्षमता देखाइसकेको छ।
नेपाल र अफगानिस्तानका युवा टिम अहिलेसम्म ९ पटक आमनेसामने भएका छन्। ९ मध्ये अफगानिस्तानले ६ खेल जितेको छ। बाँकी ३ खेल मात्र नेपालले जितेको छ। नेपालले पछिल्लो पटक सन् २०११ मा अफगानिस्तानलाई पराजित गरेको थियो। त्यसयता खेलिएका कुनै पनि खेलमा नेपाली युवा टिम पराजित हुँदै आएको छ।
एसीसी अन्डर नाइन्टिन एलिट कप अन्तर्त २००७ मा भएको खेलमा नेपाल ४८ रनले विजयी भएको थियो भने २००९ मा नेपालले ६ विकेटले अफगानिस्तानलाई हराएको थियो। यही प्रतियोगिता अन्तर्गत २०११ मा नेपालले अफगानिस्तानलाई समूह चरणमा ६ विकेटल हराउँदा फाइनलमा भने ६१ रनले पराजित भएको थियो।
यस्तै एसीसी अन्डर नाइन्टिन प्रिमियर लिगमा नेपाल र अफगानिस्तान दुई पटक खेल्दा दुबै पटक अफगानिस्तान विजयी भएको छ ।
२०१४ मा भएको खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो भने २०१५ मा १० विकेटको भारी अन्तरले हार्न पुगेको थियो।
आइसीसी अन्डर नाइन्टिन विश्वकप छनोट अन्तर्गत २०११ मा नेपालले अफगानि टिममाथि ४२ रनको जित निकाल्दा २०१७ मा खेलिएका दुबै खेलमा हारेको थियो।
यसपटक भने विगतको भन्दा राम्रो लयमा देखिएको नेपाल र अफगानिस्तान विचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
यसअघि बिहिबार भएको पहिलो सेमिफाइनलम बंगालदेशलाई २ रनले हराउँदै पाकिस्तान तेस्रो पटक फाइनलमा प्रवेश गरेको छ। पहिलो संस्करणमा भारतसँग संयुक्त विजेता भएको पाकिस्तान दोस्रो संस्करणमा भारतसँगै पराजित भएको थियो। तेस्रो संस्करणमा भने सेमिफाइनलबाटै घर फर्किएको थियो।
प्रतियोगितामा पहिलो जित निकाल्न पाकिस्तानले आइतबार नेपाल र अफगानिस्तानको विजेतासँग खेल्नुपर्नेछ।
यस्तो छ अहिलेसम्मको आँकडाहेड टु हेड : नेपाल भर्सेस अफगानिस्तान
एसीसी यू-१९ एलिट कप२००७ : नेपाल ४८ रनले विजयी२००९ : नेपाल ६ विकेटले पराजित
२०११ : नेपाल ६ विकेटले विजयी समूह चरण२०११ : नेपाल ६१ रनले पराजित फाइनल
आइसीसी यू-१९ वर्ल्ड कप क्वालिफायर२०११ : नेपाल ४२ रनले विजयी२०१७ : नेपाल १४२ रनले पराजित पहिलो लिग
२०१७ : नेपाल ९६ रनले पराजित दोस्रो लिग
एसीसी यू-१९ प्रिमियर लिग२०१४ : अफगानिस्तान ५ विकेटले विजयी
२०१५ : अफगानिस्तान १० विकेटले विजयी