बंगालदेशलाई हराउँदै पाकिस्तान मलेसियामा जारी यु १९ एसिया कपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार किनरारा ओभलमा भएको खेलमा वर्षाले खेल रोकिँदा बंगलादेशलाई २ रनको झिनो अन्तरको पन्छाउँदै पाकिस्तान उपाधि नजिक पुगेको हो।
टस जितेर २ सय ७५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३९ ओभरमा ५ विकेट गुमाउँदै १९९ रन बनाएर खेलिरहँदा वर्षाले खेल अवरुद्ध भएको थियो।
केहीबेरसम्म वर्षा जारी रहेपछि 'डिएल मेथड'का आधारमा पाकिस्तानलाई २ रनले विजयी घोषणा गरिएको हो।
पाकिस्तानाका लागि मोहमद ताहाले ९७ बल खेल्दै ९२ रनको योगदान दिए। साद खानले नटआउट ३५ रन जोडे भने रोहाल नाजिरले २६ रनको योगदान दिए। बलिङतर्फ बंगलादेशका क्वाजी इस्लामले २ विकेट लिए तथा आफिद हसन र मोहम्मद साक्वात हसनले १-१ विकेट लिए।
यसअघि पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरको खेलमा ६ विकेटको क्षतिमा २ सय ७४ रन बनाएको थियो। उसका लागि पिनाक घोषले सर्वाधिक ८२, सइफ हुसेनले ६१ र अफिफ हुसेनले नटआउट ५२ रन जोडेका थिए। बलिङतर्फ पाकिस्तानका मुनिर रियाजले ३ विकेट लिएका थिए।
पाकिस्तानले उपाधिका लागि आइतबार नेपाल वा अफगानिस्तानमध्ये एक सँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र अफगानिस्तानबीचको हुने दोस्रो सेमिफाइनल खेल भोलि किनरारा मैदानमा हुनेछ।