एघारौं दक्षिण एसियाली खेलकुद (साग) सन् २००९ नोभेम्बरमा बंगलादेशमा आयोजना गरिने निर्णय गरिएको थियो। तर आम निर्वाचनका कारण बंगलादेशले निर्धारित मितिमा साग आयोजना गर्न सकेन।
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले २०१० जनवरीलाई सागको नयाँ मिति तय गर्यो।
ढाकामा आयोजना भएको सागमा २३ खेलमा प्रतिस्पर्धा भएको थियो। यो साग नेपालका लागि भने खराब सागका रुपमा दर्ज भयो।
उद्घाटनको अघिल्लो दिन नेपाली जुडो खेलाडी बसेको इम्पेरियल होटलमा लिफ्ट खस्दा नौ खेलाडी र एक पदाधिकारी घाइते भएका थिए। घाइते हुनेमा जुडो खेलाडी देवु थापा र राधादेवी राई थिए। यसैगरी भारोत्तोलनका ज्ञानबहादुर श्रेष्ठ र गोपालबहादुर श्रेष्ठ पनि दुर्घटनामा परेका थिए।
दुर्घटनामा पर्ने अन्य जुडो खेलाडीमा कुलमान तामाङ, पुरशुराम चौधरी, दीपककृष्ण श्रेष्ठ र रमेश मगर पनि थिए। घाइते हुँदा पनि प्रतिस्पर्धा गरेकी देवुले कास्य पदक जितेकी थिइन्।
कबड्डी संघका तत्कालिन अध्यक्ष सुनिल राजकर्णिकार र प्रशिक्षकबीच खेलस्थलमै चर्काचर्की परेको घटना नेपाली खेलकुदका लागि लज्जाको विषयमा बन्यो। अफिसियलले मैदानमै झगडा गर्दा खेलाडीलाई प्रत्यक्ष मनोबैज्ञानिक असर गरेको थियो।
राजकर्णिकारले अनावश्यक विवाद निम्त्याएको भनी खेलाडीले समेत आरोप लगाएका थिए। कबड्डीबाट विमल पोखरेल र रामनारायण राय प्रशिक्षकको रुपमा ढाका पुगेका थिए।
राष्ट्रिय खेलकुदबाट सिफारिस विमललाई राजकर्णिकारले नेपाल ओलम्पिक कमिटीको आडमा हटाएपछि विवादले उग्ररुप लिएको थियो।
नेपाल र माल्दिभ्सबीचको फुटबल खेल पनि विवादित बनेको थियो। नेपाल १–० गोलले पराजित हुँदै लिग चरणबाट बाहिरिनु अघि रेफ्रीको निर्णयको नेपालले चर्को विरोध गरेको थियो।
ढाकाको बंगबन्धु रंगशालामा रेफ्रीले विवादास्पद पेनाल्टी दिँदा खेल दुई पटक अबरुद्ध बनेको थियो। यति मात्र होइन खेल सकिएपछि पनि तनाव बढ्दा हात हालाहालको स्थिति बनेको थियो। पहिलो हाफमा रेफ्रीले पेनाल्टी दिँदा खेल ६ मिनेट रोकिएको थियो।
यो विवादमा एन्फाका तत्कालिन अध्यक्ष गणेश थापा समेत सामेल भएका थिए। खेलको अन्त्यमा नेपालका फरवार्ड जुमानु राईले लाइन्सम्यानसँग हात मिलाउन खोज्दा अर्को तनाव भएको थियो। लाइन्सम्यानले झन्डाले राईको पेटमा घोचिदिएका थिए। जसका कारण मैदान झन्डै रणभूमीमा परिणत भएको थियो।
ढाका सागमा ब्याडमिन्टन खेलको उद्घाटन समारोहमा नेपालको पुरानै राष्ट्रिय धुन बजेको थियो। यस्तै साग भिलेजमा पनि पुरानै 'श्रीमान् गम्भीर नेपाली' बजाइएको थियो।
यस्तै आयोजकले नेपालको राष्ट्रिय झण्डा पनि गलत आकारको राखेका थिए। नेपालको झण्डा फर्फराउने क्रममा चारकुने कपडामा प्रिन्ट गरेको झण्डा फर्फराइएपछि नेपाली खेलाडीहरुले आपत्ति जनाएका थिए। त्यसपछि झण्डा फेरिएको थियो।
राष्ट्रिय गान र झन्डा गलत प्रयोग गरेपछि आयोजकले माफी नै माग्नु परेको थियो।
नेपालका राजेन्द्र भण्डारीले म्याराथनमा स्वर्ण जिते पनि विवादबाट मुक्त हुन सकेन। राजेन्द्रले विश्वकीर्तिमानी समयमा म्याराथन दौड पूरा गरे पनि आयोजक कमिटीको गल्तीका कारण उनको समयले आधिकारिकता पाएन।
४२ किलोमिटरको म्याराथन ३५.१९५ किलोमिटर खेलाउँदा विवाद उत्पन्न भएको थियो। जसका कारण राजेन्द्रले विश्वकीर्तिमानी समयमा दौड पूरा गरेका थिए।
विवादले घेरिएको सागमा नेपाल आठ स्वर्ण जितेर पाँचौ भएको थियो। नेपालका लागि दीपक विष्ट (तेक्वान्दो), आयशा शाक्य (तेक्वान्दो), विनिता महर्जन (उसु), आङबाबु लामा (उसु), सुनिल लामा (कराते), गंगा अधिकारी (कराते), विनोद शाक्य (कराते) र राजेन्द्र भण्डारी (म्याराथन) ले स्वर्ण पदक पारेका थिए।
तेक्वान्दोका दिपक विष्ट लगातार चार संस्करणमा स्वर्ण पदक जितेर सागका दक्षिण एसियाकै एकमात्र खेलाडी बन्न सफल भए।
त्यसअघि दिपकले श्रीलंकामा भएको दशौं सागमा लगातार तेस्रो स्वर्ण जित्दा बैकुण्ठ मानन्धरको नाममा रहेको कीर्तिमान बराबर गर्न सफल भएका थिए।
यो सागमा पनि भारतले आफ्नो बर्चश्व कायम राख्ने क्रममा ९० स्वर्ण जित्यो। दोस्रो बनेको पाकिस्तानले १९ र तेस्रो भएको आयोजक बंगलादेशले १८ स्वर्ण पदक हात परे।
श्रीलंकाले १६ स्वर्ण जितेर चौथो र ८ स्वर्ण जितेको नेपाल पाँचौ बन्यो। अफगानिस्तानले पनि ७ स्वर्ण जित्न सफल भयो। भुटान र माल्दिभ्स भने फेरि पनि स्वर्णबिहिन बने।
यी पनि पढ्नुहोस् :-
हिंसाको चपेटाबीच दक्षिण एसियाली खेलकुद (श्रृंखला- ३)
नेपाल खेलकुदको इज्जत धानेका कराते र तेक्वान्दो (श्रृंखला- २)
यसरी सुरू भएको थियो दक्षिण एसियाली खेलकुद (श्रृंखला- १)