सन् १९९९ मा नेपालले आठौं दक्षिण एसियाली खेलकुद सफल आयोजना गरेपछि नवौ संस्करणको प्रतियोगिता आयोजनाको जिम्मा पाकिस्तानलाई दिइएको थियो।
२००१ मा पाकिस्तानको इस्लामावादमा तय गरिएको प्रतियोगिता अमेरिकामा आतंकवादी हमलापछि स्थगित भयो। ट्विनटावर ध्वस्त पारिएपछि अमेरिकाले अफगानिस्तानमा आक्रमण गर्यो। त्यसको असर पाकिस्तानमा पर्दा प्रतियोगिता सारिएको थियो।
त्यसपछि सन् २००३ मार्च २९ देखि अप्रिल ६ का लागि नवौं साफको मिति घोषणा गरियो। तर भारत र भुटानले भाग लिन अस्वीकार गरे। त्यतिबेला अमेरिका र इराकबीच युद्ध भइरहेको थियो। जसको असर पाकिस्तानमा पनि पर्न सक्ने भन्दै भारत र भुटानले खेल्न अस्वीकार गरेका थिए।
त्यसपछि श्रीलंकालाई २००५ मा प्रतियोगिता गर्न प्रस्ताव गरिएको थियो। तर फेरि २००४ को मार्च २८ देखि अप्रिल ६ सम्म पाकिस्तानमा आयोजना गर्ने तय भयो। यसपटक भने भारत र भुटान प्रतियोगिता खेल्न तयार भए। तर माल्दिभ्सले भाग लिएन। यहि संस्करणमा अफगानिस्तानलाई आमन्त्रितका रुपमा सहभागी गराइएको थियो।
इस्लामावादमा भएको नवौं साफमा १५ वटा खेलमा प्रतिस्पर्धा भएको थियो। जहाँ भारतले आफ्नो बर्चश्व कायम राख्ने क्रममा १०३ स्वर्ण जितेको थियो। दोस्रो भएको पाकिस्तानले ३८ स्वर्ण र तेस्रो भएको श्रीलंकाले १७ स्वर्ण जितेका थिए। अघिल्लो साफमा ३१ स्वर्ण जितेको नेपालले पाकिस्तानमा ७ स्वर्णमै चित्त बुझाउनु पर्यो।
नेपालका लागि करातेबाट दीपक श्रेष्ठले स्वर्ण जितेका थियो। बाँकी ६ स्वर्ण तेक्वान्दोबाट आएको थियो। तेक्वान्दोका दीपक विष्ट, निरञ्जन श्रेष्ठ, निर्मल श्रेष्ठ, रेनुका रानामगर, रुपा साङ्दम र संगिना बैद्यले स्वर्ण हात पारेका थिए।
बंगलादेशले ३ स्वर्ण जितेको थियो भने पहिलो सहभागितामै अफगानिस्तानले १ स्वर्ण हात पारेको थियो। भुटानले पनि १ स्वर्ण जितेको थियो।
सन् २००४ मै पाकिस्तानमा बसेको दक्षिण एसियाली स्पोर्ट्स काउन्सिलको बैठकले साफको सट्टामा दक्षिण एसियाली खेलकुद (साग) को नाममा प्रतियोगिता गर्ने निर्णय गरेको थियो।
श्रीलंकामा २००५ का लागि तय दशौं साग पनि समयमै हुन सकेन। इन्डोनेशियन सुनामीले श्रीलंकमा पनि असर गर्दा दशौं साग एक वर्ष धकेलिएको थियो।
सन् २००६ अगस्टमा कोलम्बोमा भएको दशौं साग हिंसाको त्रासबाट भने मुक्त हुन सकेन।
श्रीलंकामा चलिरहेको गृहयुद्धका कारण साग कडा सुरक्षाका बीच भएको थियो। सरकार र विद्रोही लिट्टेबीच चर्किएको युद्धका कारण भारतले सुरक्षाको विषयमा निरन्तर प्रश्न गरेको थियो।
२० खेलमा प्रतिस्पर्धा भएको यो सागको पदक तालिकामा पनि भारत नै अग्रपंक्तिमा रह्यो। भारतले सर्वाधिक ११८ स्वर्ण जितेको थियो। पाकिस्तान ४६ स्वर्णका साथ दोस्रो हुँदा आयोजक श्रीलंकाले ३७ स्वर्ण पदक हात पार्यो।
नेपालले १० स्वर्ण जितेको थियो। नेपालका लागि राजेन्द्र भण्डारीले २ स्वर्ण जितेका थिए। यसैगरी करातेबाट कुशल श्रेष्ठ र सुलोचना सिजवाखाले स्वर्ण हात पारका थिए। तेक्वान्दोका दीपक विष्ट लगातार तीन स्वर्ण जित्न सफल भएका थिए। जससँगै दीपकले लगातार तीन स्वर्ण जित्ने बैकुण्ठ मानन्धरको कीर्तिमानसँग बराबरी गरेका थिए।
तेक्वान्दोका लागि मनिता शाहीले स्वर्ण पदक हात पारेकी थिइन्। भारोत्तोलनका कमलबहादुर अधिकारीले नेपालका लागि ऐतिहासिक स्वर्ण जित्न सफल भएका थिए। यसैगरी उसुकी विना लामा खड्का र राजकुमार रसाइलीले पनि स्वर्ण जितेका थिए।
यी पनि पढ्नुहोस्
नेपाल खेलकुदको इज्जत धानेका कराते र तेक्वान्दो (श्रृखंला- २)
यसरी सुरू भएको थियो दक्षिण एसियाली खेलकुद (श्रृखंला- १)