राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशको पोखरा लगायत ८ जिल्लामा २०७९ असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गरेको नवौं राष्ट्रिय खेलकुद–२०७९ खर्च विवरण सार्वजनिक गरिएको छ।
नवौं राष्ट्रिय खेलकुद–२०७९ का लागि नेपाल सरकारबाट ६० करोड १० लाख र आन्तरिक आम्दानी ५१ लाख गरी कुल ६० करोड ६१ लाख बजेट उपलब्ध भएको थियो। जसमा ५३ करोड ७९ लाख खर्च भएको खेलकुद परिषदको भनाइ छ। कुल बजेटबाट ६ करोड ८२ लाख बचत भएको पनि परिषदले पत्रकार सम्मेलनमार्फत जनाकारी दियो।
प्रतियोगितामा ३४१४ जना पुरुष र २७१३ जना महिला सहित कुल ६१२७ जना खेलाडीले ३९७ स्वर्ण, ३९७ रजत र ५५३ कास्य सहित कुल १३४७ पदका लागि प्रतिष्पर्धा गरेका थिए । एघार टिमको सहभागिता रहेको खेलमा नेपाल आर्मीले प्रथम उपाधि प्राप्त गरेको थियो।
खेलाडी तथा अफिसियलको ड्रेस, यातायात तथा बसोवास, खेल मैदान, खेल समाग्री व्यवस्थापन, कार्यक्रम उद्घाटन तथा समापन, स्वयमसेवक परिचालन, निर्णायक तथा प्रशिक्षक परिचालन जस्ता विभिन्न क्षेत्रमा भएका खर्च भएका थिए।
राष्ट्रिय खेलकुृद परिषदका कर्मचारीहरु खटिएकोले खर्चको हिसाब एकिन गर्न समय लागेको खेलकुद परिषदको भनाइ छ।
भुक्तानीका प्रक्रिया अघि बढाउँदै गर्दा नेपाल सरकारले देशको अर्थ व्यवस्थामा आएको चापलाई ध्यान दिई खर्च कटौतीका लागि सबै क्षेत्रको बजेट रोक्का गर्दा नवौं राष्ट्रिय खेलकुदको बजेट पनि रोकिन गए पछि भुक्तानी प्रक्रिया पूर्णरुपमा प्रभावित भएको खेलकुद परिषदले जनाएको छ।
प्रतियोगिताका लागि शीर्षकगत रुपमा विनियोजन भएको मध्ये कुनै शीर्षकमा अपुग र कुनै शीर्षकमा बाँकी हुन गए पछि अपुग शीर्षकमा रकमान्तरका लागि सम्वन्धित निकायहरु समक्ष अनुरोध गरिएको थियो। रकमान्तरको प्रक्रिया पूरा हुन २०८० साल अषाढ पहिलो हप्ता सम्म लागेको र तत्पश्चात् भुक्तानी हुँदा खर्चको एकिन विवरण तयार गरी सार्वजनिक गर्न समय लागेको सदस्यसचिव टंकलाल घिसिङले बताए।