नवौं राष्ट्रिय खेलकुदमा एथ्लेटिक्स खेलाडी जयरानी थारूले सनसनी मच्चाइन्। बिहीबारसम्ममा २१ वर्षीया आर्मीकी धाविका जयरानीले पाँच स्वर्ण आफ्नो नाममा लेखाउन सफल भइन्। पाँचमध्ये उनले तीन स्पर्धामा राष्ट्रिय रेकर्डसमेत बनाइन्।
चार सय मिटर हर्डल्स, लङजम्प, सय मिटर हर्डल्समा राष्ट्रिय रेकर्डसहित स्वर्ण जित्दा चार गुणा सय मिटर रिले र चार गुणा चार सय मिटर रिलेमा गरी कुल पाँच स्वर्ण जितिन्।
विगत तीन महिनामा जयारानी नेपाली एथ्लेटिक्समा छाएकी खेलाडी हुन्। गत असारमा भएको ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी जयरानी थारू महिलातर्फ उत्कृष्ट खेलाडी बनेकी थिइन्। त्यतिबेला उनले जयरानीले २ कीर्तिमानीसहित ४ स्वर्ण जितेकी थिइन्।
त्यसैले नवौं राष्ट्रिय खेलकुदमा पनि उनी रेकर्डसहित स्वर्ण जित्नमा ढुक्क थिइन्। पहिलो दिन चार मिटर हर्डल्समा स्वर्ण जितेपछि उनको भनाइ थियो, ‘मेरो इभेन्ट्समा प्रतिस्पर्धी नै छैनन्। त्यसैले स्वर्ण जित्नेमा ढुक्क थिए।’
यसअघि बर्दियाकै केशरी चौधरीले हडर्ल्समा उत्कृष्ट प्रदर्शन गर्थिन्। तर उनी चार वर्षअघि खेल जीवन त्यागेर वैदेशिक रोजगारीका लागि दुबई गइन्।
केशरी खेल जीवनबाट बाहिरिएपछि जयरानीलाई ‘नयाँ केशरी’ को रूपमा चिनिन्छिन्। हुन त उनी केशरीलाई आफ्नो प्रेरणा पनि मान्छिन्।
‘दिदी (केशरी) नहुँदा पनि उहाँसँगै कुदेको जस्तो लाग्छ। उहाँ हुँदा मैले जित्न अवसर पाउन सकिन। तर अहिले उहाँको बाटोमा हिँड्दा खुसी लाग्छ,’ उनको भनाइ छ।
उनले २०७२ सालदेखि एथ्लेटिक्स खेल्न थालेकी हुन्। बर्दियाको मधुवन-२ सुन्दरपुरकी जयरानीले सुरूमा राष्ट्रपति रनिङ शिल्ड खेलिन्। आमाले नखेल भन्थिन् र बुबालाई छोरीलाई खेलाडी बनाउने इच्छा थियो। पछि प्रशिक्षक विश्वराज चौधरी र सुत्रिता चौधरीले जयरानीलाई होस्टलमा राखेर खेल्ने व्यवस्था मिलाइदिएका थिए।
उनलाई बर्दियाको गुलरियास्थित जनज्योति बोर्डिङ स्कुलको छात्राबासमा नि:शुल्क बसेर अध्ययन गर्ने सुविधा पाइन्। जसका कारण उनलाई खेलकुदमा लाग्न सहज भयो।
सातौं राष्ट्रिय खेलकुदमा लुम्बिनी प्रदेशबाट सहभागी भएकी थिइन्। त्यतिबेला उनले रिले दौडमा रजत जितिन्। आठौं राष्ट्रिय खेलकुदमा पनि प्रदेशकै टिमबाट प्रतिस्पर्धा गरिन्।
दुबै प्रतियोगितामा विभागीय टिमका खेलाडीलाई टक्कर दिएकी जयरानीलाई पछि आर्मीलाई आफ्नो टिमबाट खेल्ने प्रस्ताव गर्यो। तीन वर्षअघि आर्मीको टिममा आबद्ध भएपछि जयरानीको प्रदर्शनमा झनै निखारता आयो।
त्यसपछि जयरानी राष्ट्रिय प्रतियोगितामा छाउन थालिन्। परिणामस्वरुप जयरानीले पोखरा रंगशालाको ट्र्याकमा उत्कृष्ट प्रदर्शन गर्न सफल भइन्। एथ्लेटिक्सको आकर्षण बनेकी जयरानीको अबको लक्ष्य देशलाई अब अन्तर्राष्ट्रिय पदक दिलाउने छ।