पूर्व नवलपारसीका ११ वर्षीय सरोज थापा यतिबेला नवौं राष्ट्रिय खेलकुदमा भाग लिन पोखरामा छन्।
उनले जिम्नास्टिकको ६ वटा विधामा भाग लिएका छन्। सरोजले गण्डकी प्रदेशको टिममा रहेर जिम्नास्टिक सिक्न थालेको भने एक महिना मात्र भयो।
गण्डकीको टिममा पर्नुअघि उनी घरमै उल्टी-सुल्टी हान्थे। इन्टरनेटमा भिडिओ हेरेर सिकेका उनले घरमै म्याटमा अभ्यास गर्ने गरेका थिए। कलिलो उमेर भए पनि उनी पदक जितेर घर फर्कन आतुर छन्।
पोखरा रंगशाला परिसरको पुरानो ब्याडमिन्टन हलमा प्रतिस्पर्धामा उत्रनुअघि उनले भने, ‘एउटा विधामा पदक जित्छु।’
चन्चले स्वभावका सरोज कक्षा ६ मा पढ्छन्। स्कुलमा जिम्नास्टिक सिक्ने कुनै सामग्री नभएका कारण उनी त्यहाँ तेक्वान्दो खेल्छन्।
खेतीकिसानी गर्ने आफ्नी आमाले खेलमा लाग्न निकै सहयोग गरेको उनको भनाइ छ। बुवा भने वैदेशिक रोजगारीका लागि कतारमा छन्।
छोरा नवौं राष्ट्रिय खेलकुदमा भाग लिन पोखरा आएपछि बुवाले फोन गरेर ‘राम्रोसँग खेलेर आउनू’ भनेका छन्।
जिम्नास्टिकको प्रतिस्पर्धामा सरोज जस्तै कम उमेरका खेलाडीको बाहुल्यता छ। कोही खेलाडी त १० वर्षभन्दा कम उमेरका पनि छन्।
गण्डकी प्रदेशका प्रशिक्षक थमनबहादुर थापाले सरोजजस्तै खेलाडी जम्मा पारेर गण्डकीको टिम तयार गरेका छन्।
१० वर्षदेखि प्रशिक्षण गराइरहेका थापाले पाँच महिनाभित्रमा गण्डकीको टिम तयार परेका हुन्। गण्डकीको टिममा ११ वर्ष उमेर देखि १९ वर्षसम्मका ६ महिला र ६ पुरूष गरी १२ खेलाडी सहभागी छन्।
कम उमेरका खेलाडीले जिम्नास्टिकमा राम्रो प्रदर्शन गर्न सक्ने उनको भनाइ छ।
‘कम उमेरका खेलाडीले जिम्नास्टिकमा राम्रो प्रदर्शन गर्न सक्छन्। पाँच वर्षको उमेरदेखि नै जिम्नास्टिक सुरू गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ,’ उनले भने, ‘कम उमेरकालाई राम्रो प्रशिक्षण दियो भने उनीहरूले नजिता दिन सक्छन्। किनभने उनीहरूको शरीर लचकदार हुन्छ। त्यही कारण गर्दा सानो उमेरका खेलाडीलाई यो खेल राम्रो हुन्छ।’
प्रदेश १ का जिम्नास्टिक प्रशिक्षक अनिल ठाकुर पनि ६ महिला र ६ पुरूष खेलाडी लिएर पोखरा आएका छन्। १३ वर्षदेखि जिम्नास्टिकको प्रशिक्षक रहेका ठाकुर पछिल्ला वर्षमा प्रदेश एकको टिम सम्हालिरहेका छन्।
उनले पनि कलिलो उमेर भएका खेलाडीले सिकाएको कुरा चाँडै सिक्ने र उनीहरूको शरीर लचकदार हुने बताए।
‘जिम्नास्टिकमा उमेरको कुनै बन्देज छैन। अन्तर्राष्ट्रिय स्तरमा पनि सानै उमेरदेखि जिम्नास्टिक खेल्न सुरू गरिन्छ,’ उनले भने, ‘कम उमेरका खेलाडीले सिकाएको कुरा छिटै सिक्छन्। राम्रो प्रशिक्षक भएको अवस्थामा उनीहरूमा सिक्ने जाँगर पनि बढ्छ।’
कम उमेरका खेलाडीलाई राष्ट्रिय खेलकुदमा सहभागी गराउन भने गाह्रो हुने उनको बुझाइ छ। किनभने अभिभावक आफ्ना सन्तानलाई हत्तपत्त प्रतियोगिताका लागि पठाउन नचाहने ठाकुरले बताए।
प्रदेश १ को टिममा मोरङका ९ वर्षीय नितेष ठाकुर पनि छन्। उनले तीन महिनाअघि जिम्नास्टिक सिकेका थिए। चार कक्षामा पढ्ने नितेषले नवौं राष्ट्रिय खेलकुदमा एक विधामा मात्र भाग लिएका छन्।
हेर्नुहोस् भिडिओ :