नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरूष ३ हजार मिटर स्टिपल चेजको प्रतिस्पर्धा सुरू हुनुअघि विभागीय टिमले विरोध जनाएका थिए। भारतीय सेनामा कार्यरत दुर्गाबहादुर बुढाले दौडमा भाग लिन नपाउने भन्दै उनीहरूले उजुरी दिएका थिए।
जुम्लाका दुर्गाबहादुर २०६५ सालको पाँचौ राष्ट्रिय खेलकुददेखि नेपाली एथ्लेटिक्समा प्रवेश गरेका खेलाडी हुन्। रोजगारीको सिलसिलामा भारतीय सेनामा भर्ना भएका उनले तीन वर्षअघि भएको आठौं राष्ट्रिय खेलकुदमा भाग लिएका तीन एभेन्टमध्ये एकमा स्वर्ण र दुईमा रजत जितेका थिए। उनले पाँच हजार मिटर दौडमा स्वर्ण जित्दा म्याराथन र १० हजार मिटर दौडमा रजत जितेका थिए।
यसपटक पनि कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय खेलकुदमा भाग लिएका दुर्गाबहादुर विभागीय टिमका लागि मुख्य प्रतिस्पर्धी थिए। दुई दिनअघि पोखरा रंगशालाको ट्र्याकमा भेटिएका कर्णालीका एथ्लेटिक्स प्रशिक्षक हरिबहादुर रोकाया पनि दुर्गाबहादुरले ३ हजार मिटर स्टिपल चेजमा दुर्गाबहादुरले स्वर्ण जित्नेमा आत्मविश्वासी देखिएका थिए।
भारतीय सेनामा कार्यरत रहँदा दुर्गाबहादुरले एथ्लेटिक्स खेलमा पनि प्रशिक्षण गर्ने अवसर पाए। त्यहाँ अब्बल ठहरिएपछि दुर्गाबहादुरले भारतीय टिमको प्रतिनिधित्व गर्दै एसियन च्याम्पियनसिप समेत खेले। जसका कारण विश्व एथ्लेटिक्सको बेवसाइटमा उनी भारतीय खेलाडीको रूपमा दर्ता छन्। भारतीय खेलाडीको रूपमा दर्ता भएका अर्को कारण देखाउँदै दुर्गाबहादुरले नवौंमा खेल्न नपाउने विभागीय टिमको अर्को तर्क थियो।
विरोधका बावजुद् दुर्गाबहादुर सोमबार बिहान पोखराको ट्र्याकमा प्रतिस्पर्धा उत्रिए। प्रतिस्पर्धी एपिएफका अजित यादवलाई सहज रूपमा पछि पार्दै दुर्गाबहादुरले कीर्तिमानसहित स्वर्ण जिते।
दुर्गाबहादुरले ८ मिनेट ५५.१९ सेकेन्डमा दौड पूरा गरे। रजत पदक जितेका एपिएफका अजितले ९ मिनेट २१.१० सेकेन्डमा निर्धारित दूरी पार गरे।
नेपाली सेनाका सुवास कार्कीले कास्य पदक हात पार्ने क्रममा ९ मिनेट २२.१५ सेकेन्डमा दौडिए।
स्वर्ण जितेपछि स्टिपल चेजका लागि तयारी गर्दै भन्दै स्वर्ण जित्नेमा पहिले नै ढुक्क रहेको दुर्गाबहादुरले बताए।
‘स्टिपल दौडको तयारीका लागि नै दश हजार मिटर त्यागेको थिएँ,’ उनले भने।
आठौं राष्ट्रिय खेलकुदमा उनले सुरूमा पाँच हजार मिटरमा स्वर्ण जितेका थिए। त्यसपछि दश हजार र म्याराथनमा उनी रजतमा सीमित बन्न परेको थियो। त्यसैले यसपटक उनले जित्नका लागि मात्र भाग लिएको बताए।
पोखरा रंगशालाक ट्र्याक एकदमै राम्रो भएकाले वार्मअप गरेपछि स्वर्ण जित्छु भनेर उनी ढुक्क भएका थिए।
मंगलबार हुने म्याराथनमा भाग नलिने उनले बताए। त्यसपछि ५ हजार मिटर दौडिने विषयमा सोच्ने उनको भनाइ छ।
तीन वर्षअघि आठौंमा स्वर्ण जितेपछि उनले नेपालमा पहिलो पटक प्रतिस्पर्धा गरेका हुन्। राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेपछि नेपालबाट खेल्ने विषयमा उनलाई प्रश्न गरियो।
‘म नेपालबाट खेल्ने मान्छे हो। २०६५ सालमा मैले मेडल जितेर बंगलादेशमा हुने साग गेम्सका लागि छनोटमा परेको थिएँ। तर मलाई छनोटको अवसर नै दिइन्,’ दुर्गाबहादुरले भने, ‘म आफ्नो रोजीरोटीका लागि भारत गएको हुँ। त्यहाँ गएर एथ्लेटिक्समा राम्रो गर्न सफल भएँ। त्यस्तो अवसर नेपालमा भइदिएको भने सायद म भारत जान्न थिएँ होला।’
राष्ट्रिय खेलकुदमा भाग लिएपछि विवादमा परेका दुर्गाबहादुर खुसी भने छैनन्। किनभने आफू नेपाली भएको र नेपालबाट खेल्ने वातावरण मिलाउन सम्बन्धित निकायले नसकेको उनको आरोप छ।
‘भारतबाट अवसर पाएर एसियन च्याम्पियनसिप पनि खेलें। त्यहाँको राष्ट्रिय च्याम्पियन पनि हुँ। तर म नेपाली हुँ। मेरो नागरिकता नेपालको छ। म नेपालबाट पनि खेल्छु। त्यसका लागि नो-अब्जेक्सन लेटर ल्याएँ भने मैले नेपालबाट खेल्न मिल्छ। त्यो ल्याउने मेरो काम हो,’ उनले भने।
आठौंमा स्वर्ण जितेका उनलाई तीन वर्षअघि भएको १३ औं सागका लागि बोलाइएको थियो। तर पनि नेपालबाट खेल्न नआएको उनीमाथि आरोप छ।
‘म जागिर खान गएको मान्छे नेपालको क्लोज क्याम्पमा आउन सकिनँ। सागको तीन महिनाअघि नेपाल आइजा भनियो। म नेपाल आएर मेडल दिन्छु भनेको थिएँ। मलाई सिधैं टिममा राख्नुहोस्, भारतबाट एनओसी ल्याउने काम मेरो हो भनेको थिएँ,’ दुर्गाको भनाइ छ।
अब एसियन च्याम्पियनसिपमा नेपाल वा भारतबाट खेल्नुहुन्छ भन्ने प्रश्नमा उनले अघि भने, ‘म त नेपाल नै रोज्छु।’
हेर्नुहोस् भिडिओ :