नवौं राष्ट्रिय खेलकुदको पुरुष फूटबलमाआर्मीले लुम्बिनी प्रदेशलाई आर्मीले ४–१ गोल अन्तरले पराजित गर्यो।
लामाचौरस्थित लामाचौर खेल मैदान गोस्तेघाटमा भएको खेलमा आर्मीका लागि दिनेश हेमजनले पहिलो गोल गरे। उनले खेलको १५ औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाए।
दोस्रो गोल भने आर्मीले उपहार प्राप्त गर्यो। दिपसन ठकरीको अत्मघाती गोलबाट आर्मीले अग्रता दोब्बर बनायो।
जर्जप्रिन्स कार्कीले ४७ औं मिनेटमा आर्मीका लागि अर्को गोल थप्दै लुम्बिनीमाथि दबाब बनायो। लुम्बिनीले ५० औं मिनेटमा चेतन थारुको गोलबाट खेलमा फर्किने प्रयास गरेको थियो। तर थपिएको दुई मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई फराकिलो जितको हकदार बनाए।
अर्को खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ५–३ गोलले हरायो। प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा कर्णाली सम्हालिन नसक्दा हार व्यहोर्न पुग्यो। ३८ औं मिनेटमा कर्णालीका करण रावतले आत्मघाती गोल गरेपछि सुदूरपश्चिम १–० को अग्रतामा रह्यो। पहिलो हाफमा १–० ले रोकिएको खेलको दोस्रो हाफमा कुल ७ गोल भयो।
खेलको ५८ औं मिनेटमा ज्ञानेन्द्र जोशीले गोल गर्दै सुदूरपश्चिमको अग्रता दोब्बर पारे। खेलको ६२ औं मिनेटमा कर्णालीका विकेश सन्तोषीले गोल गर्दै २–१ को स्थितिमा खेल पुर्याए।
७७ औं मिनेटमा कुवेर सिंहले गोल गर्दै ३–१ बनाएपछि कर्णाली दबाबमा परेको थियो। ८४ औं मिनेटमा कर्णलीका विकेशले व्यक्तिगत दोस्रो गोल गर्दै ३–२ को स्थितिमा पु¥याउँदै टोलीलाई खेलमा फर्काउने प्रयास गरे। तर त्यसको २ मिनेट पश्चात अर्थात ८६ औं मिनेटमा सुदूरका शसांक बोहोराले गोल गर्दै अन्तर फराकिलो बनाए।
खेलको ९४ औं मिनेटमा दिरेन्द्र शाहले गोल गर्दै जित निश्चित गराए। त्यसको १ मिनेट पनि वित्न नपाउँदै कर्णालीका विकेशले पेनाल्टिमा गोल गर्दै ह्याट्रिक पुरा गरेपनि जितका लागि पर्याप्त रहेन। उनले खेलको ९५ औं मिनेटमा ह्याट्रिक पुरा गरे।
प्रतियोगिता अन्तर्गत शनिबार २ खेल हुनेछन्। समूह बी अन्तर्गत मधेश प्रदेश र शसस्त्र प्रहरी बलको एपिएफ क्लबबीच पहिलो तथा समूह ए अन्तरगत प्रदेश नं. १ र गण्डकी प्रदेशबीच दोस्रो खेल हुनेछन्।
महिला फुटवल : सावित्राको दोहोरो ह्याट्रिक
स्याङजाको वालिङ स्थित मालेबगर फुटबल मैदानमा भइरहेको फुटबलको पहिलो खेलमा सावित्रा भण्डारीको दोहोरो ह्याट्रिक मद्दतमा एपिएफले सहज जित निकाल्ने क्रममा प्रदेश नम्बर एक लाई ७–१ गोल अन्तरले पराजित गर्यो।
खेलको २३ मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गरेकी थिईन् भने लगत्तै एकै मिनेटमा प्रदेश नम्बर १ की अन्जना थुलुङ् राईले एक गोल गर्दै खेल बराबरीको स्थितिमा पुर्याइन्।
एपिएफकी सावित्राले खेलको ४० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन भने ४५ औ मिनेटमा तेस्रो गोल गरेर ह्याट्रिक पूरा गरिन्।
यस्तै सावित्राले खेलको ५१ औँ र ५८ मिनेटमा चौँथो र पाँचौ गोल गरिन्। खेलको ६० औँ मिनेटमा एपिएफकी अनिता केसीले गोल गरिन्। त्यस्तै पुन सावित्राले ६५ औँ मिनेटमा गोल गरेर दोहोरो ह्याट्रिक पुरा गरिन्।
यस्तै शुक्रबार नै भएको दोसो खेलमा गण्डकी प्रदेश विजयी भएको छ। गण्डकीले कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले पराजित गर्दै जित दर्ता गरेकोे हो।
खेलको ३३ औं मिनेटमा गण्डकी शान्ती नेपालीले पहिलो गोल गर्दै आफ्नो टिमलाई अगाडि बढाएकी थिईन्। त्यस्तै खेलको ५८ औँ र ६६ औँ मिनेटमा उदया थापाले दोस्रो र तेस्रो गोल गरिन्।
शुक्रबारको तेस्रो तथा अन्तिम खेलमा मधेश प्रदेश र सुदुरपश्चिम प्रदेश विच प्रतिस्पर्धा भएको थियो। निर्धारित समयमा दुबै समुहले गोल गर्न नसकेपछि एक–एक अंक बाँडे।