गण्डकी प्रदेशको राजधानी पोखरामा शुक्रबार नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन हुँदैछ। औपचारिक उद्घाटनअघि राष्ट्रिय खेलकुदको यो कुम्भमेलामा कतिपय खेलका प्रतिस्पर्धा भने सुरू भइसकेका छन्।
३६ खेलमा प्रतिस्पर्धा हुने नवौं राष्ट्रिय खेलकुदको व्यवस्थापन भने फितलो देखिएको छ। व्यवस्थापन फितलो भएकै कारण खेलाडीले हैरानी पाएका छन्।
फितलो व्यवस्थापनको एउटा उदाहरण हो- महिला हकीको प्रतिस्पर्धा।
पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको मैदानमा महिला हकी खेल बिहीबार बिहानदेखि सुरू गर्ने तालिका थियो। घरेलु टिम गण्डकी र प्रदेश १ बीच पहिलो खेलमा प्रतिस्पर्धा हुने खेल तालिका थियो।
तर गण्डकी प्रदेशका खेलाडी खेलस्थल पुग्दा मैदान तयार थिएन। अर्कोतर्फ प्रदेश १ का खेलाडीले जर्सी नै पाएका थिएनन्।
खेल मैदान र जर्सीका कारण पहिलो खेल निर्धारित समयमा सुरू हुन सकेन। खेलाडीहरू होटल फर्कन बाध्य भए।
‘हामी आउँदा मैदान बन्दै थियो। हामी फर्कन बाध्य भयौं। खेल तालिका आएपछि त मैदान बन्ने पर्ने हो,’ गण्डकी प्रदेशकी गोलकिपर प्रेमा परियारले सेतोपाटीसँग शुक्रबार भनिन्, ‘मैदान आएर नखेली फर्किन पर्दा नराम्रो फिल भयो।’
खेलाडीहरू मैदान र जर्सीका कारण फर्किएको राष्ट्रिय खेलकुद परिषद्का सम्बन्धित अधिकारीको कानमा पुगेपछि हतारहतार व्यवस्थापन गरियो।
उता खेलाडीहरू होटलमा खाना खाएर आराम गरिरहेका थिए।
‘हामी त खेल नै हुन्न भनेर खाना भएर बसेका थियौं। फेरि बोलाउनुभयो। दोस्रो पटक मैदान गएर खेल्न सकिन्न भनेर केही साथीले भनिरहेका थियौं,’ परियारले सुनाइन्।
जसोतसो खेल भयो। खेलमा गण्डकी प्रदेशले प्रदेश १ लाई ७-० गोलले हराउँदै विजयी सुरूवात गर्न सफल भयो।
खेल भए पनि खेलाडीहरू समस्याबाट भने मुक्त भइसकेका छैनन्। प्रतियोगिता भइरहेको स्थलको मैदान खेल्नयोग्य छैन।
मैदान कतै अग्लो, कतै होचो छ। यसले गर्दा खेलाडीहरू घाइते हुने समस्या भएको गण्डकी प्रदेशकी उपकप्तान शिल्पा दगौराले बताइन्।
‘मैदानको लेबल तलमाथि छ। यसले गर्दा खेल्न अप्ठ्यारो भइरहेको छ। बल भनेको स्थानमा पुग्दैन। दौडिँदा सन्तुलन बिग्रन्छ। त्यसैले खेलाडी घाइते हुने समस्या छ,’ शिल्पाले भनिन्, ‘हिजो प्रदेश १ की एक खेलाडी मैदानकै कारण लड्दा घाइते भइन्।’
हकी खेलाडीले भोगेको अर्को समस्या खेल सामग्रीको हो। उनीहरूलाई जर्सी त दिइएको छ तर कुनै पनि साइज मिलेका छैनन्। त्यसैले खेलाडीहरू आफ्नै व्यक्तिगत जर्सी लगाएर अभ्यास गरिरहेका छन्। मैदानमा भने साइज नमिलेको जर्सी लगाएर उत्रने गरेका छन्।
‘एक महिनाअघि हाम्रो साइज लगिएको थियो। अहिले साइज मिलेका जर्सी नआएपछि साइज नाप्नुको के अर्थ भयो र!’, शिल्पाले भनिन्।
यसरी मनलाग्दी जर्सी वितरण गरेको राष्ट्रिय खेलकुद परिषद्ले जर्सीको पछाडि प्रदेशको नाम समेत प्रिन्ट गरेको छैन।
‘हामी त कुन प्रदेशबाट खेलिरहेका छौं जस्तो भइरहेको छ,’ शिल्पाले प्रदेशको नाम जर्सीमा प्रिन्ट नगरेकोमा व्यंग्य गरिन्।
हकीको एउटा स्टिक (लौरो) को औसत मूल्य पाँच हजार रूपैयाँ हो। खेलाडीहरूले स्टिक अहिलेसम्म पाएका छैनन्। स्टिक उपलब्ध नहुँदा अरूको मागेर खेल्नु पर्ने बाध्यता छ।
‘राष्ट्रिय खेलकुदमा समेत हामीसँग पर्याप्त स्टिक छैन। अरूको खेल सकिएपछि मागेर खेल्नु पर्छ,’ शिल्पाले भनिन्।
अर्कोतर्फ गण्डकी प्रदेशकी गोलकिपर प्रेमाले आफ्नो किट्स मर्मत गरेर लगाएकी छिन्। एक लाख पर्ने गोलकिपरको किट्स उपलब्ध गराउन खेलाडीले बारम्बार व्यवस्थापनसमक्ष अनुरोध गरेका थिए। खेल सुरू हुने अघिल्लो दिनसम्म कसैले सुनेन।
जसका कारण प्रेमासँग च्यातिएको किट्स मर्मत गर्नुको विकल्प रहेन। त्यो किट्स पनि उनलाई कोरियामा बस्ने एक शुभचिन्तकले किनिदिएका थिए।
‘यसअघि बिग्रिएको किट लगाएर खेल्दा खुट्टामा चोट लागेको थियो। त्यसैले राष्ट्रिय खेलकुदमा नयाँ किट्स किन्न अनुरोध गर्यौं,’ प्रेमाले भनिन्, ‘खेल सुरू हुने दिनसम्म पाउन सकिएन। त्यसैले त्यही पुरानो किट्स मर्मत गरेर लगाउन बाध्य भएँ। एक लाख रुपैयाँ पर्ने किट्स किन्न सक्ने अवस्था पनि थिएन।’
प्रेमाले हकी खेल्न थालेको पाँच वर्ष भयो। यो पाँच वर्षको बीचमा उनले हकी खेल्नका लागि निकै चुनौती पार गरेकी छन्। उनीसँगै आफ्नै गोजीको पैसा हालेर हकी खेलेको अनुभवसमेत छ।
सात वर्षअघि हकीमा प्रवेश गरेर राष्ट्रिय महिला टिमबाट समेत खेलेकी शिल्पा भने समस्याका बाबजुद् हकीमा खेलमै लागिरहेकी छन्। घरबाट नखेल भने पनि जिद्दी गरेर अघि बढिरहेकी छन्।
‘पहिलादेखि नै खेलियो। हकीको एकदमै धेरै माया लाग्छ,’ शिल्पाले भनिन्, ‘अहिलेसम्म सररकारी निकायले पनि हकी किट किनिदिएको छैन। व्यक्तिगत किनेर खेलिरहेका छौं। कहिलेकाहीँ घरबाट नखेल त भन्नुहुन्छ। हामी जिद्दी गरेर खेलिरहेका छौं।’
घर परिवारको सल्लाह नमानेर तथा करिअरलाई समेत दाउमा राखेर हकी खेल्दा राज्यले गर्ने व्यवहारले भने उनलाई कहिलेकाहीँ दिक्क बनाउँछ।
‘कहिलेकाहीँ यो सबै परिस्थिति देख्दा नयाँ आएका भाइबैनीलाई यो खेल खेलेर केही हुँदैन, नखेल पनि भन्छौं। यस्तो गति देखेर होला हाम्रै मुखबाट यस्तो कुरा निस्किन्छ,’ उनले भनिन्।
थप स्टोरीहरू :