नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता लागि गौरिका सिंह पोखरामा छिन्। राष्ट्रिय खेलकुदको एकै संस्करणमा १६ पदक जित्ने किर्तीमानी उनको नाममा छ। फिस्टेल एकेडेमी पोखरामा हुने प्रतिस्पर्धामा उनको प्रदर्शनबारे सबैको चासो छ।
गौरिका सिंह २०५९ सालको कात्तिकमा पटन अस्पतालमा जन्मिएकी हुन्।
२०५० सालकी एएसएली बोर्ड प्रथम गरिमा राणा र बेलायतमा कार्यरत सर्जन पारस सिंहकी पहिलो सन्तान गौरिका तीन वर्षको उमेरमा लन्डन पुगिन्।
लन्डन पुगेको एक वर्षमै उनी पौडी खेल्न थालिन्। बुबासँगै स्विमिङ पुल पुग्ने गरेकी गौरिका सानै उमेरमा खेलप्रति आकर्षित थिइन्।
लन्डनमै अध्ययन गरे पनि उनी छुट्टीमा नेपाल आउँथिन्। नेपाल आउँदादा हजुरबुबा लोकभक्त राणाले नातिनीलाई सातदोबाटोको स्विमिङ पुल लैजान्थे।
नेपाली खेलकुदका पूराना खेलाडी राणाले नातिनी गौरिकाको १० वर्षमै प्रतिभा देखेका थिए।
२०७१ सालमा छुट्टी मनाउन नेपाल आएकी गौरिकाले गौरिकाले ११ वर्षको उमेरमै राष्ट्रिय पौडी प्रतियोगितामा भाग लिएकी थिइन्।
२०७१ सालको साउनमा गौरिकाले सातदोबाटोको स्विमिङ पुलमा तहल्का मच्चाइन्। त्यतिबेला उनले आठ स्वर्ण र एक रजतपदक जितिन् भने आठ राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।
११ वर्षको उमेरमै राष्ट्रिय पौडीमा तहल्का मच्चाएपछि गौरिका नेपाली खेलकुदमा छाएकी थिइन्। राष्ट्रिय पौडी प्रतियोगितामा भाग लिएर गएपछि गौरिकाले लन्डनमा थप अभ्यास गर्न थालिन्।
२०७२ को वैशाखमा नेपाल फर्किइन्। त्यतिबेला नेपालमा ठूलो भूकम्प गएको थियो। भूकम्प गएको बेला उनी घरको पाँचौ तलामा थिइन्। ‘त्यो दृष्य निकै डरलाग्दो थियो। हामी कोठाको बीचमा टेबलमुनि १० मिनेट बस्यौ। त्यतिबेला पनि भूकम्पको धक्का आइरहेकै बेला हामी बाहिर निस्कियौं। नयाँ घर भएकाले धन्न केही भएन,’ गौरिकाले रियो ओलम्पिकमा आयोजकसँगको कुराकानीमा भनेकी थिइन्।
त्यसपछि भएको २०औं राष्ट्रिय पौडी प्रतियोगितामा उनले ६ स्पर्धामा प्रतिस्पर्धा गरिन्। सबैमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन्। लगत्तै उनले फिन विश्व च्याम्पियनसिपमा भाग लिँदै दुई राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।
सन् २०१६ मा उनले १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा भाग लिइन्। त्यसका लागि लन्डनैमा तयारी गरेकी गौरिकाले भारतको गुहवाटीको पौडी पोखरमा पनि आफ्नो जादू देखाइन्।
गौरिकाले साग इतिहासमा पौडीबाट नेपाललाई पहिलो पटक व्यक्तिगत स्पर्धामा स्वर्ण दिलाइन्। १२औं सागमा उनले एक रजत र तीन कास्य जितेर इतिहास रचिन्। उनले १२औं सागमा २ सय मिटर इन्डिभिज्युअल मिड्लेमा रजत, १ सय र २ सय मिटर ब्याकस्ट्रोक तथा ४ सय मिटर फ्रिस्टाइलमा कांस्यपदक हात पारिन्।
त्यसपछि भएको रियो ओलम्पिक २०१६ मा गौरिकाले विश्वकै ध्यान खिँचिन्। रियो ओलम्पिकमा सहभागी भएका विश्वभरका ११ हजार बढी खेलाडीमध्ये सबभन्दा कम उमेरकी गौरिका विश्वभरको मिडियामा छाएकी थिइन्। उनी त्यतिबेला १३ वर्ष २ सय ५५ दिनको उमेरमा १ सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गरेकी थिइन्।
गौरिकाले सन् २०१८ को एसियाली खेलकुदमा प्रतिस्पर्धा गरिन्।
सातौं राष्ट्रिय खेलकुदमा गौरिकाले विभिन्न कारणले प्रतिस्पर्धा पाइनन्। लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदमा भने गौरिकाले तहल्का मच्चाइन्।
२०७६ वैशाखमा नेपालगञ्जकौ पौडी पोखरामा त्रिभुवन आर्मी क्लबबाट प्रतिस्पर्धा गरेकी गौरिकाले आफूले भाग लिएका १२ वटै स्पर्धामा स्वर्ण जित्न सफल भइन्। जससँगै उनले २०६५ सालमा काठमाडौंमा सम्पन्न पाँचौं राष्ट्रिय खेलकुदमा करिष्मा कार्कीको कीर्तिमान बराबरी गरिन्। त्यतिबेला पनि करिष्माले पौडीमा १२ स्वर्ण जितेकी थिइन्। यो महिलाको कीर्तिमान हो। राष्ट्रिय खेलकुदमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान भने शिरीष गुरुङको नाममा छ। उनले सातौंमा १६ स्वर्ण जितेका थिए।
आठौंमा गौरिकाले चार वटा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। त्यतिबेला गौरिका १६ वर्षकी थिइन्।
सन् २०१९ मा काठमाडौंमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुदमा त झन् गौरिकाले उत्कृष्ट प्रदर्शन गरिन्।
सातदोबाटो नयाँ पौडी पोखरीमा गौरिकाले सय मिटर फ्रिस्टायलमा अन्तिम स्वर्ण जितेकी थिइन्। त्यसअघि नै उनले तीन स्वर्ण जितेकी थिइन्। गौरिकाले नेपालका लागि सागको एकै संस्करणमा चार स्वर्ण जित्ने कीर्तिमान बनाएकी थिइन् भने पौडीको व्यक्तिगत स्पर्धामा पहिलो स्वर्ण जित्ने अर्को कीर्तिमान आफ्नो नाममा लेखाएकी थिइन्।
गौरिकाले सय मिटर फ्रिस्टायलमा स्वर्ण जित्नुअघि २ सय मिटर फ्रिस्टायलय,२ सय मिटर ब्याकस्ट्रोक र ४ सय मिटर फ्रिस्टयाल तर्फ पनि स्वर्ण जितेकी थिइन्।
चौथो स्वर्णसँगै गौरिकाले सागमा सबैभन्दा धेरै स्वर्ण जित्ने नेपाली तेक्वान्दो खेलाडी दीपक बिष्टसँग रेकर्ड बराबरी गर्न सफल भइन्। दीपकले चार सागमा खेलेर ४ वटा स्वर्ण जितेका थिए। तर गौरिकाले बराबरी मात्र होइन एउटै सागमा चार स्वर्ण जितेर नयाँ रेकर्ड बनाइन्।
गौरिकाले १३औं सागमा भाग लिएका जित स्पर्धामा नेपाललाई मेडल दिलाएकी थिइन्। उनले व्यक्तिगत चार स्वर्ण जित्दा टिम स्पर्धातर्फ तीन कास्य जितिन्। ८ सय मिटर फ्रिस्टायल रिले, चार सय मिटर फ्रिस्टायल रिलेसँगै, नेपालले मिडले रिले ४ सय मिटरमा पनि पदक जितेको थियो।
५० मिटर र सय मिटर ब्याकस्ट्रोमा भने उनले रजत जितेकी थिइन्। जससँगै उनले १३औं सागमा ९ पदक जित्दै रेकर्ड बनाइन्।
सागका लागि गौरिकाको परिवारले बेलायतमा उनलाई आवश्यक तालिम दिएको थियो।
आजदेखि गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि गौरिका पोखरा आइसकेकी छिन्। पछिल्लो केही समय अमेरिकामा समेत बसेकी गौरिकाले फिस्टेल एकेडेमी पोखरामा हुने प्रतिस्पर्धामा कस्तो प्रदर्शन गर्छिन् भन्ने सबैको चासो छ।
राष्ट्रिय खेलकुद परिषद् प्रचार प्रसार शाखाका दामोदर अर्यालका अनुसार गौरिकाले यसपटक पनि नेपाल आर्मीबाट प्रतिस्पर्धा गर्दैछिन्।
अर्यालका अनुसार गौरिकाले यसअघिसम्म चार इभेन्टमा मात्र भाग लिँदैछन्।
उनले सय मिटर फ्रिस्टायल, ८ सय मिटर फ्रिस्टायल, ४ सय मिटर फिस्टायल र सय मिटर ब्याकस्ट्रोक गरी चार स्पर्धामा मात्र भाग लिन पक्का भएको अर्यालले जनाकारी दिए।
चार इभेन्टमा मात्र भाग लिएकाले गौरिकाले अघिल्लो संस्करणको राष्ट्रिय खेलकुदभन्दा बढी स्वर्ण जित्ने अवस्था छैन।
बरु यी चार इभेन्टमा गौरिकाले राष्ट्रिय कीर्तिमान सुधार गर्छिन् वा गर्दिनन् भन्ने प्रश्न छ।
२०१९ को साग गेम्सपछि लन्डन फर्किएकी गौरिकाले टोकियो ओलम्पिकबाहेक कोभिड-१९ का कारण प्रतियोगिता खेलेकी छैनन्। झण्डै चार वर्षपछि नेपालमा प्रतिस्पर्धा गर्न लागेकी गौरिकाको घरेलु भूमीमा कस्तो प्रदर्शन होला त्यो फिस्टेल एकेडेमीको पौडी पोखरीमा देखिनेछ।
आठौंमा गौरिकाले जितेको स्वर्ण पदक
- ८०० मिटर फ्रिस्टायल : ९ मिनेट ३९.२२ सेकेण्ड
- ५० मिटर ब्याकस्ट्रोक : ३०.८५ सेकेण्ड (कीर्तिमान)
- ४०० मिटर फ्रिस्टायल : ४ मिनेट ४४.८१ सेकेण्ड
- १०० मिटर फ्रिस्टायल : ५९.६२ सेकेण्ड (कीर्तिमान)
- २०० मिटर ब्याकस्ट्रोक : २ मिनेट ४१.२५ सेकेण्ड
- २०० मिटर फ्रिस्टायल : २ मिनेट ०९.१९ सेकेण्ड
- १०० मिटर बटरफ्लाई : १ मिनेट ०७.९७ सेकेण्ड (कीर्तिमान)
- ४ गुणा १०० मिटर मिड्ले रिले : ४ मिनेट ५१.८९ सेकेण्ड (गौरिका, सोफिया शाह,उपस्थि महर्जन, डुआना लामा)
- २०० मिटर इन्डिभिजुएल मिड्ले रिले : २ मिनेट ३२ सेकेण्ड (कीर्तिमान)
- ५० मिटर फ्रिस्टायल : २७.५९ सेकेण्ड (कीर्तिमान)
- १०० मिटर ब्याकस्ट्रोक : १ मिनेट ०७.२२ सेकेण्ड (कीर्तिमान)
- ४ गुणा १०० मिटर फ्रिस्टायल रिले : ४ मिनेट २१.४१ सेकेण्ड (गौरिका, सोफिया शाह,उपस्थि महर्जन, डुआना लामा)
गौरिकाले साग गेम्समा जितेका पदक
- साग गेम्स २०१९ - १०० मिटर फिस्टायल – स्वर्ण
- साग गेम्स २०१९ - २०० मिटर फिस्टायल - स्वर्ण
- साग गेम्स २०१९ - ४०० मिटर फिस्टायल - स्वर्ण
- साग गेम्स २०१९ - २०० मिटर ब्यास्ट्रोक - स्वर्ण
- साग गेम्स २०१९ - ५० मिटर ब्याकस्ट्रोक - रजत
- साग गेम्स २०१९ - १०० मिटर ब्याटस्ट्रोक – रजत
- साग गेम्स २०१६ - २०० मिटर मिड्ले – रजत
- साग गेम्स २०१९ - ४ गुणा सय मिटर फिस्टायल – कास्य
- साग गेम्स २०१९ - ४ गुणा दुई मिट फिस्टायल – कास्य
- साग गेम्स २०१९ - ४ गुणा सय मिटर मिड्ले – कास्य
- साग गेम्स २०१६ - १०० मिटर ब्याकस्ट्रोक - कास्य
- साग गेम्स २०१६ - २०० मिटर ब्याकस्ट्रोक – कास्य
- साग गेम्स २०१६ - ४०० मिटर फ्रिस्टायल - कास्य
थप स्टोरीहरू :
जसको नाममा छ राष्ट्रिय खेलकुदको एकै संस्करणमा सर्वाधिक १६ स्वर्ण जित्ने कीर्तिमान
पाँच संस्करणको राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने तारा
नवौं राष्ट्रिय खेलकुद विशेष : राष्ट्रिय खेलकुदबाट उदाएका गोपी
नवौं राष्ट्रिय खेलकुद विशेष : एउटै राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जित्ने ‘जलपरी’
३९ वर्षपछि राष्ट्रिय खेलकुदलाई स्वागत गर्दै पोखरा (भिडिओ)