१६ वर्षको हुँदा राष्ट्रिय खेलकुदमा प्रवेश गरेकी तारादेवी पुन ४० वर्षको उमेरसम्म सक्रिय खेल जीवनमा छिन्। म्याग्दीमा जन्मिएकी ताराले २०५४ सालमा १६ वर्ष उमेरमा नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा भाग लिएकी थिइन्।
उनी सुरूमा भलिबल खेलाडी थिइन्। २०५४ को चौथो राष्ट्रिय खेलकुदमा उनी पश्चिमाञ्चलको टिममा थिइन्। पश्चिमाञ्चलको भलिबल टिमबाट स्वर्ण जितेकी ताराले धेरै समय भलिबल खेलिनन्।
२०५६ मा भलिबल छाडेर भारोत्तोलन खेल्न थालिन्।
भारोत्तोलनमा लागेपछि ताराको सफलताको ग्राफ माथि उक्लिरह्यो, कहिल्यै पछाडि फर्केर हेर्नु परेन। आफूले भाग लिएका राष्ट्रिय प्रतियोगितामा सधैं स्वर्ण जितिन्। उनी दुई दशकदेखि नेपालकै 'बलियी' (स्ट्रङ्गेस्ट) महिला खेलाडीका रुपमा चिनिन्छन्।
निरन्तर २५ वर्ष खेलकुद क्षेत्रमा सक्रिय तारा लगातार पाँच राष्ट्रिय खेलकुदमा भाग लिएर पाँचै वटा प्रतियोगितामा स्वर्ण पदक जित्ने नेपालकी एक्ली खेलाडी हुन्।
दुई दशक नेपाली भारोत्तोलनमा राज गरेकी ताराको बाल्यकाल भने दुःखैदुःखमा बितेको थियो। त्यहीँ दुःख उनको खेल जीवनमा वरदान साबित भयो।
उनको घर थिएन। गोठमै जन्मिइन्, गोठमै हुर्किइन्।
तारा काम गर्न सक्ने भएपछि उनका बुबाले घर बनाउन थाले।
कामदार लगाएर घर बनाउने स्थिति थिएन। उनका दाजुहरूसँगै उनले घर बनाउन चाहिने काठ र ढुंगा बोक्थिन्। ठूल्ठूला ढुंगा पिठ्यूँमा बोकेको अझै याद छ तारालाई।
बाल्यकालदेखि नै बलियी र मोटीघाटी तारा गाँउकै ठूलो भारी घाँस ल्याउने केटीमा पर्थिन्।
'कुखुराले जहाँ अण्डा पार्यो त्यहीँबाट झिकेर खाइदिन्थिन्। दुहुँदै गरेको दूध पिउँथिन्।
उनी खेलकुदमा त्यस्तै थिइन्। कबड्डी खेल्दा विपक्षीका एक हुल नै सोहोरेर ल्याउथिन्। गाँउकी राम्रो भलिबल खेलाडीमा पर्थिन्। गाँउमा खेलेको भलिबलले उनलाई पश्चिमाञ्चलको टिममा पर्न काफी भयो। २०५४ सालमा पश्चिमाञ्चलको प्रतिनिधित्व गर्दै चौथो राष्ट्रिय खेलकुदमा भाग लिन नेपालगञ्ज पुगिन्।
दुई दशकअघिको नेपालगञ्ज सम्झना उनको दिमाखमा तिरमिर मात्र बाँकी छ।
नेपालगञ्जको चौथो राष्ट्रिय खेलकुद उनलाई अहिले सपना जस्तै लाग्छ।
चौथो राष्ट्रिय खेलकुद खेलेर फर्किएपछि उनको भेट तेक्वान्दोकी ओलम्पियन प्रमिला थापासँग भयो। प्रमिलाले तारालाई देख्नेबित्तिकै भारोत्तोलन खेल्न सुझाव दिइन्।
देख्दा मोटोघाटो भएर होला, प्रमिलाले तारालाई भारोत्तोलन खेल्न सुझाव दिइन्। तर उनई भारोत्तोलन कस्तो खेल हो, कसरी खेलिन्छ, केही थाहा थिएन।
भारोत्तोलन खेलाडी बन्ने सपना बोकेर उनी २०५८ साल पुसमा पहिलो पटक काठमाडौं आइन्। तत्कालीन प्रशिक्षक सुनीललाल जोशी भेट्न त्रिपुरेश्वर पुगिन्। लगातार चार दिन त्रिपुरेश्वर धाउँदा पनि जोशीलाई भेट्न सकिनन्।
उनी बिहानै त्रिपुरेश्वर पुग्थिन्, तर सुनील दिउँसो आउदा रहेछन्। पाँचौ दिन बल्ल सुनील भेट भयो। उनले मिठु गुप्ता गुरुसँग भेट गराइदिए।'
भारोत्तोलन खेल्न आएको भनेपछि मिठु गुरुले पत्याएनन। दोहोर्याइ तेहेर्याइ 'पक्का खेल्छौ नि' भनेर प्रश्न गररहेँ। उनले 'खेल्न सक्छु गुरु' मात्र भनिरहिन्।
त्यति बेलासम्म भारोत्तोलनमा महिला खेलाडीको उपस्थिति न्यून थियो। अझ गाँउबाट झरेकी र भारोत्तोलनबारे जानकारी नभएकी किशोरीको कुरा पत्याइहाल्ने स्थिति थिएन।
मिठुले तारालाई अर्का प्रशिक्षक राजेन्द्र प्रधानसँग सिक्न पठाइदिए। प्रधानले पनि सुरूमा पत्याएनन्।
भारोत्तोलनको प्रशिक्षण ५ केजीको रड उचालेर सुरू हुन्छ। तर तारालाई त्यति बेला एकैपटक २० केजी उचाल्न भने राजेन्द्रले। आत्मविश्वास भएकाले सिधै उचालिदिइन्। त्यसपछि उनई पनि विश्वास भयो। २०५८ पुस २३ को त्यो मिति अझै छ तारालाई।
पुसमा भारोत्तोलन सिक्न थालेकी तारा चैतमा वीरगञ्मा भएको राष्ट्रिय प्रतियोगितामा भाग लिन पुगिन्। प्रतिस्पर्धा स्थल पुगेपछि उनको नजरमा एउटा ट्रफी पर्यो।
'तिमी प्रतियोगिताको स्ट्रङ्गेस्ट खेलाडी भयौ भने त्यो ट्रफी पाउँछ्यौ,' उनलाई प्रशिक्षकले भनेका थिए।
भर्खर भारोत्तोलनमा लागेकी उनलाई ट्रफी जित्ने इच्छा त थियो, विश्वास भने थिएन। विश्वासलाई इच्छाले जितिदियो। उनी प्रतियोगिताको स्ट्रङ्गेस्ट खेलाडी घोषित भइन्।
त्यो राम्रो ट्रफीसहित खाममा राखेर ५ हजार पुरस्कार पाएपछि औधी खुसी भइन् तारा। त्यसअघि सामूहिक खेलमा मात्र जितेको थिइन। वीरगञ्जमा विजयी भएपछि एकल खेल जितको स्वाद फरक भएको महशुस गरिन्। आफ्नै मिहिनेतले जितेको हुँ भन्ने भावना आयो उनमा।
स्वर्णको स्वाद चाखेपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन। भाग लिएका सबै राष्ट्रिय प्रतियोगिता जितिन्।
२०६५ सालमा काठमाडौंमा भएको पाँचौ, २०६८ मा धनगढीमा भएको छैठौं, २०७३ मा विराटनगरमा भएको सातौं र २०७६ मा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जितेर कीर्तिमान बनाइन्। भाग लिएका सबै प्रतियोगितामा उनले स्ट्रङ्गेस्टको उपाधि हात पार्ने गरेकी छिन्।
प्रशिक्षक र मिहिनेत, लगनशीलता र इच्छाशक्तिले सफलता प्राप्त गरेको उनको भनाइ छ।
उनले आठ वर्षअघि दक्षिण कोरिया र चार वर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुदमा भाग लिइन्। दुवै प्रतियोगितामा राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी थिइन्। इन्चोनमा एउटा राष्ट्रिय कीर्तिमान बनाएकी उनले जाकर्तामा ३ वटा कीर्तिमान कायम गरिन्।
६ वर्षअघि भारतमा भएको दक्षिण एसियाली खेलकुद (साग)मा कास्य जित्नु उनले अन्तर्राष्ट्रिय स्तरमा जितेको महत्वपूर्ण पदक हो।
२०७६ मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा पनि उनले पदक जित्न सफल भइन्। उनको लक्ष्य स्वर्ण थियो तर कास्यमा चित्त बुझाउन बाध्य भइन्। महिलातर्फ ७६ केजी तौल समूहमा ताराका लागि भारत, बंगलादेश र श्रीलंका बाधक बनेका थिए।