शिरीष गुरूङ (२४) कलिलै उमेरमा नेपाली पौडीमा तहल्का मच्चाउने खेलाडी हुन्।
शिरीष बाल्यकालमै पौडीमा प्रवेश गरेका हुन्। ५ वर्षकै उमेरमा उनी पौडी प्रतिस्पर्धामा भाग लिन थालेका थिए।
शिरीषले ७ वर्षकै उमेरमा पदक समेत जित्न सफल भएका थिए। एलए कपको यू-१० उमेर समूहमा कास्य जितेको पल शिरीष कहिल्यै भुल्न सक्दैनन्।
बाल्यकालमा चञ्चल स्वभावका भएको कारण उनलाई परिवारले पौडी पोखरीमा भुलाउन लैजान्थे। पौडी खेल्दा छिटो थाक्ने र अरू ठाँउमा लुक्न नमिल्ने भएपछि उनलाई पौडी खेलाउने उपाय परिवारले निकालेको थियो। जसका कारण उनी पौडीका विस्तारै रमाउन थाले।
बाल्यकालमै राष्ट्रियस्तरका प्रतियोगितामा भाग लिन सफल भए भने १७ वर्षको उमेरमा ओलम्पिक जस्तो प्रतिष्ठित खेलकुद प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाए। साथै उनले दर्जनौं राष्ट्रिय कीर्तिमान बनाउन सफल भए।
शिरीषले २०६८ सालामा सुदूपश्चिममा भएको छैठौं राष्ट्रिय खेलकुददेखि नै आफ्नो क्षमता देखाउन थालेका थिए। छैठौं राष्ट्रिय खेलकुदका अधिकांश प्रतियोगिता कैलाली र कञ्चनपुरमा केन्द्रीत भए पनि पौडी भने विरगञ्जमा सञ्चालन भएको थियो।
त्यतिबेला राष्ट्रिय पौडीमा शैलेश राणा लयमा थिए। उनलाई उछिन्न अधिकांश खेलाडीलाई धौधौ पर्थ्यो। त्यतिबेला १३ वर्षका शिरीषले शैलेशलाई चुनौती दिए।
छैठौंमा शिरीषले चार स्वर्ण जित्दा शैलेशलाई नै दोस्रो स्थानमा पुर्याएका थिए। प्रतियोगितामा उनले चार रजत र दुई कास्य पनि हात पारे। यसरी उनले १३ वर्षको उमेरमा राष्ट्रिय प्रतियोगिता खेल्दै चार स्वर्णसहित १० पदक जित्न सफल भए।
राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेपछि शिरीषले घरेलु प्रतियोगिता आफ्नो प्रभाव छाड्न थाले। जसका कारण उनले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पाए।
उनले एसियन पौडी च्याम्पियनसिपहुँदै दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुद र विश्व पौडी च्याम्पियनसिपमा भाग प्रतिस्पर्धा गरे।
२०७३ सालमा प्रदेश एकमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएको थियो। राष्ट्रिय खेलकुद परिषद्ले पौडीतर्फको प्रतिस्पर्धा भने एक वर्षअघि नै सञ्चालन गरेको थियो। २०७२ सालको असोज २७ देखि २९ सम्म अन्तर्राष्ट्रिय खेलकुद परिषर सातदोबाटोको पौडी पोखरीमा सञ्चालन गरिएको १९औं राष्ट्रिय पौडी प्रतियोगितालाई सातौंको आधिकारीक पौडी प्रतिस्पर्धाको मान्यता दिइएको थियो।
सो प्रतिस्पर्धामा शिरीषले तहल्का मच्चाएका थिए। उनले भाग लिएका १६ वटा इभेन्टमै स्वर्ण जित्न सफल भए। राष्ट्रिय खेलकुदको इतिहासमा एकै प्रतियोगितामा सर्वाधिक स्वर्ण जित्ने यो कीर्तिमानी प्रदर्शन हो। प्रतियोगितामा शिरीषले १६ वटा स्वर्ण मध्ये पाँच वटा स्वर्ण जित्दा राष्ट्रिय कीर्तिमान समेत बनाउन सफल भए।
नेपाल आर्मीबाट प्रतिस्पर्धा गरेका शिरीषले सातौंमा १५ सय मिटर फ्रिस्टायल (राष्ट्रिय कीर्तिमान), ४ सय मिटर फ्रिस्टायल (राष्ट्रिय कीर्तिमान), २ सय मिटर फ्रिस्टायल, १ सय मिटर फ्रिस्टायल र ५० मिटर फ्रिस्टायल स्वर्ण जितेका थिए। यस्तै २ सय मिटर बटरफ्लाई, १ सय मिटर बटरफ्लाई र ५० मिटर बटरफ्लाइको स्वर्ण आफ्नो नाममा लेखाए।
उनले २ सय मिटर ब्रेस्टस्ट्रोक, १ सय मिटर ब्रेस्टस्ट्रोक, २ सय मिटर ब्याकस्ट्रोक, १ सय मिटर ब्याकस्ट्रोक (राष्ट्रिय कीर्तिमान) र ५० मिटर ब्याकस्ट्रोकमा पनि सबैलाई उछिनेर स्वर्ण जिते।
शिरीषले ४ सय मिटर व्यक्तिगत मिड्ले (राष्ट्रिय कीर्तिमान), २ सय मिटर व्यक्तिगत मिड्ले (राष्ट्रिय कीर्तिमान) र ४ गुणा सय मिटर फ्रि रिलेमा स्वर्ण जित्न सफल भएपछि राष्ट्रिय खेलकुदको प्रतिस्पर्धा सर्वाधिक स्वर्ण जित्ने अर्को कीर्तिमान समेत बनाउन सफल भए।
शिरीषले राष्ट्रिय खेलकुदमा सर्वाधिक स्वर्ण जितेको एक वर्षपछि सन् २०१६ मा ओलम्पिकमा भाग लिए। ब्राजिलको रियो ओलम्पकिमा उनले सय मिटर फ्रीस्टायलमा प्रतिस्पर्धा गरेका थिए।
रियो ओलम्पिकमा भाग लिनुअघि शिरीषले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको छात्रवृत्ति पाएका शिरीषले एक वर्ष थाइल्यान्डमा प्रशिक्षण गरेका थिए। एक वर्षको प्रशिक्षणबाट धेरै सिक्न पाएको शिरीषले ओलम्पिकमा राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य राखेका थिए।
उनले रियो ओलम्पिकमा आफ्नो लक्ष्य भने पूरा गर्न सफल भए। सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाउने क्रमा उनले ५७.७६ सेकेन्ड समय निकालेका शिरीषले आफ्नै कीर्तिमान तोडेका थिए।
त्यसअघि उनले कजानमा सम्पन्न फिना विश्व च्याम्पियनसिपमा उनले ५८.२२ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए।
सन् २०१६ मै भएको १२औँ दक्षिण एसियाली खेलकुद (साग) मा भने शिरीष आफ्नै गल्तीका कारण उनी चौथो भएका थिए। जसका कारण उनको सागमा स्वर्ण जित्ने लक्ष्य पूरा हुन सकेन।
शिरीषले सातौं राष्ट्रिय खेलकुदमा जितेका १६ स्वर्ण
- १५ सय मिटर फ्रिस्टायल (राष्ट्रिय कीर्तिमान)
- ४ सय मिटर फ्रिस्टायल (राष्ट्रिय कीर्तिमान)
- २ सय मिटर फ्रिस्टायल
- १ सय मिटर फ्रिस्टायल
- ५० मिटर फ्रिस्टायल
- २ सय मिटर बटरफ्लाई
- १ सय मिटर बटरफ्लाई
- ५० मिटर बटरफ्लाई
- २ सय मिटर ब्रेस्टस्ट्रोक
- १ सय मिटर ब्रेस्टस्ट्रोक
- २ सय मिटर ब्याकस्ट्रोक
- १ सय मिटर ब्याकस्ट्रोक (राष्ट्रिय कीर्तिमान)
- ५० मिटर ब्याकस्ट्रोक
- ४ सय मिटर व्यक्तिगत मिड्ले (राष्ट्रिय कीर्तिमान)
- २ सय मिटर व्यक्तिगत मिड्ले (राष्ट्रिय कीर्तिमान)
- ४ गुणा सय मिटर फ्री रिले