साविकको सिन्धुलीको भद्रकाली गाविस–५, बुक्ति खट्टारका स्थानीयबासी खानेपानीको योजना सम्पन्न गराउन श्रमदान गरिरहेका छन् ।
गाउँमा दीर्घकालीन खानेपानीको मुहान र पानीको पहुँच नहुँदा अब ‘एक घर एक धारा’ पाइने भएपछि स्थानीय उत्साहपूर्वक खानेपानीको योजनामा श्रमदान गरिरहेका छन् ।
गाउँघरमा अहिले युवाशक्ति कम भएको त प्रायः सबैलाई नै थाहा छ । सदैव पानीको समस्यामा रहेका त्यस क्षेत्रका महिला पनि अहिले पुरुषसरह दैनिक आठघण्टा श्रमदान गरिरहेका छन् ।
ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक सहयोग र ग्रामीण विकास समाज सिन्धुलीको आयोजनामा खट्टार खानेपानी तथा सरसफाइ योजना निर्माण गर्न स्थानीयको उल्लेख्य सहभागिता रहेको छ ।
गाउँघरमा बिहान बेलुका घरधन्दा र दिउँसोभर खानेपानीको योजना निर्माणको निर्माण चरणमा पाइप लाइन खन्ने, पुर्ने, स्थानीय सामग्री संकलन गर्ने, गैरस्थानीय सामग्री निर्माणस्थलसम्म पु¥याउन व्यस्त रहेका छन् ।
अब केही महिनामा नै घरमा सफा पानी घरकै धाराबाट थापेर खान पाउने हुँदा आफूहरु पनि योजना निर्माणमा लागेको स्थानीय तथा खट्टार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्य समेत रहेका संगीता बम्जनले बताईन् ।
महाभारतको काखमा रहेर विगतमा खानेपानीको समस्या हुँदा आफूहरूलाई खानेपानीको जोहो गर्न हिउँद् होस् या वर्षा सधैँ समस्या थियो, नेपाल सरकारले ‘एकघर एक पानीको धारा’ बनाइदिने रेडियोमा सुनेका थियौँ, उनले भने, ‘अब त आफ्नै घरमा धाराबाट पानी पिउने दिन आएको छ ।’
अब खट्टारका महिला दिदीबहिनी खोला र कुवाबाट पानी बोक्ने झन्झटबाट मुक्ति पाउने छन् भने समयको समेत बचत हुने उनी बताउँछन्।
गर्मीयाममा काकाकुलजस्तै बन्ने गरेकोमा अहिले धारामा पानी थापेर खान पाउने आशामा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म श्रमदान गरिरहेको स्थानीय दिलबहादुर गोलेले बताए ।
खानेपानी योजना सम्पन्न गर्न पुरुषसरह महिला पनि श्रमदानमा लागि परेको उनको भनाइ छ । खानेपानी योजना सम्पन्न गराउन बालुवा बोक्ने, ढुंगा बोक्ने, गिट्टी बोक्ने, सिमेन्ट र अन्य आवश्यक सामान बोक्न पनि महिला सक्रिय रहेका छन् ।
खानेपानी योजनाको सुरुवाती चरणदेखि नै स्थानीयले राम्रो साथ दिएको उपभोक्ता समितिका अध्यक्ष मानबहादुर गोलेले बताए । समुदायका व्यक्ति पानीको समस्यामा रहेको र पानीको मुहान बनाई घरघरमा धारा बनाउने संस्था गाउँमा आएको सुन्ने बित्तिकै स्थानीय खानेपानीको योजना चाँडै सम्पन्न गराउने योजनामा रहेको उनी बताउँछन् ।
अहिलेसम्म दुई हजार ४०० मिटर खानेपानीको पाइपलाई तीन फिट गहिराइमा पुर्ने कार्य सम्पन्न भएको छ । अब वर्षात् पनि कम हुँदै गएकाले मुहान र पानीपोखरीको काम गर्ने गोलेले बताए ।
सरसफाइका बारेमा चेतना नहुँदा फोहरमैलालाई नजिकै राख्ने खट्टारका जनता अहिले सरसफाइका क्षेत्रमा पनि उत्तिकै जानकार भएको बास मोटिभेटर अनितामाया गोले बताउँछन् । सरसफाइका बारेमा बेखबर स्थानीय अहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ राख्नुपर्छ, सफा र स्वच्छ खानेकुरा खानुपर्ने र सफा लुगा लगाउनुपर्छ भन्ने उनीहरूमा चेतना फैलिएको गोलेले बताए।
घरायसी कार्यबाट निस्केको फोहरलाई पनि उनीहरूले खाल्डोमा हालेर मल बनाउने कार्यमा लागेको उनको भनाइ छ । मानिसको आनीबानी परिवर्तन र विकास निर्माणका कार्यमा लाग्नु सबैभन्दा महत्वपूर्ण कुरा भएको बास मोटिभेटर गोले बताउँछन्।
महाभारतका डाँडा छिचोलेर भिरपाखामा पाइपलाइन पुर्नुपर्ने भएकाले स्थानीय जोखिम मोलेरै भएपनि श्रमदानमा जुटेको बास टेक्निसियन राजनप्रसाद काफ्लेले बताए । वर्षायाममा पहिरोले पाइप चुडाउने डर, सुक्खा समयमा डढेलोले पाइपलाई क्षति पुर्याउने भएकाले स्थानीयबासी उत्साहका साथ पाइपलाइन पुर्न लागिपरेका छन् ।
बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म घरायसी कामलाई थाती राखी योजना चाँडै सम्पन्न गर्नु उनीहरूको लक्ष्य रहेको उनको भनाइ छ । पहाडी क्षेत्रमा धेरैतिर फैलिएको बस्तीलाई सातवटा खानेपानीको मुहानबाट पानी ल्याइने कार्य भइरहेको छ । विकट क्षेत्र भएकाले निर्माण सामग्री ढुवानीमा समस्या भएकाले स्थानीय उपभोक्ताको प्रयासमा नै अहिलेसम्म निर्माण सामग्रीको ढुवानी हुँदै आएको छ ।
खट्टार खानेपानी आयोजना निर्माणका लागि ५६ लाख २६ हजार ६ सय ५१ रुपैयाँको लागतमा योजना सम्पन्न हुने बास अफिसर उज्ज्वल खतिवडाले जानकारी दिए। मंसिर महिनासम्ममा आयोजना सम्पन्न गरी त्यस क्षेत्रका ८१ घर परिवारलाई घरघरमा पानी पुर्याइने लक्ष्यका साथ काम भैरहेको उनले बताए ।
आयोजना सम्पन्न भएपश्चात् ५१७ जना प्रत्यक्ष लाभान्वित हुने उनको भनाइ छ । एक विद्यालय र एक बौद्ध मन्दिरलाई पनि खानेपानीको धारा जडान गरिने बताइएको छ ।
तामाङ जातिको बाहुल्य रहेको खट्टारमा कहीँ कसैले खानेपानीका लागि पहल नगरिदिँदा समस्यामा रहेका उनीहरू अब पानीको समस्याबाट छुटकारा पाउने आशामा रहेका छन् । रासस