काँकडभिट्टामा ‘दिब्यज्योति आइ इयर केयर सेण्टर’ नामक स्वास्थ्य क्लिनिक अवैधरुपमा सञ्चालन भइरहेको छ ।
आँखा, नाक, कान र घाँटीको उपचार एकै थलोमा गर्ने भन्दै गत भदौ पहिलो सातादेखि सञ्चालनमा आएको सो क्लिनिकले सम्बन्ध निकायबाट सञ्चालनको अनुमति नलिई शल्यक्रियालगायतका उपचार थालिसकेको छ ।
स्वास्थ्य उपचारसँग सम्बन्धित कुनै पनि क्लिनिक वा संस्था सञ्चालन गर्नका लागि कानूनबमोजिम जिल्ला जनस्वास्थ्य कार्यालयबाट सेवा सञ्चालन अनुमति लिनुपर्ने प्रावधान रहेको छ ।
तर दिब्यज्योति आइ एण्ड इयर केयर सेण्टरले सेवा सञ्चालनको अनुमति नलिई धमाधम उपचार गतिविधि सुरू गरेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रशासकीय अधिकृत देवराज कार्कीले दिब्यज्योति आइ एण्ड इयर केयर सेण्टरले सेवा सञ्चालनको अनुमति पाइनसकेको बताए।
उनीहरूले अनुमति माग्नुभएको हो, तर सञ्चालन स्वीकृति दिइएको छैन’, जनस्वास्थ्य कार्यालयका प्रशासकीय अधिकृत कार्कीले भने–‘स्वास्थ्यसँग सम्बन्धित क्लिनिक सञ्चालनका लागि जनस्वास्थ्य कार्यालयबाट अनिवार्य अनुमति लिएको हुनुपर्ने कानूनी प्रावधान छ ।’
काँकरभिट्टाको बाहुनडाँगी रोडको पूर्वी लाइनमा भाडामा लिइएको एक घरमा दिब्यज्योतिको क्लिनिक स्थापना गरिएको छ । सेण्टरले शल्याक्रियासहितको उपचार सुरू गरेको सञ्चालक डा मोनिका कर्माचार्यले बताईन् ।
उनले भने –‘जिल्ला जनस्वास्थ्य कार्यालयले अनुगमन गरेर अनुमति आउने प्रक्रियामा छ उपचार सुरू गर्दै गर्नु भनेकाले सेवा सुरू गरिएको हो।’
उनले जिल्ला जनस्वास्थ्य कार्यालयको ढिलासुस्तीका कारण क्लिनिक सञ्चालनका लागि राजस्वबापतको रकम बुझाएर पनि आफूहरूले अनुमति पाउन नसकेको बताए ।
उपचार सेवा सुरू गरेको दिब्यज्योतिसँग कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरेको दिब्यज्योति आई एण्ड एयर केयर सेण्टर प्रालि नामक संस्थाको प्रमाणपत्र मात्र छ ।
तर कम्पनी दर्ताको भरमा मात्र स्वास्थ्य संस्था सञ्चालन गर्न नपाइने कानूनी व्यवस्था रहेको जनस्वास्थ्य कार्यालयका प्रशासकीय अधिकृत कार्कीले बताए । रासस