वडा परिषद्बाट पारित भएका योजना गाउँपालिकाबाट हटाइएको भन्दै अछामको ढकारी गाउँपालिकामा चार दिनसम्म तालाबन्दी भएको छ ।
वडाबाट पारित भएका योजनालाई गाउँपालिका प्रमुखलगायत केही व्यक्तिले राजनीतिक आस्थाका आधारमा हटाएको भन्दै वडा नं २, ३ र ५ का जनप्रतिनिधिले तालाबन्दी गरेका हुन् ।
स्थानीयस्तरमा पटक–पटक छलफल भएपनि दुवै पक्ष आ–आफ्नै अडानमा रहेका कारण ताला खोल्न नसकिएको बताइएको छ।
सदरमुकामबाट जिल्ला समन्वय समितिका उपसंयोजकको टोली गाउँपालिकामै पुगेर सोमबार छलफल हुँदा पनि निष्कर्षमा पुग्न नसकेको वडा नं ३ का वडाध्यक्ष महादेव बुढाले बताए।
गाउँपालिका अध्यक्ष नेपाली काँग्रेसबाट जितेका र तीन वडामा नेकपा (एमाले) ले जितेका कारण ती वडाका योजनामात्रै हटाइएको तर अन्य व्यक्तिले पठाएका योजना गाउँसभाबाट पारित भएको उनको भनाइ छ।
यता गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले भने आफूले केही योजना हटाएको तथा केही योजना थपेको स्वीकार गर्दै निर्णय भइसकेको अवस्थालाई उल्ट्याउन नसक्ने बताउँदै आएका छन्। ढकारी गाउँपालिकाले आफ्ना आठ वडामा प्रत्येक वडालाई ८० लाख रुपैयाँ बराबरको योजना बनाएर गाउँपालिकामा पेश गर्न भनेको थियो ।
यसैबीच गाउँपालिकामा योजनाको विषयलाई लिएर भएको तालबन्दी तथा विवादलाई समाधान गर्नका लागि दुईवटै पक्षलाई बोलाएर मंगलसेनमै छलफल गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा जिल्ला समन्वय समिति संयोजक, विभिन्न राजनीतिक दलहरुको संयुक्त बैठकले गाउँपालिकामा लाएको ताला खोल्ने र तीन वडाका योजनाका बारेमा मंगलबार सदरमुकाममा छलफल गर्ने त्रिपक्षीय सहमति भएको अछामका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले जानकारी दिए।
आज दिउँसो सदरमुकाममा तीन वडाका जनप्रतिनिधि, गाउँपालिका प्रमुख उपप्रमुखसहित अन्य सरोकारवालाको संयुक्त बैठक बसी सहमति कायम गरिने प्रजिअ चौधरीको भनाइ छ । रासस