नगरप्रमुख रमणबहादुर थापाले कुल ४९ करोड ६६ लाख ७१ हजार रुपैयाँ बजेट सार्वजनिक गरेका हुन् । नगर प्रमुख थापाले भवन निर्माणमा दुई करोड रुपैयाँ, फर्निचर खरीदतर्फ ३५ लाख रुपैयाँ, मेसिनरी उपकरणतर्फ एक करोड रुपैयाँ र नगरस्तरीय योजना तथा कार्यक्रमका लागि सात करोड ६२ लाख ५० हजार रुपैयाँ रकम विनियोजन गरिएको बताए ।
यस्तै वडास्तरीय योजना तथा कार्यक्रमका लागि तीन करोड २५ लाख रुपैयाँ, आन्तरिक आय वृद्धिका लागि व्यापारिक भवन/ट्रस निर्माणका लागि दुई करोड रुपैयाँ, विपद् व्यवस्थापन तथा मर्मत सम्भारतर्फ ६५ लाख रुपैयाँ र समपूरक कोषका लागि दुई करोड १५ लाख १७ हजार रुपैयाँ, विषयगत कार्यक्रमतर्फ १७ करोड ५५ लाख ९१ हजार रुपैयाँ, सामाजिक सुरक्षातर्फ पाँच करोड रुपैयाँ र गत आवको बाँकी योजनाको भुक्तानी दुई करोड १२ लाख १२ हजार रुपैयाँ बजेट सार्वजनिक गरिएको नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताए ।
पूर्वखोलाको बजेट ३० करोड
पूर्वखोला गाउँपालिकाको प्रथम गाउँसभाले आर्थिक वर्ष २०७४/७५ को बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले ३० करोड ८३ लाख ६२ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।
गाउँपालिका अध्यक्ष थापाका अनुसार सडकतर्फ छ करोड २९ लाख १५ हजार रुपैयाँ, खानेपानीतर्फ ८६ लाख ८५ हजार रुपैयाँ, शिक्षातर्फ ६५ लाख ८० हजार रुपैयाँ, स्वास्थ्यतर्फ ६८ लाख ५१ हजार रुपैयाँ र सिँचाइतर्फ २५ लाख २० हजार रुपैयाँ रकम विनियोजन गरिएको छ । कार्यक्रममा गाउँपालिकाका छवटै वडाका वडाध्यक्षलगायतको सहभागिता रहेको थियो । गाउँसभाले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र सिँचाइलाई जोड दिएको कार्यकारी अधिकृत हरि पौडेलले जानकारी दिए । रासस