सानो उमेरका बालबालिकालाई प्रशिक्षण दिएर भारोत्तोलनको कुशल खेलाडी बनाउने उद्देश्यका साथ नेपालगञ्जमा अन्तर्राष्ट्रियस्तरको ‘वेटलिफ्टिङ फिटनेस एकेडमी सेण्टर’ भवनको निर्माण कार्य द्रुत गतिमा भइरहेको छ ।
नेपालगञ्जमा एक वर्षपछि आयोजना हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत दृष्टिगत गरी सो सेण्टर भवनको निर्माणलाई तीव्रता दिइएको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीमबहादुर ओलीले बताए ।
निर्माण सुरू गर्दा ८७ लाख रुपैयाँको बजेट विनियोजन गरिएको सो भवन निर्माणमा अहिलेसम्म २८ लाख ३२ हजार रुपैयाँ खर्च भइसकेको छ भने यस वर्ष निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयले २० लाख रुपैयाँ विनियोजन गरेको नेपाल भारोत्तोलन संघका केन्द्रीय अध्यक्ष रतनकुमार टण्डनले जानकारी गराए।
‘बजेटका कारणले भवन निर्माणको काम रोकिँदैन, राष्ट्रिय खेलकुद प्रतियोगिताअघि उपकरणसहित प्रतियोगिता सञ्चालन हुने व्यवस्थासहित निर्माण सम्पन्न गरिनेछ’, अध्यक्ष टण्डनको भनाइ छ ।
एकेडमी निर्माणपछि विशेषतः मध्य तथा सुदूरपश्चिमाञ्चलका सबै जिल्ला र पश्चिमाञ्चल क्षेत्रअन्तर्गत केही जिल्लाका विद्यालय उमेरका बालबालिकाको छनोट गरी उनीहरूलाई सबै सुविधासहित भारोत्तोलन खेलको आधुनिक प्रशिक्षण दिइनेछ ।
संघका अध्यक्ष रतन टण्डनका अनुसार, केटा र केटी गरी करीब ५० जना प्रशिक्षार्थी अट्न सक्ने क्षमताको तीनतले एकेडमी भवन निर्माणको काम अब एक वर्षभित्र सक्ने लक्ष्य निर्धारण गरिएको छ ।
एकेडमी भवनमा भारोत्तोलन प्रशिक्षणका लागि आवश्यक पर्ने करीब दुई करोड रुपैयाँ बराबरको उपकरण एशियाली भारोत्तोलन संघ र अन्तर्राष्ट्रिय भारोत्तोलन संघबाट सहयोगस्वरुप प्राप्त भइसकेको जनाइएको छ । भवनको सम्पूर्ण निर्माणको काम नसकिएकाले हाललाई सो उपकरण काठमाडौंमा प्रयोगमा ल्याइएको छ ।
सो एकेडमी भवनमा तालिम कक्ष, प्रतिक्षालय कक्ष, पोशाक फेर्ने कोठा, सुत्ने कोठा, पुस्तकालय, भान्साघर, सोनाबाथलगायत सुविधासम्पन संरचनाको व्यवस्था गरिएको छ ।
दक्षिण एशियाली भारोत्तोलन संघका संयोजकसमेत रहेका टण्डनका अनुसार, नेपालगञ्ज रंगशाला क्षेत्रको कुल चार हजार वर्ग फिट जग्गा एकेडमीअन्तर्गत रहने र कुल जग्गामध्ये दुई हजार ८०० वर्ग फिटमा भवन निर्माण भइरहेको छ ।
एकेडमीमा तालिम दिइने विद्यार्थीको अध्ययनलगायतका सबै खर्च संस्थागत हुनेछ भने एकेडमीको प्रशासन र अन्य प्राविधिक खर्चका लागि सहयोगी हातहरू खोजिने पनि अध्यक्ष टण्डनले बताए ।
यसैगरी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि क्षेत्रीय खेलकुद विकास समितिको अगुवाइमा नेपालगञ्ज रंगशालामा ६० लाख रुपैयाँको लागतमा माटो पटान, पौडी पोखरी र सुटिङ रेञ्जको निर्माण कार्यलाई समेत तीव्रता दिइएको छ ।
कुल ४२ खेल सञ्चालन हुने प्रतियोगिताका लागि ३५ करोड रुपैयाँ र भौतिक पूर्वाधार निर्माणका लागि ७० करोड रुपैयाँ बजेट आवश्यक पर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले बताए । आवश्यक बजेट समयमा उपलब्ध गराउन परिषद्ले मन्त्रालयसँग पत्राचारसमेत गरिसकेको पनि उनले जानकारी गराए ।
केही दिनअघि नेपालगञ्जमा बसेको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सचिवालयस्तरीय बैठकले सो प्रतियोगिताको मस्कटमा हात्तीको बच्चा (छावा) रहने निर्णय गरेको थियो । रासस