जथाभावी फोहोर फाल्ने र खोला अतिक्रमण गर्ने क्रम बढेपछि भक्तपुर र काठमाडौंको सीमाना भएर बग्ने मनोहरा खोलाको संरक्षण र सफाइ अभियान सुरू गरिएको छ ।
मनोहरा खोला सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियानले ५२ हप्तासम्म हरेक शनिबार बिहान ६ः३० बजेदेखि ९ बजेसम्म मनोहरा खोला सरसफाइ गरी खोला संरक्षण गर्ने जनाएको हो ।
भक्तपुरको जडीबुटीस्थित मनोहरा खोला किनारामा हिजो शनिबारबाट सुरू भएको यो अभियान मनोहरा खोलाको उद्गमस्थल काठमाडौंको साँखुस्थित शाली नदीसम्म सफाइ गरिने अभियानका संयोजक रुद्र भट्टराईले जानकारी दिए ।
काठमाडौं जिल्लाको मणिचूड उद्गमस्थल भएको पवित्र धार्मिकस्थल शाली नदी हुँदै बग्ने मनोहरा खोलालाई मानव अतिक्रमण र प्रदूषणमुक्त बनाउन र नदी एवं खोलालाई आफ्नो प्राकृतिक स्वरुपमा बग्न दिने अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार मनोहरा खोलाको संरक्षण र बचाउका लागि यो अभियान सुरू गरिएको हो ।
भक्तपुर, काठमाडौं र ललितपुरको संगमस्थलबाट सुरू भएको यो अभियान शाली नदीको उद्गमस्थलमा पुगेर समापन हुनेछ । अभियान अन्तर्गत पहिलो दिन चार मेट्रिक टन फोहोर संकलन भएको थियो ।
अभियानमा बाग्मती सभ्यता एकीकृत विकास समिति, बाग्मती सरसफाइ महाअभियान, कामनपा– ३२, कागेश्वरी नगरपालिका, भक्तपुर जिल्ला समन्वय समिति, सरकारी तथा विभिन्न सामाजिक संघ संस्थाको सहयोगी भूमिका रहने छ ।
एक हजार २०३ को निःशुल्क स्वास्थ्य परीक्षण एवं औषधि वितरण
यसैगरी नेपाल प्रहरीको ६२ औं स्थापना दिवसका अवसरमा भक्तपुरको दरबारस्क्वायरस्थित पद्यम उमाविमा आयोजना गरिएको एक दिने बृहत स्वास्थ्य शिविरमा एक हजार २०३ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, नेपाल प्रहरी अस्पताल, पद्यम उच्च मावि तथा पद्यम कलेजको संयुक्त आयोजनामा शनिबार भएको शिविरमा बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको कलेजका प्राचार्य राम हाडाले जानकारी दिए ।
विद्यालयमा अध्ययनरत विद्यार्थी तथा स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षणमा प्रहरी अस्पतालका विभिन्न विभागका चिकित्सकसहित १२७ जनाको टोलीले सेवा दिएका थिए ।
स्वास्थ्य शिविरमा प्रहरी अस्पतालमा उपलब्ध हुने ओपिडि, मानसिक रोग, स्त्री रोग, अर्थोपेडिक, बालरोग, आँखा, दन्तरोगलगायतका सेवा प्रदान गरिएको प्रहरी टोलीका प्रमुख डा. दुर्गा पुनले जानकारी दिए । रासस