डा गोविन्द केसीले त्रिवि अन्तरगतका निजी मेडिकल कलेजहरूले विद्यार्थीहरूलाई ब्ल्याकमेल गरेर तोकिएको भन्दा बढी रकम असुलेको बताएका छन् ।
आइतबार उनले एक प्रेस विज्ञप्ति जारी गरी त्रिवि अन्तर्गतका निजी मेडिकल कलेजहरूले विद्यार्थीहरूलाई ब्ल्याकमेल गरेर ज्यादतीपूर्ण रुपमा तोकिएको शुल्क (३१ लाख रुपैयाँ) माथि समेत थप ठूलो रकम असुलेको जानकारी पाएको बताएका छन् । उनले त्यस्ता मेडिकल कलेजलाई कडाभन्दा कडा कारबाही गर्न सरकार समक्ष माग गरेका छन् ।
२०७४/ ७५ का लागि सरकारले एमबीबीएस कार्यक्रमको शुल्क उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार तथा बीडीएस कार्यक्रमको शुल्क १९ लाख ३२ हजार ६ सय १२ तोकेको छ ।
साथै स्नातकोत्तर तहको शुल्क त्रिवि अन्तर्गतका निजी मेडिकल कलेजहरूमा समेत काठमाडौं विश्वविद्यालय सरह २२ करोड ५० लाख गरिनु पर्ने माग गरेका छन् । सरकारले तोकिसकेको शुल्कमा कुनै चलखेल नगरी किस्ताबन्दीमा सोही रकम लिने गर्न गराउन सरकारसँग माग गरेका छन् ।
उनले शुल्कको विषयमा चलखेल गर्ने त्यस्ता कलेजको सम्बन्धन खारेज गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
‘काठमाडौं विश्वविद्यालय वा त्रिवि, कतैका पनि पदाधिकारीहरूले बदमासीपूर्वक स्नातक तहका लागि सरकारले तोकेको भन्दा बढी शुल्क निर्धारण गरेको अवस्थामा ती पदाधिकारीहरूलाई समेत बर्खास्त गरेर कारबाही गरिनुपर्छ ।’ विज्ञप्तिमा भनिएको छ ।