पशु क्वारेण्टाइन विराटनगर चेक पोष्टका कार्यालय सहयोगी पशुपति खतिवडाले पंक्षी तथा चौपायाको परीक्षण सुँघेरै गर्ने गरेका छन् ।
विगत पाँच वर्षयता भारतबाट विराटनगर रानी चेक पोस्ट हुँदै नेपाल भित्रिने गरेका पंक्षी तथा चौपायाको स्वास्थ्य परीक्षण सुँघेकै भरमा निरोगिताको प्रमाणपत्र दिने गरेको पाइएको हो ।
यदाकदा चेकपोस्टमा बस्दै आएकी पशु प्राविधिक पवित्रा दाहालले निरोगिताको प्रमाणपत्रमा पहिले नै हस्ताक्षर गरेर कार्यालय सहयोगी खतिवडालाई दिने गरेको र उनले खसी बाख्राको स्वास्थ्य स्थिति कस्तो छ भन्ने मतलबै नगरी प्रमाणपत्रको खालीठाउँ भरेर व्यापारीलाई दिने गरेका छन् ।
विराटनगर भन्सार नाका हुँदै प्रतिमहिना तीन हजार चौपाया नेपाल भित्रिने गरेका छन् । ती चौपाया कचेरा आएका, झोक्राएका, छेरुवा चलेका रोगी भए पनि ती कार्यालयले सहयोगीकै भरमा क्वारेण्टाइनले निरोगिताको प्रमाणपत्र दिने गरेको छ ।
रोगी चौपाया भएको शंका लागे पशु प्राविधिकले चेक पोस्टबाटै परीक्षणका लागि १४ दिनसम्म निगरानीमा राख्नुपर्ने प्रावधान छ । तर अहिलेसम्मको रेकर्डमा क्वारेण्टाइन कार्यालयबाट कुनै पनि चौपायाको प्रक्रियाअनुसार स्वास्थ्य परीक्षण नगरेको पाइएको छ । चौपाया रोगी भएको शंका लागेमा चेक पोस्टमा नै (पिपिआर) भ्याक्सिन लगाउनु पर्नेमा भ्याक्सिन राख्ने कार्यालयको फ्रिज नौ वर्षदेखि बिग्रिएर ढुसी परेको छ।
यता मुख्य कार्यालयमा रहेका चार फ्रिजमध्ये तीन फ्रिज बिग्रिएका र भएको सद्धे एउटा फ्रिज कार्यालय प्रमुख डा फेकनलाल साहले निजी आवासमा प्रयोग गरिरहेका छन् । यो कार्यालयले सिरहाको मार्डर, भाण्टाबारी र विराटनगर नाकाबाट आयात हुने पक्षी तथा चौपायाको स्वास्थ्य चेक जाँच गरेर प्रमाणपत्र दिने गर्छ । तर कार्यालय प्रमुख साहले उपकरण अभावले समस्या भएको बताए ।
उपभोक्ता मञ्च मोरङका अध्यक्ष मोहन भट्टराईले भने, ‘पशुको स्वास्थ्य चेक गर्नेहरूले काम गर्दैनन् भने तिनीहरूको औचित्य के ? त्यहाँ चेक पोस्ट रुँघेर सरकारी तलब खानु भनेको राज्यकोषको दुरूपयोग गर्नु हो । रासस