लमजुङमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मध्यनेपाल–६, भोर्लेटारमा ग १ ख ६०९० नं को मालबाहक ट्रक दुर्घटना भएको हो ।
दुर्घट्नामा परी मकवानपुर, हेटौंडाका अन्दाजी २२ वर्षीय सागर लामाको मृत्यु भएको ट्राफिक प्रहरी हबल्दार भूमिराज घिमिरेले जानकारी दिए।
मृतक सोही ट्रकको सहचालक भएको प्रहरीले जनाएको छ । लमजुङ र कास्की सिमानामा निर्माणाधीन रुदी खोला जलविद्युत् आयोजनाको सामान पुर्याएर हेटौंडातर्फ फर्कने क्रममा भोर्लेटार पिस्तीखोला नजिकै दुर्घटना भएको हो ।
ट्रकमा रहेका चालकसहित अन्य दुईजना सामान्य घाइते भएका छन् । सामान्य घाइते भएका ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ट्याक्टरमा आगलागी
त्यसैगरी लमजुङको सदरमुकाम बेँसीशहर नजिकै ट्याक्टरमा आगलागी भएको छ । रातिमा ना १ त ४८०७ नम्बरको ट्याक्टरमा आगलागी भएको हो ।
बेँसीशहर–३ दनैगाउँमा सडक छेउमा राखिएको ट्याक्टरमा अज्ञात व्यक्तिले आगो लगाइदिएको हो । ट्याक्टर जलेर पूरै नष्ट भएको ट्राफिक प्रहरी भूमीराज घिमिरेले जानकारी दिए ।
बिहिबार बेलुकी ९ बजे सडक छेउमा पार्किङ गरेर घर गएपछि जलाइएको चालक विजय परियारले बताए । सो ट्याक्टर बेँसीशहर–२, रानीकुवाका महेन्द्र बोहराको भएको थाहा भएको छ । रासस