गर्मी अत्यधिक बढेपछि सुनसरीको इटहरी उपमहानगरपालिका र इनरूवा नगरपालिकामा विद्यालयको पठनपाठन बन्द गरिएको छ।
इटहरी उपमहानगरपालिकाले उपमहानगर क्षेत्र भित्रका सबै विद्यालयमा पठनपाठन बन्द गरेको छ। यस्तै, इनरूवाले पनि आफ्नो मातहतका विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
इटहरीले भोलिसम्म बिदा दिएको छ भने इनरूवाले तीन दिन बिदा दिएको छ।
ती सबै विद्यालय बुधबारदेखि शुक्रबारसम्म बन्द रहने इनरूवा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज निरौलाले जानकारी दिए।
'अत्यधिक गर्मी बढेपछि पढाउन सकिने अवस्था छैन, त्यसैले शुक्रबारसम्म बिदा गरेका छौं,' उनले भने।
शुक्रबारसम्म सम्पूर्ण विद्यालय बन्द रहनेछन्। गर्मी बढ्दै गए थप समयका लागि पठनपाठन बन्द गरिने उनले बताए।