६६ वर्षीया मंगली तामाङ प्रायः बिहान ढिलै उठ्छिन्।
मंगलबार भने बिहान ५ बजेतिर नै उठिन्। उठेर बाख्राका लागि कुँडो पकाइन्। बाख्राको धन्दा सकेर चिया बनाइन्।
उनका ६७ वर्षीय श्रीमान पाल्देन सुतिरहेका थिए। मंगलीले उनलाई पनि छिट्टै उठ्न भनिन्।
दुवै चिया पिउन थाले। चिया पिउँदै मंगली काममा लागिन्। डोको र डोरी ठीक पारिन्।
'त्रिशुलीमा ठूलो मुढो अड्किएको छ। लिन छिट्टै जानुपर्छ नत्र अरूले लैजान्छन् भनेर मंगली हतार हतार निस्की,' पाल्देनले भने।
मंगली हिँडेपछि पाल्देन पनि पछि लागे।
तामाङ दम्पती नुवाकोटको विदुर नगरपालिका–९ मा बस्दै आएको छ। किस्पाङ गाउँपालिका–४ घर भएका उनीहरू सहज जीवन खोज्दै २०७२ सालमा विदुर आएको हुन्।
पाल्देन र मंगलीका एक छोरा र एक छोरी छन्। उनीहरूका छोरा मीनबहादुर परिवारका साथमा सिमरामा बस्छन्। छोरीको बिहे भइसकेको छ। अहिले रोजगारीका लागि विदेशमा छिन्।
मीनबहादुरकी छोरी डोल्मा पाल्देन–मंगलीसँगै बस्छिन्। हाल किशोर उमेरकी डोल्मा सानै उमेरदेखि हजुरबा–आमासँगै बस्दै आएकी हुन्।
विदुरमा उनीहरूको दुई कोठे घरबाहेक जग्गाजमिन केही छैन।
उनीहरूले गुजारा आसपासको थोरै जग्गा कमाएका छन्। त्यसलाई मलजल पुर्याउन ५/७ वटा बाख्रा पालेका छन्। दम्पती मिलेर घाँसपात, दाउरा गर्छन्। नातिनीले पनि सघाउँछिन्।
उनीहरू बसेको बस्तीमा ७/८ घरपरिवार मात्र बस्छन्। उनीहरूमध्ये अधिकांश बिहान–बेलुका खाना पकाउन त्रिशुलीमा बगेर आएको दाउराको भर पर्छन्।
बगाएर ल्याएको दाउरा खोला किनारामा थुपार्छन् र सुकेपछि फुर्सदमा घर लैजान्छन्।
पाल्देन–मंगली बसेको ठाउँबाट त्रिशुली नदी पुग्न १० मिनेट लाग्छ।
मंगलीले सोमबार साँझपख बाख्रा चराउन जाँदा त्रिशुलीको बीचमा ढुंगामा अड्किएको रूखको मुढो देखेकी रहिछिन्। त्यही लिन मंगलबार बिहानै उठेर हतारिएकी थिइन्।
'घाम लागिसकेको थियो। आकाश खुला थियो। पानी पर्ने कुनै छाँट थिएन। मुढो लिन बालुवामा टेक्दै हामी नदीको बीचसम्म पुग्यौं,' पाल्देनले भने, 'मुढो भएको ठाउँसम्म पुग्दा नपुग्दै एक्कासि बाढी आयो। फर्केर हेर्दा त टेक्ने ठाउँ कतै देखिएन। एकछिन त के गर्ने, कता जाने भनेर आत्तियौं। नजिकै रूख देख्यौं र हत्तपत्त चढ्यौं।'
त्यहाँ दुई/चार वटा सिसौका रूख थिए। नदीतिर हेर्दै नहेरी उनीहरू रूख चढ्नतिर लागे।
पाल्देन रूख चढ्न खप्पिस भए पनि मंगलीलाई खासै आउँदैन। त्यसैले पाल्देन पहिले आफू चढे। अनि दाउरा बोक्न लगेको डोरीले बाँधेर मंगलीलाई माथि ताने। कतिपय ठाउँमा उनले मंगलीलाई आफ्नो हात र काँधमा टेकाएर चढाए। १२/१५ फिट माथि पुगेर अडिए।
'हुर्रिएको बाढीले रूख हुरहुर हल्लाइरहेको थियो। बुढी डरले कामिरहेकी थिई। उसलाई डोरीले बाँधेर अड्याएर राखेँ। तर सिधा रूख भएकाले अडिन गाह्रो भइरहेको थियो,' पाल्देनले भने, 'बाढीले रूख हल्लाउँदा त दुवैको एउटै चिहान भयो भने भन्ने डर हुन्थ्यो। एक अर्काको अनुहार हेर्दै पिलपिल आँसु झार्यौं।'
मंगली रून थालेपछि पाल्देनलाई पनि बाँचिँदैन कि भन्ने डर लागिरहेको थियो।
नदीको बहाब बढ्दै गयो। उनीहरू त्यो क्षेत्रमा एक्लै थिएए। जति चिच्याए पनि कसैले सुनेन। उर्लेको नदी मात्र सुनिन्थ्यो। आसपास कोही मान्छे पनि देखिएन।
'बुढी रून्छे भन्ने डरले म रोइनँ,' पाल्देनले भने, 'नभए मनमा डर त लागिहाल्छ नि!'
आधा घन्टापछि नजिकैको बसपार्कमा केही मान्छे देखेजस्तो लाग्यो। उनीहरूले पनि आफूहरूलाई हेरिरहेको महसुस भयो। अब चाहिँ बाँचिन्छ कि भन्ने आश लाग्यो।
बसपार्कमा मान्छेको भिड बढ्दै गयो तर बाढी थामिएन। उर्लेको नदीको हुइँय्या सुनेर बाँचिदैन कि भनेर पाल्देन र मंगलीको सातो उड्यो।
यसरी नै साढे दुई घन्टा उनीहरू रूखमै अड्किए।
'बहाब नघटेपछि भगवानको नाम जप्दै बस्यौं,' पाल्देनले भने, 'हातखुट्टा फतक्क गलिसकेका थिए। बुढीलाई हेरेर कटक्क मन खान्थ्यो। अब रूखमा अडिन सकिँदैन भइसकेको थियो।'
करिव तीन घन्टाजति बसेपछि पानीको बहाब केही घटेजस्तो भयो। तर लेदोसहितको बाढी आएकाले रूखबाट झर्न डर लागिरहेको थियो।
'पछि हेलिकप्टर आएर झर्नू भन्यो। अनि हामी झर्यौं,' पाल्देनले भने, 'हेलिकप्टरमा चढेर विदुर नगरपालिका नजिकै ओर्लिएपछि बल्ल बाँचियो भन्ने भयो।'
उनीहरू रूख चढ्दा तछारिएर सामान्य चोटपटक लागेको थियो। उद्धारपछि अस्पताल लगियो।
अस्पतालले सामान्य छ भनेरपछि वडाका जनप्रतिनिधि र स्थानीयहरूले उनीहरूलाई घरसम्म ल्याइदिए।
'ज्यान अहिलेसम्म ज्यान कामिरहेको छ। मंगली त राम्रोसँग बोल्न पनि सकेकी छैन,' पाल्देनले भने, 'कस्तो दशा लागेर गएछौं! धन्न बाँचियो भनेर भगवानलाई कामना गरिरहेको छु!'
आफूहरू बाँच्नुमा भगवानको हात भएको पाल्देनले बताए।
अडिएर बसेको रूखबाट झर्दै गर्दा उनले तल फेदमा एउटा मुढा तेर्सो परेको देखेका थिए। त्यसले गर्दा केही ढुंगामुढा त्यहाँ अड्किएर ढिका परेछ र लेदोले रूखको जरा खन्न पाएनछ।
'मुढा लिन जाँदा बाढीमा हेलिएका थियौं। बाँचिँदैन भन्ने लागेको थियो। तर हामीलाई मुढाले नै बचायो,' पाल्देनले भने, 'बाँच्न लेखेको रहेछ। भगवानलाई नै धन्यवाद दिइरहेको छु।'