रसुवामा मंगलबार बिहान आएको बाढीले बेपत्ता भएका इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षकको शव चितवनस्थित त्रिशूली नदी किनारमा फेला परेको छ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ का ४२ वर्षीय लालबहादुर श्रेष्ठको शव भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोस्थित त्रिशूली नदी किनारमा फेला परेको हो।
प्रहरी चौकी हाकु रसुवामा दरबन्दी रहेका उनी इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए।
रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा मंगलबार बिहान आएको बाढीमा परी नेपाली र चिनियाँ नागरिकसहित २० जना बेपत्ता भएका थिए। तीमध्ये रसुवागढी नाकामा रहेको भन्सार यार्डमा काम गर्ने नौ जना कर्मचारी, इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत तीन जना प्रहरीसमेत छन्।
यसबीच चितवनको त्रिशूली किनारमा शव भेटिएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरी सहितको टोली उक्त स्थानमा पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालका अनुसार नदी किनारमा बायाँ खुट्टामा बुट रहेको र दायाँ खुट्टाको घुँडादेखि तलको भाग नभएको अवस्थामा शव भेटिएको थियो।
अनुसन्धान गर्ने क्रममा उनी रसुवामा बेपत्ता प्रहरी हुन् भन्ने पुष्टि भएको खनालले बताए।