त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको सचिवालय तोडफोड गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार दिक्पाल कार्कीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए।
स्रोतका अनुसार उनी सानोठिमी क्याम्पसको स्ववियु सचिव हुन्। उनी कांग्रेसको भ्रातृसंगठन नेविसंघबाट उम्मेदवार भएका थिए।
जेठ १४ गते उपकुलपति सचिवालयमा एक सूमहले तोडफोड गरेको थियो। उनीहरू नेविसंघ आवद्ध विद्यार्थीहरू थिए। स्नातक तहको भर्ना पुन: खोल्न माग गर्दै उनीहरूले तोडफोड गरेका थिए।
जबकि त्रिविले माघमै भर्ना गर्ने काम सकिसकेको थियो। स्नातक तह प्रथम वर्षको परीक्षाका लागि फारम खुलिसकेको अवस्था रहेको भन्दै त्रिविले अहिले फेरि भर्ना खुलाउन नमिल्ने बताएको थियो।
यसरी तोडफोड गरेपछि त्रिवि प्रशासनले तोडफोड गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेको थियो।