सोलुखुम्बुस्थित गोक्यो ताल क्षेत्रबाट एक जना चिनियाँ नागरिकको उद्धार भएको छ।
नेपाल प्रहरीको पर्यटक प्रहरी, भृकुटीमण्डपबाट खटिएको टोलीले मंगलबार बिहान गोक्यो ताल क्षेत्रमा रहेको एक होटलबाट चिनियाँ नागरिकको उद्धार गरी काठमाडौं ल्याएको डिएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिए।
आत्महत्या गर्न लागेको भन्ने सूचना पाएपछि पर्यटक प्रहरी अल्डिच्युट हेलिकप्टरमा मंगलबार बिहान साढे ५ बजेतिर काठमाडौंबाट उडेको थियो।
चिनियाँ नागरिक छेई हुवाङ त्यहाँको ‘थांका इन’ मा बस्दै आएका थिए। बुधबार उनको जन्मदिन समेत हो।
उनले चिनियाँ सामाजिक सञ्जालमा एउटा भिडिओ पोष्ट गरेका थिए। जसमा उनले तालमा डुबेर मर्न चाहेको भन्दै उल्लेख गरेका थिए।
उक्त पोष्ट हालेको थाहा पाएपछि काठमाडौंस्थित चिनियाँ दूतावासले पर्यटक प्रहरीलाई सम्पर्क गरेको थियो।
पर्यटक प्रहरीलाई सोमबार अपराह्न ५ बजेतिर खबर गरेको थियो। उक्त खबरपछि नेपाल प्रहरीका दुई जना अधिकारी मंगलबार बिहानै गोक्यो ताल क्षेत्रका लागि गएका थिए।
‘उहाँ कुन होटलमा बसेको भन्ने थाहा पाएका थियौं। त्यहाँको होटलका सञ्चालकलाई पनि सम्झाएर राखिराख्नु हिँड्न नदिनु भनेर खबर गर्यौं,’ एक प्रहरीले भने।
होटलमा सञ्चालकले सम्झाएर राखेपछि प्रहरीको टोली पुगेको थियो। उक्त टोली पुगेर मंगलबार बिहान सम्झाएको थियो।
करिब आधा घण्टा सम्झाइसकेपछि भने प्रहरीसँग आउन मानेको थियो।
हेलिकप्टरमा १०: ५३ बजेको समयमा हेलिकप्टर काठमाडौं आइपुगेको हो।
अहिले चिनियाँ नागरिकलाई पर्यटक प्रहरी कार्यालयमै राखिएको छ।
‘उहाँलाई रेस्क्यु गरेर ल्याएका छौं। चिनियाँ प्रतिनिधि आउँदै हुनुहुन्छ। केही बेरमा हामी बुझाउँछौं,’ डिएसपी सिंहले भने।